एसीसी महिला ट्वान्टी ट्वान्टी क्रिकेटमा नेपालको दोस्रो जीत

२० असार, काठमाडौं । मलेसियाको क्वालालम्पुरमा जारी एसीसी महिला ट्वान्टी ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तरगत आजको खेलमा नेपालले सिंगापुरलाई हराउँदै दोस्रो जित हात पारेको छ । नेपालले ‘बल आउट’मा सिंगापुरलाई २-0 ले पराजित गर्‍यो ।

शुक्रबारको पहिलो खेलमा नेपालले इरानलाई ६२ रनले हराएको थियो ।

टस जितेर पहिले व्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाई ७९ रन बनाएको थियो । ८० रनको लक्ष लिएर मैदानमा उत्रिएको सिंगापुरले पनि नौं विकेट नै गुमाएर ७९ रन बनाएपछि ‘बल आउट’ को आधारमा खेलको निर्णय गरिएको थियो ।

बल आउटमा नेपालका नीरा र रेखाले स्टम्प हिट गरेका थिए ।

७ ओभरमा २५ रन बनाउँदा ५ विकेट गुमाइसकेको अबस्थामा नेपालका लागि सरीता मगरलेे सर्बाधिक २० रनको योगदान दिइन् ।

नेपालका लागि कप्तान रितु कनौजियाले १८, नीतु थापाले ११, अम्बिका बुढाथोकी १०, माया रावत ४ र नीरा राजोपाध्यायले १ रन बनाएका थिए । रश्मी शर्मा, मनिषा रावल, मनिषा रावल र रुविना क्षेत्री खाता खोल्न नपाइ आउट भएका थिए ।

आइतबार नेपालले तेस्रो खेल कतारसँग खेल्नेछ ।

Share This Post

तपाईको मत

Copyright © 2010 Onlinekhabar.com. All rights reserved.