बेरुजु फर्छ्यौटको प्रगति विवरण बुझाउन दोस्रो पटक निर्देशन
२६ माघ, काठमाडौं । व्यबस्थापिका संसद अन्र्तगतको सार्वजनिक लेखा समितिले बिभिन्न समयमा दिइएको निर्देशन र निर्णय तोकिएको समयमा कार्यसम्पादन गरी प्रत्येक महिना प्रगति बिवरण बुझाउन मन्त्रालयहरुलाई दोहोर्याएर निर्देशन दिएको छ । सार्वजनिक लेखा समितिको आज सिंहदरबारमा बसेको बैठकमा सरकारको बढ्दो बेरुजुका विषयमा छलफल गरी त्यस्तो निर्देशन दिइएको समितिका सभापति रामकृष्ण यादवले जानकारी दिनुभयो ।
लेखाले सम्पूर्ण मन्त्रालयहरुका झण्डै बाईस अर्ब रुपैयाँ बराबरको बेरुजु फर्छ्यौट गरेर प्रगति बिवरण बुझाउन दिएको निर्देशन समयमा नबुझाएपछि आज पुनः त्यस्तो निर्देशन दिएको हो ।
त्यसैगरी समितिले बारा जिल्ला बिकास समितिमा भएको राजश्व मिनाहा गर्ने सम्बन्धी जिविसको निर्णयका बारेमा छलफल गर्न सम्बन्धीत पक्षलाई बोलाउने निर्णय पनि गरेको छ । स्थानिय बिकास मन्त्रालयका सचिव र बाराका स्थानिय बिकास अधिकारीलाई समितिमा उपस्थित हुन निर्देशन दिइएको सभापति यादवले बताउनु भयो ।
नेपाल बायु सेवा निगमको ब्यवस्थापन सुधार गर्न दिएको निर्देशन कार्यान्वयन भए/नभएका सम्बन्धमा पनि प्रगति बिवरण बुझाउन पर्यटन मन्त्रालयलाई समितिले पुनः निर्देशन दिएको छ । समितिले नयाँ बिमान खरिद गर्न निगमको ब्यवस्थापनमा सुधार गर्न निर्देशन दिएपनि त्यस बिषयमा हालसम्म समितिमा प्रगति बिवरण आएको छैन ।
त्यसैगरी मन्त्रालय अन्तर्गतका बेरुजु फर्छ्यौट र अन्य बिविध बिषयका सम्बन्धमा कर्मचारीको मुल्याङ्कन गर्न समितिले सामान्य प्रशासन मन्त्रालयलाई कार्य सम्पादन मस्यौदा तयार गरी बुझाउन निर्देशन दिएको छ ।
‘पूर्णरुपमा बेरुजु फर्छ्यौट गर्न सकिन्न’
बैठकमा सरकारका मुख्य सचिव माधब घिमिरेले सचिवहरुले बेरुजु घटाउन हरप्रयास गरेको भन्दै पूर्णरुपमा बेरुजु फर्छाैट गर्न नसकिने बताउनु भयो । उहाँले हालसम्मको बेरुजु मध्ये आधा मात्रै बेरुजु घटाउन सकिने बताउनु भयो ।
सभासद्हरुले भने प्रधानमन्त्रीको कार्यालय, मन्त्रालयका सचिव र मुख्य सचिवले लेखाको निर्देशनलाई पालना नगरेको भन्दै आक्रोश ब्यक्त गरेका थिए । उनीहरुले प्रधानमन्त्रीको कार्यालयबाटसमेत बिदेश भ्रमणमा भएको खर्चको बिवरण समयमा नबुझाएको भन्दै आपत्ति प्रकट गरेका थिए ।
सभासदहरु केशब नेपाल, धनबहादुर गुरुङ, डा. प्रकाशचन्द्र लोहनि लगायतले रकमको बेरुजु भन्दा कार्यसम्पादनको बेरुजु ठूलो भएको बताउँदै त्यस बिषयमा सचिवहरुको ध्यानाकर्षण गराएका थिए ।



