Comments Add Comment

डेढ महिना बन्द रहेका दार्जीलिङका विद्यालय खुल्ने

२१ भदौ, काठमाडौं । गोरखाल्याण्ड राज्यको माग गर्दै जारी आन्दोलनका कारण बन्द दार्जीलिङका शैक्षिक प्रतिष्ठानहरु करिब डेढ महिनापछि आउँदो साताबाट खुल्ने भएका छन् ।

बन्द विद्यालयहरु सेप्टेम्बर १३ बाट खुले पनि बजार, सरकारी कार्यालयहरु भने बन्द रहने जनमुक्ति सेकेण्डरी टिचर्स अर्गनाइजेशन (जेएसटीओ) प्रवक्ता विशन रोकाले बताउनुभएको छ । गोरखाल्याण्ड आन्दोलन चर्किएपछि जुलाई २९ बाट दार्जीलिङका सम्पूर्ण शिक्षण संस्थाहरु बन्द छन् । बन्द अनिश्चित बनेपछि अधिकांश नेपाली विद्यार्थीहरु समेत स्वदेशमै फर्केर अध्ययन गर्न थालेका छन् ।

जनमुक्ति सेकेण्डरी टिचर्स अर्गनाइजेशन र जनमुक्ति प्राइमरी टिचर्स अर्गनाइजेशनको बैठकमा आन्दालनरत पार्टीसँग परामर्श गरेर सबै शैक्षिक संस्था खोल्ने निर्णय भएको हो । प्रवक्ता रोकाका अनुसार नजिकका विद्यार्थीहरु हिँडेरै विद्यालय जानुपर्नेछ भने टाढा-टाढाबाट आउनु पर्नेहरुका लागि यातायातको प्रवन्ध गरिने छ । लामो समयको हड्तालको क्षतिपूर्तिका लागि शनिबार र आइतबार पनि पढाइ हुनेछ ।

७० करोडको क्षति

यसैबीच गोरखा जनमुक्ति मोर्चाले आहृवान गरेको अनिश्चितकालीन बन्दका कारण गत महिना ७० करोडको क्षति भएको राज्य सरकारले बताएको छ । सरकारले अदालतमा बुझाएको पत्रमा अगष्टको बन्दका क्रममा पहाडमा सामागि्रक रुपमा ७० करोड, पर्यटन उद्योगमा २५ करोड र चिया उद्योगमा २० करोड क्षति भएको उल्लेख छ । यसबाहेक सरकारी भवनमा आजगनी, चौकीमा आक्रमण, प्रहरीको बाहानमा तोडफोड र आजगनी, भ्याट र करलगायत पनि गुमेको बताइएको छ ।

कोलकाता उच्च न्यायालयका मुख्य न्यायाधीशले बन्दको अवधिमा भएको क्षतिको विवरण मागेपछि राज्य सरकारले विवरण बुझाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment