Comments Add Comment

‘सौराहामा डान्स र दोहोरी रेष्टुरेन्ट खोल्न दिँदैनौं’

हरिभक्त घिमिरे, प्रबन्ध निर्देशक- जंगल सफारी लज, सौराहा

चितवनको सौराहाका पुराना पर्यटन व्यवसायी हुनुहुन्छ हरिभक्त घिमिरे । उहाँ अहिले जंगल सफारी लजका प्रबन्ध निर्देशक हुनुहुन्छ । तीन कार्यकालसम्म क्षेत्रीय होटल संघ चितवनको नेतृत्वसमेत सम्हाल्नुभएका घिमिरेले अनलाइनखबरका लागि नविन अर्यालसँग कुराकानी गर्दै करिब ९० को संख्यामा रहेका सौराहाका होटलसम्बन्धी रोचक जानकारी दिनुभयो ।

Haribhakta-Ghimire-Jungal-sसौराहामा पर्यटकीय गतिविधिहरु कत्तिको बढ्दै गइरहेको छ ?

जव चितवन राष्ट्रिय निकुञ्जभित्र (त्यतिबेला निकुञ्ज घोषणा भइसकेको थिएन) टाइगर टप्स होटल सञ्चालनमा आयो, अनिमात्र चितवनमा पर्यटन व्यवसायको सुरुवात भएको हो । चितवनको पर्यटन व्यवसायलाई अहिलेसम्मको अवस्थामा ल्याई पुर्‍याउन टाइगर टप्सको ठूलो भूमिका रहेको छ । सरकारले चितवन राष्ट्रिय निकुञ्ज घोषणा गरेपछि यहाँ पर्यटकहरुको चहल-पहल बढ्न थाल्यो । चितवनमा २०३१ सालदेखि पर्यटन व्यवसाय सुरु भएको हो ।

मुलुकभित्र भएको १० वर्षे द्वन्द्वले यस क्षेत्रको पर्यटन व्यवसाय सुस्ताएको थियो । जब देशमा शान्ति प्रकृया सुरु भयो अनि पर्यटक आगमन विस्तारै बढ्न थाल्यो । अहिले त सौराहा नेपालकै तेश्रो महत्वपूर्ण पर्यटकीय गन्तव्य बन्न सफल भएको छ । सौराहा आउने अधिकांश पर्यटकहरु चाइनिज हुन्छन, अन्य देशका पर्यटकहरु पनि सौराहाको वाइल्ड लाइफमा रमाउन आउने गर्छन् । पछिल्लो समय नेपालीहरुमा पनि घुम्न जाने संस्कृति बस्न थालेपछि सौराहा घुम्न आउने आन्तरिक पर्यटकहरुको संख्या पनि उल्लेख्य देखिन्छ । नेपाल घुम्न आउने विदेशी पर्यटक एकपटक सौराहा आउने गरेका छन् ।

गत साल जब निकुञ्जभित्रका होटलहरु बन्द भए । अनि संचारमाध्यमहरुले चितवनका होटलहरु बन्द भएको समाचार सम्प्रेषण गरे, यसैको प्रभावले गत वर्ष सौराहा आउने पर्यटकको संख्यामा १६ हजारले गिरावट आयो । होटल त निकुञ्जभित्रका मात्र बन्द भएका हुन, बाहिर त झनै थपिदै गएका छन् । सरकारले अन्तर्राष्ट्रिय जगतमा चितवनका सबै होटल बन्द भएका होइनन् भनेर प्रचार-प्रसार गरिदिनुपर्छ । अनि पर्यटक आगमन बढ्नेछ ।

न्य देशका पर्यटकको तुलनामा चाइनिज पर्यटक बढी आउनुको कारण के हो ?

चाइना र नेपालको दुरी अन्य देशहरुको तुलनामा निकै कम रहेको छ । चाइनिजहरु नेपाल घुम्न आउँदा सस्तो पर्न जान्छ । कम पैसामा नेपाल भ्रमण गर्न सकिने हुँदा चाइनिज पर्यटकहरुको संख्या अन्य देशका पर्यटकहरुको तुलनामा बढी भएको होला ।

सौराहा पर्यटकहरुका लागि कस्तो गन्तव्य हो ?

सौराहा नेपालमा मात्र नभएर विश्वभर वाइल्ड लाइफ पर्यटनमा प्रशिद्धी कमाएको पर्यटकीय गन्तव्य हो । सौराहा नेपालको केन्द्र विन्दुमा पर्छ । नेपालको मुख्य पर्यटकीयद्वार राजधानीबाट नजिक रहेको र यातायातको सुविधा भएको हुँदा सौराहा सहजरुपमा भ्रमण गर्न सकिन्छ । सौराहा महेन्द्र राजमार्गबाट जम्मा ६ किलोमिटरको दुरीमा पर्छ । त्यसमाथि पोखराबाट पनि सौराहा नजिक पर्ने हुँदा त्यहाँ पुगेका पर्यटक पनि सोझै सौराहा हानिन्छन् ।

सौराहा निकुञ्जको प्रवेशद्वार भएकाले पनि निकुञ्जमा सफारी गर्न चाहानेहरुलाई यस क्षेत्र उपर्युक्त रहेको छ । यहाँ निकुञ्जमात्र नभएर आफ्नै सामुदायिक वनहरु छन् । व्यवसायीहरुले सामुदायिक वनमा हात्ती सफारी गराउने गर्छन् । निकुञ्जमा पाइने सबै जनावर पंक्षी सामुदायिक वनमा पनि पाइन्छन् । निकुञ्जभित्र सरकारले अहिले निजी क्षेत्रका हात्ती प्रवेश गर्न दिँदैनन् ।

सौराहामा देशकै एकमात्र हात्ती र गोही प्रजनन केन्द्र रहेको छ । यहाँ रहेको राप्ती नदीमा डुङ्गा सयर गरेर गैंडा, चराचुरुङ्गी, गोही प्रत्यक्ष रुपमा अवलोकन गर्न सकिन्छ । यहाँ ५ सयभन्दा बढी प्रजातीका चराहरु पाइन्छन् । निकुञ्जभित्र पनि वाघको संख्या बढेको तथ्याङ्कले देखाएको छ । हात्ती चढेर जंगल घुम्न गई जनावर र पंक्षी हेर्न पाउनु नै यहाँको मूख्य आकर्षण हो ।

यहाँ थारु म्यूजियम रहेको छ, कल्चरल प्रोग्राम देखाइन्छ, अत्याधुनिक सुविधा सम्पन्न होटलहरु रहेका छन् । यिनै विशेषताको कारण सौराहा पर्यटकहरुका लागि एक पटक पुग्नै पर्ने गन्तव्य हो ।

सौराहा घुम्न आउने पर्यटक कत्तिको सन्तुष्ट भएर फर्किने गरेका छन् ?

सौराहा घुम्न आउने पर्यटकहरुमध्ये ९९ प्रतिशत पर्यटक खुशी नै भएर फर्किने गरेको पाएका छौं । उनीहरुलाई हामीले यहाँको वाइल्ड लाइफमा मज्जाले रमाउने सक्ने वातावरण सिर्जना गरिदिने गरेका छौं । कतिपय पर्यटक बेखुशी हुने भनेको व्यवसायीहरुले धेरै पैसा लिएर कम सेवा-सुविधा उपलब्ध गराएर मात्र हो । पर्यटकले पैसा तिरेअनुसारको सेवा-सुविधाहरु पाएमा खुशी हुन्छन् । राजधानीका ५ तारे होटलसम्मले दिने सबै सेवा-सुविधाहरु यहाँका होटलहरुले पनि दिन सक्छन् । यहाँका होटलहरु अत्याधुनिक सुविधा सम्पन्न रहेका छन् ।

सौराहाका पर्यटन व्यवसायी खाली एउटैमात्र प्याकेज बेच्ने गरेका छन्, नयाँ प्याकेज ल्याउन सकेनन भन्ने आरोप छ नी ?

हामीले नयाँ-नयाँ प्याकेज बनाउन दीर्घकालीन योजना बनाइरहेका छौं । यहाँ वाइल्ड लाइफमात्र नभएर धार्मीक पर्यटकहरु पनि भित्राउने हाम्रो लक्ष्य छ । सौराहाबाट देवघाट नजिक पर्ने हुँदा त्यहाँ घुमाउन लैजाने, सिराईचुली घुमाउन लैजाने -जहाँबाट सनराइज हेर्न सकिन्छ), अन्य सामुदायिक वनहरुमा पनि घुमाउन लैजाने हाम्रो लक्ष्य छ । अहिले पनि कतिपय पर्यटकहरुलाई ति क्षेत्रहरुमा लैजाने गरेका छौं । त्यस्तै, हामीले सौराहाबाट शक्तिखोर हुँदै हुग्दीसम्म सानो ट्रेकिङ रुट पनि पहिल्याएका छौं । उक्त ट्रेकिङ रुटमा पर्यटक लैजान सकेमा उनीहरुको वसाई लम्बाउन सकिन्छ ।

Jungle-safari-lodge-2

त्यसैगरि, हामीले सौराहामा वाइल्ड लाइफ, थारु संस्कृतीबाहेक अन्य मनोरञ्जनात्मक तथा भुल्न सक्ने ठाउँ नभएको भन्दै गुनासो आउन थालेपछि चिल्ड्रेन पार्क, वाटर पार्क बनाउने सोचाईमा छौं । यी पार्क संचालनमा ल्याउन ठूलो लगानी चाहिने हुँदा १५/२० जना पर्यटक मिलेर पार्क संचालन गर्ने लक्ष्य बनाएका छौं । हामीले यो सोँच ३/४ वर्षदेखि बनाउँदा-बनाउँदै पनि पछि परिरहेका छौं । यस बीचमा सौराहा जग्गाको मूल्य हृवात्तै बढेको छ । पायक पर्ने ठाउँमा जग्गा लिन कठिन छ । तर, हामीले पार्क बनाएरै छाड्छौं । सौराहामा बढ्दै गइरहेको होटल व्यवसायलाई धान्न पनि नयाँ-नयाँ प्रोडक्ट ल्याएर पर्यटक आकषिर्त गर्नुपर्ने आवश्यकता हामी सामु रहेको छ ।

चितवन भन्ने वित्तिकै हात्ती चढेर निकुञ्ज सफारी भन्ने बुझिन्छ, तर पर्यटकहरु हात्ती चढेर निकुञ्ज घुम्न नपाउँदा निरास बनेको पाइन्छ ?

निकुञ्ज विभाग, वन मन्त्रालय र पर्यटन मन्त्रालयले यस विषयमा सोच्नुपर्ने हो । अहिले निकुञ्जले निजी हात्तीहरु भित्र लैजान नदिएपछि पर्यटकलाई निकुञ्जभित्र घुमाउन सकेका छैनौं । निकुञ्जभित्र जान खोज्नेहरुको संख्या ठूलो हुन्छ, तर लैजान निकुञ्जले दिँदैन् । पर्यटकहरुले निकुञ्ज गाडीबाटमात्र घुम्न पाउँछन् । हामीले निजी हात्तीहरुलाई पनि पैशा तिरेर निकुञ्ज प्रवेश गर्न दिन माग गर्दै आएका छौं । सरकारले यस विषयमा स्पष्ट निर्णय गरेको छैन् । निकुञ्जसँग भएका हात्तीहरु पनि अहिले जंगल संरक्षणका लागि गस्ती गर्न भन्दै विभिन्न चेकपोष्टमा राखेका छन् ।

सौराहामा रहेका होटलहरुले एक दिनमा कति पर्यटकहरुलाई सेवा दिन सक्छन् ?

सौराहा साना-ठूला गरी ९० वटा होटलहरु रहेका छन् । धेरैजसो सञ्चालनमा आइसकेका छन् भने केही होटल यसै वर्षभित्रमा सञ्चालनमा आउने तयारीमा रहेका छन् । यहाँका होटलहरुले २५ सय जनासम्म पर्यटकहरुलाई एकै दिनमा सेवा पुर्‍याउन सक्छन् ।

पर्यटक आकर्षण गर्न सौराहामा पनि डान्स, डिस्को र दोहोरी रेष्टुरेन्टहरु चलाउनुपर्ने कुरा उठेको रहेछ नि ?

हेर्नुहोस, म सौराहामा डान्स, डिस्को र दोहोरी रेष्टुरेन्ट खोल्न दिने पक्षमा छैन । सौराहा वाइल्ड लाइफ पर्यटकीय क्षेत्र हो । यहाँ आउने पर्यटक जंगलमा जनावर र पंक्षीसँग रमाउन आउने हुन् । यस्ता रेष्टुरेन्ट खोलेमा समग्र गाउँमा डिस्टर्ब हुन्छ । हामीले गाउँलेलाई डिस्र्टब हुन्छ भनेर १० बजेपछि जेनेरेटर चलाउँदैनौं । राति १० बजेपछि होटलहरु बन्द हुन्छन् । रातभरी डिस्को, डान्समा बसेर मद्यपान गर्दा होहल्ला हुन्छ । यस्तो कार्यले २/४ जना व्यवसायीहरुलाई बाहेक कसैलाई पनि फाइदा हँुदैन ।

प्रशंग बदलौं, तपाईले सौराहामा होटल व्यवसाय गर्न थालेको कति भयो ?

मैले ०४० सालदेखि पार्टनरसीपमा होटल व्यवसाय सुरु गरेको हुँ । ३० वर्षको अन्तरालमा हामीले पर्यटकबाट अनुचित फाइदा नलिई ६ वटा होटल विस्तार गरिसक्यौं । ४ वटा होटल सौराहामा, एउटा बर्दियामा र एउटा होटल पोखरामा रहेको छ । पार्टनरहरुले एउटा-एउटा होटल जिम्मा लिएर संचालन गरिरहेका छौं । ६ वटा होटलहरुमा झण्डै डेढ सय जनालाई रोजगारी दिएका छौं ।

जंगल सफारी लजले कस्ता-कस्ता सुविधाहरु प्रदान गर्दै आएको छ ?

हाम्रो लज सौराहामा औंलामा भाँचेर गन्न सकिनेमध्येको एउटा होटल हो । हामीले हरेक कोठामा एसी र टिभीको व्यवस्था गरेका छौं । हाम्रो सेवा पनि चुस्त दुस्त रहेको छ । कर्मचारी तालिम प्राप्त र अनुभवी भएका कारण पर्यटकले के चाहान्छन त्यो सेवा उपलब्ध गराउन सक्षम छन् । बाटोमा रहेपनि हाम्रो होटल निकै शान्त रहेको छ । ठूला कोठा भएका कारण एउटा कोठाबाट अर्को कोठामा डिस्टर्ब हुँदैन् ।

एक दिनमा कति पर्यटकहरुलाई सेवा उपलब्ध गराउन सक्नुहुन्छ ?

हामीसँग अहिले ३४ वटा कोठा रहेका छन् । प्रत्येक कोठामा २ जनाको दरले बस्दा एकैदिन ६४ जना पर्यटकलाई सेवा दिन सकिन्छ । हामीले पहिला २० वटा कोठा हुँदा वर्षमा सरदर ३ हजार पर्यटकलाई सेवा दिने गथ्यौर्ं । यसपटक १४ वटा कोठा थप हुँदा संख्या पक्के बढ्ने छ । हाम्रो होटल १० कठ्ठामा बनेको भएपनि सबै सुविधाहरु रहेका छन् । यहाँ एक सयजना क्षमताको सेमिनार हल रहेको छ । सुन्दर गार्डेन र २ वटा हात्ती र जीपहरु रहेका छन् । हामीसँग ४ हजार रुपैयाँसम्मका रुमहरु रहेका छन् ।

होटल व्यवसाय सुरु गरेको ३ दशक बितिसकेछ, कत्तिको सन्तुष्ट हुनुहुन्छ ?

यस व्यवसायबाट म पूर्णरुपमा सन्तुष्ट छु । कमाइ पनि राम्रो भइरहेको छ । अब मैले होटल विस्तार गर्ने भन्दा पनि सेवा-सुविधाहरु थप गर्नेमा केन्दि्रत हुनेछु ।

 Jungle-safari-lodge

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment