Comments Add Comment

बाबुको मुख हेर्ने दिनमा बृद्धबृद्धाको बिलौना- छोराछोरी भन्नु पनि बेकार रहेछ

२० भदौ, काठमाडौं । काभ्रे दाप्चाका कृष्णचन्द्र श्रेष्ठ ८६ वर्षको उमेरमा सहारा खोज्दै बृद्धाश्रममा आइपुगेका छन् । तीन छोरा र तीन छोरीका पिता कृष्णचन्द्र यतिखेर एक्लो भएका छन् । छोराले ‘जाऊ मेरो घरमा नबस’ भनेपछि उमेरले डाँडामाथिको घाम भइसकेका श्रेष्ठ सहारा खोन्दै निःसहाय सेवा केन्द्रमा पुगेका छन । ‘करिव डेढ महिना जति भयो बाबु, सहारा खोन्दै यहाँ आएको’ हामी केन्द्रमा पुग्दा नियमित पूजापाठ सकेर साथीहरुसँगै बसेका श्रेष्ठले अनलाइनखबरससँग भने-‘मैले पालेको, हुर्काएको देखेन हजुर छोराले ।’

Krishna-shrestha

डेढ वर्षअघि श्रीमतीको निधन भएपछि उनी एक्लिदै गए । छोराहरुले विरामी हुँदा पनि हेर्न आएनन् । श्रीमतीले यो संसारबाट विदा लिएपछि एक्लो बनेका श्रेष्ठमा फेरि अर्को बज्रपात आइलाग्यो । ‘केही महिनाअघि घरमा आगलागी भयो, झ्यालबाट हाम फलोर ज्यान बचाएँ’ श्रेष्ठ भन्छन-‘घर जलेपछि बेसहारा भएँ, तैपनि छोराहरुले हेरेनन । केही दिन छोरी कहाँ गएर बसेँ । उनीहरुले जाउ त भनेनन । तर, सँधै यसरी बसेर मेरो निर्वाह चल्दैन, के गरुँ भनेँ । छोरीहरुले ‘बाबुको विचार’ भनेपछि म यहाँ आएँ ।’ यद्यपि अहिले पनि छोरीहरु कहिले काँही बाबुलाई भेट्न बृद्धाश्रम पुग्दा रहेछन् ।

अहिले बुढेसकालमा सहारा खोज्दै बृद्धाश्रममा आउनुपर्दा श्रेष्ठलाई छोरा, सम्पत्ति सबै बेकार रहेछ जस्तो लाग्न थालेको छ । ‘छोरा छोरीका लागि सब थोक गरियो । यस्तो हुन्छ भन्ने थाहा भएको भए किन गर्थे र ?’ उनले दुखेसो पोखे-‘बेकार रेछ यो सवै । छोराहरु भन्ने पनि काम नलाग्ने रहेछन ।’ छोरा-छोरी हुर्काउँदा कत्रो आस थियो उनलाई ठूलो भएपछि बुढेकामा हेर्छन भन्ने । तर, अहिले सानो हुँदा मर्ला भन्ने डर, ठूलो भएपछि मार्ला भन्ने डर भन्ने जस्तै भएको छ उनलाई । ‘यो संसार केही पनि होइन रहेछ । यो सिनेमा हेरेको जस्तै हो । सकिएपछि घर जाउ भन्छन्’ श्रेष्ठले भन्नुभयो-‘हाम्रो पनि यस्तै हो । सम्पत्ति हुँदासम्म आफ्नो, नभएपछि हेर्दैनन् । सम्पत्ति छ भने मेरो बा भन्छन्, नभएपछि यो बुढोको के काम भन्छन् । संसार भनेको अचम्मको रहेछ ।’

श्रीमतीको निधन भएपछि श्रेष्ठ केही दिन कान्छो छोरासँग बसे । तर, केहीदिनमा नै घरबाट निकालिदिए । ‘एक पटक कान्छोकोमा गएको हो । १५/१६ दिन बसेँ’ उनले दुखेेसो पोखे-‘ यहाँ तिम्रो काम छैन भने, म निस्किएर हिडेँ । गाह्रो त भयो, जाने ठाउँ काही छैन । छोराहरु भनेर बसेको, जाउ भनेपछि के गर्नु ?’ आज बाबुको मुख हेर्न दिने हो छोराहरुको याद आएन भन्ने हाम्रो प्रश्नमा उनले भने-‘सम्झिइन । छोराहरुलाई सम्भिmएन के गर्ने ? पाल्ने हैन ।’

श्रेष्ठले जेठो र माहिलो छोरालाई नदेखेको एक वर्ष हुन लाग्यो । कान्छो छोरा केही दिन पहिले बृद्धाश्रममा आएका थिए । तर, जाने बेला लगेनन् । ‘घर जाउँ भनेर लगेको भए त के चाहिन्थ्यो र’ गहभरी आँसु पार्दै श्रेष्ठ भने-‘आज भोलि भगवानसँग प्रार्थना गर्छु । मेरो अरु कोही पनि छैन । मेरो हजुर नै हुनुहुन्छ रक्षा गर्नुस भनेर सहायता माग्छु ।’

अरुको पीडा पनि कम छैन

निःसहाय सेवा केन्द्रमा अहिले श्रेष्ठजस्तै ४३ जना बृद्धबृद्धा छन् । उनीहरु मध्येका एक हुन पूर्व सरकारी कर्मचारी काठमाडौं मैपीका ७३ वर्षीय माधवलाल श्रेष्ठ । आर्किटेक्ट इन्जिनियर रहेका छोराले हेर्न छोडेको १० वर्षभइसक्यो । गत वर्ष खुट्टा भाँचिएपछि साथी भाइले उनलाई केन्द्रमा पुर्‍याएका थिए । ‘छोरा छ, मुख देख्यो कि भाग्छ’ उनले भने ।

देश शम्शेरकी पनातिनी सगुन शाहले १ जनालाई राखेर केन्द्र सुरु गरेकी हुन् । अहिले बाटोमा भेटिएका, बेसहारालाई केन्द्रमा राखिएको छ । विभिन्न दाताको सहयोगमा बृद्धबुद्धालाई राखिएको सगुनले बताइन । राणा खानदानीकी शाहलाई केन्द्रमा रहेका सबैले ‘मुमाहजुर’ भनेर बोलाउने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment