‘संविधान लेखनलाई द्रुतगतिमा अघि बढाउ’

Subas Nemwang२६ माघ, काठमाण्डौं । सभामुख सुवासचन्द्र नेम्वाङले संविधान लेखनको कार्यलाई द्रुतगतिमा अघि बढाउन सभासद्हरुसँग आग्रह गर्नुभएको छ ।

‘सांसदहरूका लागि बाल स्वास्थ्य तथा खोप कार्यक्रममा दिगो आर्थिक व्यवस्थापन’ विषयक गोष्ठीको राजधानीमा मङ्गलबार उद्घाटन गर्दै उहाँले नयाँ संविधान लेखनका लागि सम्पूर्ण आधार एवम् मस्यौदा तयार भइसकेकाले संविधान लेखन कार्यमा केन्द्रीत हुन आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो- “संविधानसभाका सबै विषयगत समितिले मस्यौदा एवम् अवधारणा संविधानसभामा प्रस्तुत गरी छलफलसमेत भइसकेको र ती मस्यौदालाई एकीकृत गर्न र नयाँ संविधानको मस्यौदा तयार गर्नमात्र बाँकी छ ।”

उहाँले ती मस्यौदालाई आधार मानेर संविधान लेखनका लागि सबैले आ-आˆनो क्षेत्रबाट सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

खोप कार्यक्रम प्रभावकारी बनाउन स्वास्थ्यमन्त्रीको जोड

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उमाकान्त चौधरीले बाल स्वास्थ्य तथा खोप कार्यक्रमलाई अझ प्रभावकारीरुपमा सञ्चालन गरिने बताउनुभएको छ ।

कार्यक्रममा उहाँले बाल स्वास्थ्य तथा खोप कार्यक्रमबाट सोचे जती उपलब्धी हाँसिल हुन नसकेको भन्दै प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो ।

सांसदद्वय उमा रेग्मी र लीला भण्डारीले बाल स्वास्थ्य तथा खोप कार्यक्रममा दिगो आर्थिक व्यवस्थापनका लागि नीति निर्माणको क्षेत्र बलियो हुनुपर्नेमा जोड दिनुभयो ।

संयुक्त राष्ट्रसङ्घीय बाल कोषको आर्थिक एवम् प्राविधिक सहयोगमा व्यवस्थापिका-संसद महिला बालबालिका र समाज कल्याण समितिद्वारा आयोजित उक्त गोष्ठीमा समितिसँग आबद्ध सांसद, श्रीलङ्का तथा कम्बोडियाका विधायकहरू सहभागी रहेका छन् ।

नेपालस्थित युनसेफका प्रतिनिधि जिलियम मेलसप, विश्व स्वास्थ्य सङ्गठनका नेपाल प्रतिनिधि डा. अलेक्जेन्डर एन्डापार्जे र सविन भ्याक्सिन इन्ष्िटच्यूटका डा. माइक म्याक्वेशनले नेपालले बालस्वास्थ्यका क्षेत्रमा गरेका प्रगतिको सराहना गर्दै अगामी दिनमा पनि खोप कार्यक्रमलाई प्रभावकारीरुपमा सञ्चालन गर्न आग्रहसमेत गर्नुभयो ।

बालबालिकाको हकहित प्रवर्द्धन तथा उनीहरूलाई सक्षम नागरिक बनाउन राष्ट्रसङ्घीय महासभाले निर्धारण गरेका सहस्राब्दी विकास लक्ष्य प्राप्तिको दिशामा नेपालले निर्वाह गर्नुपर्ने भूमिकाबारे पनि सहभागीबीच छलफल हुने बताइएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार वर्सेनी पाँच वर्षमुनिका एकहजार बालबालिकामा ६१ र प्रतिहजारमा ४८ जना शिशुले ज्यान गुमाउने गरेका छन् ।

Share This Post

तपाईको मत

Copyright © 2010 Onlinekhabar.com. All rights reserved.