Comments Add Comment

अशोक राईसँग सहमति हुनासाथ उपेन्द्र मोर्चा बाहिरियो

२१ भदौ, काठमाडौं । अशोक राई नेतृत्वको संघीय समाजवादीसँग भएको ५ बुँदे सहमतिप्रति उच्चस्तरीय राजनीतिक समितिको एकघटक मधेसी जनअधिकार फोरमले आपत्ति जनाउँदै सहमति नसच्याएसम्म बैठकमा नजाने घोषणा गरेको छ । एउटा दललाई समहतिमा ल्याउनासाथ अर्को दल भड्किन थालेपछि उच्चस्तरीय समितिका लागि सहमतिको मुद्दा भ्यागुताको धार्नीजस्तो बन्न पुगेको छ ।

upendra-yadavआफ्नो नेतृत्वमा रहेको संघीय लोकतान्त्रिक मोर्चा नेपालसँग भएको सहमतिलाई मिच्दै संविधानसभा सदस्य संख्या ५ सय ८५ बाट बढाएर ६ सय १ पुर्‍याउने सहमति भएको भन्दै उपेन्द्र यादव नेतृत्वको मोर्चाले आपत्ति जनाएको हो । फोरम नेपालसँग भएको ६ बुँदे सहमतिमा संविधानसभा सदस्य ४ सय ९१ बाट बढाएर ५ सय ८५ पुर्‍याउने उल्लेख थियो ।

‘अशोक राईजीहरु चुनावमा आउनुभएकोमा हाम्रो विरोध हैन । तर, संविधानसभाको सदस्य संख्या ६ सय १ पुर्‍याउने सहमति हामीलाई स्वीकार्य छैन’ फोरम नेपालका वरिष्ठ नेता भरतविमल यादवले अनलाइनखबरसँग भन्नुभयो ।

संविधानसभाको संख्या बढाउनु पर्ने हो भने समानुपातिकमा थप्नुपर्ने विमलको भनाइ छ । ‘यो मनोनित गर्ने प्रक्रियाप्रति हाम्रो असहमति हो’ उहाँले भन्नुभयो-‘संख्या ६ सय १ नै पुर्‍याउने हो भने समानुपातिकमा थपौं तर, मनोनित बढाउने कुरा स्वीकार्य छैन ।’

सहमतिको विरोध गर्दै फोरमको मोर्चामा रहेका दलका नेताहरु राजनीतिक समिति र संघीय समाजवादीसँगको सहमति हस्ताक्षर कार्यक्रममा समेत अनुपस्थित भएका थिए । अघिल्लो वार्तामा चार दलका नेताहरुले ६ सय १ लाई स्वीकार गरेपछि मोर्चाका नेताहरु नेताहरु बैठक छाडेर निस्किएका थिए ।

सहमतिबारे औपचारिक धारणा तय गर्न मोर्चाको बैठक छिट्टै बस्ने यादवले बताउनुभयो । यद्यपि सहमति नसच्याएसम्म राजनीतिक समितिको बैठकमा नजाने उहाँले प्रष्ट पार्नुभयो । उहाँले भन्नुभयो-‘हाम्रो कुरा सुनिँदैन भने चार दलको सहमतिमात्र मान्न किन बैठकमा जाने । हामी बैठकमा सहभागी हुन्नौं ।’ ६ बुँदे सहमतिपछि फोरम नेपाल नेतृत्वको मोर्चा राजनीतिक समितिको बैठकमा सहभागी भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment