Comments Add Comment

दशैंमा खसी किन्ने कि किताव ?

१८ भदौ, काठमाडौं । यसपालिको दशैंमा कुखुराको मासुको अभाव हुने त छँदैछ, कुखुराहरु संहार भैसकेकाले खसीको मासुको मूल्य दशैंको मुखमा कति पुग्ने हो, अहिल्यै अनुमान लगाउन गाह्रो छ । सामान्य अवस्थामा पनि दशैंका बेला मासुको अभाव हुने भएकाले तिब्बतबाट च्याङ्ग्रा ओसार्नुपर्ने देशमा यसपालि ‘पशु बजार’को तयारी खासै नभए पनि दशैंलाई लक्षित गरी ‘पुस्तक बजार’को भने भव्य तयारी शुरु भएको छ ।

दशैंमा पुरानै कोट लगाएर नयाँ किताब किन्न चाहनेहरुका लागि साझा प्रकाशनले आगामी असोज १ गतेदेखि पोहोरजस्तै सभागृह परिसरमा पुस्तक मेला आयोजना गर्ने भएको छ । उक्त मेला र अगामी दशैंलाई लक्षित गरेर पुस्तक प्रकाशकहरुले एकसे एक लेखकका एकसे एक पुस्तक बजारमा ल्याउन लागेका छन् । लेखकहरुको सिर्जनात्मक भिडन्त रमाइलो हुने भएको छ ।

पुस्तक प्रकाशनमा सक्रिय फाइनपि्रन्टले यही पुस्तक मेलालाई लक्ष्य गरेर कान्तिपुर दैनिकका प्रधान सम्पादक सुधीर शर्माको अनुसन्धानमूलक कृति “प्रयोगशाला” समेत बजारमा ल्याउन लागेको छ । हाम्रो देश कसरी विदेशीहरुको प्रयोगशाला भइरहेको छ भन्ने कुराको विस्तृत जानकारी समेटिएको यो कृतिको पहिलो संस्करण नै ३० हजार प्रति छापिँदैछ । फाइनपि्रन्टले अहिलेसम्म प्रचार नगरे पनि यो कृतिले बिक्रीमा हरिवंश आचार्यको “चिना हराएको मान्छे” लाई पच्छ्याउने अनुमान प्रकाशन संस्थाको छ ।

दशैं अघि नै फाइनपि्रन्टले सुबिन भट्टराईको कथासंग्रह “कथाकी पात्र” को नयाँ संस्करण बजारमा ल्याउँदैछ । लेखक भट्टराईले पहिलो उपन्यास “समर लभ” युवापुस्ता माझ निकै लोकपि्रय भएकाले कथाकी पात्र पनि रुचाइने विश्वास प्रकाशन संस्थाले लिएको देखिन्छ । यसबाहेक फाइनपि्रन्टबाट सुरेश प्राञ्जलीको उपन्यास “तुइन”, प्रगतिशील चिन्तक झलक सुवेदीको उपन्यास “अष्टमीको जून” र सरुभक्तको “विज्ञान कथा” पनि दशैंअघि बजारमा आउने लाइनमा छन् ।

अर्को आक्रामक प्रकाशन संस्था सांगि्रलाले लोकपि्रय उपन्यासकार नयनराज पाण्डेको नयाँ उपन्यास “घामकिरी” यही भदौ २९ गतेबाट सार्वजनिक गर्दैछ । दुईदशक अघि मुम्बई बस्दा चर्चित भारतीय कलाकार पद्मिनी कोलापुरेसँगको आफ्नो प्रेम प्रसंगलाई पाण्डेले यस उपन्यासमा उतारेको बताइएको छ । त्यसैले पनि यो उपन्यास पाठक माझ निकै लोकपि्रय हुने अपेक्षा सांगि्रलाले गरेको छ ।

याम्बुरी बुक प्वाइन्टले चाहिँ कान्तिपुर दैनिक सम्बद्ध पत्रकार खगेन्द्र भण्डारीको महत्वाकांक्षी उपन्यास “मलाया एक्सप्रेस” लाई बजारमा उतार्दैछ । वैदेशिक रोजगारीको सिलसिलामा विदेशिन विवश युवाहरुको भोगाइमा आधारित यो पुस्तकले बजारमा बाजी मार्ने विश्वास प्रकाशन संस्थाका कुयाङ लामाको छ ।

अर्को प्रकाशन संस्था ब्रदर बुक्सले चाहिँ आफ्नो महत्वाकांक्षी पुस्तक डा. भोला रिजालको आत्मकथा बजारमा ल्याउँदैछ । प्रगतिशील लेखक प्रदीप नेपालको उपन्यास “चरैवेति चरैवेति” पनि यही भदौ भित्रमा आउने बताइएको छ ।

आफ्नो पहिलो उपन्यास खेलौनाबाट चर्को आलोचना खेपेका लोकपि्रय गीतकार तथा पूर्वजर्नेल राजेन्द्र थापाले पनि बहुपति रोज्ने महिलामा आधारित उपन्यास ‘द्रौपदी’ बजारमा ल्याउने भएका छन् । डिकुरा पब्लिकेशनले बजारमा ल्याउन लागेको यो उपन्यासबाट लेखक थापाको राम्रै परीक्षा हुने अनुमान गरिएको छ ।

यसबाहेक रत्न पुस्तक भण्डार, साझा प्रकाशन, अर्किड, पाँचपोखरी, फिनिक्सलगायतका प्रकाशन गृहहरुले पनि आफ्ना रोज्जा कृतिहरु बजारमा पठाउँदै छन् । तीमध्ये बजारमा कसको कृति खरो उत्रिन्छ त्यो हेर्न भने केही साता कुर्नै पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment