Comments Add Comment

पुस्तक अंश- घामकिरी

नयनराज पाण्डे

उनी र मबीचको प्रेमको कथा हो यो । किशोर अवस्थामा गरिएको एउटा सुखद र रूमानी प्रेम, जसले मलाई आजपर्यन्त स्मृतिको रङ्गीन संसारमा पुर्‍याउने गरेको छ । शायद आउँदा धेरै वर्षसम्म यसको मोहक अनुभूतिबाट म मुक्त हुन सक्नेछैन । यो प्रेमले मलाई धेरै हँसायो, धेरै रूवायो । छातीमा ऐँठन पनि पार्‍यो । कहिलेकाहीँ बौलाहा पनि बनायो । तर कमजोर कहिले पनि बनाएन । प्रेमले कसैलाई कमजोर बनाउँदो रहेनछ । जसले कमजोर बनाउँछ, त्यो प्रेम हैन, अर्थोकै केही हो । पक्का ।

ghamkiriत्यसैले हाम्रो यो प्रेमकथालाई अक्षरहरुमा जीवित राख्ने निश्चय गरेँ मैले ।

तीन दशकअघि, सन् असी या एकासीताका, एक जना अज्ञात अघोरी बाबाले मलाई दिएका थिए एउटा जुठो अमृत फल । मैले त्यो फल स्वप्नमा प्राप्त गरेको थिएँ या यथार्थमा, थाहा छैन मलाई । हुन सक्छ त्यो स्वप्न पनि थिएन र यथार्थ पनि थिएन । अथवा, त्यो सपना र यथार्थबीचको त्यस्तो क्षण थियो, जहाँ पुगेर सपना यथार्थ जस्तो लाग्छ र यथार्थ सपना जस्तो भैदिन्छ । सम्भवतः त्यस्तै बेला उत्पन्न हुन्छ त्यस्तो भ्रम, जसलाई हामी जीवनभरि भ्रम हो भनेर स्वीकार गर्नै सक्दैनौँ । अथवा, त्यो त्यस्तो यथार्थ भैदिन्छ जसलाई आजीवन हामीले यथार्थ नै हो भनेर दाबी गर्न पनि सक्दैनौँ । तर भ्रम जस्तो यथार्थमै भए पनि या यथार्थ जस्तो भ्रममै भए पनि त्यो अमृत फल सेवन गरेपछि नै मभित्र जागृत भएको थियो प्रेमभाव ।

 त्यो प्रेमभावको परिणाम के भयो ? म अब यो सबैलाई बताउन चाहन्छु ।

 यो कथा मेरो प्रेमको विज्ञापन हैन । तर म आप\mनो प्रेमकथालाई सम्मानित बनाउन चाहन्छु र यसको महक हजारौँ मायालु मनहरुसम्म पुर्‍याउन चाहन्छु अब ।

 ००

 जसरी समुद्रमा फ्याँकिएको सिक्का बिस्तारैबिस्तारै बत्तिँदैबत्तिँदै अतल गहिराइमा पुगेर थपक्क बस्छ, ठीक त्यसको रिभर्स सटझैँ, यो प्रेमकथा सार्वजनिक गर्ने निश्चय गरेसँगै मेरो मनको शान्त पोखरीको अतल गहिराइमा थपक्क बसेको उनको सुन्दर पोटे्रट फेरि माथिमाथि तैरिएर आउँदै छ । त्यसरी नै । सिक्का जस्तै । बिस्तारैबिस्तारै । बत्तिँदैबत्तिँदै ।

अब क्रमशः स्मृतिहरु ताजा र सुगन्धी फूल बनेर फेरि फक्रिँदै छन् र तिनको कुमारी बास्ना मनको ब्रहृमाण्डभरि व्याप्त हुन थालेको छ । समय पूरै उल्टो गतिमा बग्न थालेको छ अहिले ।

हो, अहिले घुम्दै छन् घडीका सुईहरु विपरीत दिशातिर । समयसँगै म पनि फर्किंदै छु अतीततिरै । जिन्दगीको क्याराभान मेरै अगाडिबाट हिँड्न थालेको छ यति बेला । उल्टोउल्टो । तर एकदम तीव्र गतिमा ।

 तीव्र । अझै तीव्र ।

 म स्मृतिको टाइम मेसिनमा बसेर प्रकाशको गतिभन्दा पनि तीव्र उड्न थाल्दै छु । प्रतिघण्टा छ सय एकहत्तर मिलियन माइलभन्दा पनि तीव्र गतिमा । बिस्तारैबिस्तारै पुग्दै छु म आफ्नो विगततिरै । आफ्नै भूतकालतिर ।

टाइम मेसिनको स्वचालित ढोका खुल्यो । म भरखर निस्किएको छु त्यहाँबाट । मेरा अगाडि उपस्थित भैसकेको छ सन् बयासीको मायावी संसार । म अब फेरि भौँतारिन थालेको छु सन् बयासीका गल्लीहरुमा । अलमलिन थालेको छु फेरि सन् बयासीकै दोबाटा र चौबाटाहरुमा ।

नरोक्नुस् मलाई । नबिथोल्नुस् मेरो एकाग्रता । तपाईं जहाँ हुनुहुन्छ, त्यहीँ बस्नुस् । हेर्नुस् आफ्नो ढोकाबाहिर । कतै तपाईंको जुत्ता उल्टो भएको त छैन ? सुल्टो पार्नुस् । हैन, मैले कुनै जादू देखाउन लागेको हैन । म त तपाईंलाई कथा सुनाउँदै छु । आफ्नो प्रेमकथा ।

 हेर्नुस् त, कसरी मेरो मनभित्र असीको दशकका रूमानी भावहरु ओहोरदोहोर गर्न थालिसकेका छन् ! कसरी मेरो मनभित्रै हेभी मेटल ब्यान्ड मेटालिकाका आक्रामक धुनहरुसँगै डिस्को र ज्याज पनि धुनधानसित बज्न थालेका छन् ! मेरो दिमागभरि एग्नेथा र फिदाका युगल आवाजहरु गुन्जिन थालेका छन् यति बेला । माइकल ज्याक्सनले पनि मेरो छातीभित्र थ्रिलर गाउँदै होहल्ला गर्न थालेका छन् अब त । सन् असीमा मारिएका जोन लेनन पनि जुरूक्कै उठेर आइसकेका छन् । मेरै मनको छेउछाउमा थपक्कै बसेर गिटार बजाउँदै मेरै लागि कालजयी प्रेमगीतको सिर्जना गर्न थालिसकेका छन् उनले । ओलिभिया न्युटनले पनि लामो आलापसहित गाउन थालेकी छन् । सुन्नुस्, उनी गाउँदै छिन्-

इफ यु लभ मी, लेट मी नो

इफ यु डोन्ट, लेट मी गो …

अब सिन्थेसाइजर र हार्मोनाइजरका मायालु रिदमहरुसँगै बिस्तारैबिस्तारै सम्झनामै तयार हुन थालेको छ मेरी प्रेमिकाको ताजा चित्र । पहिले ब्ल्याक एन्ड हृवाइट थियो त्यो चित्र । बिस्तारै त्यसमा रातो, पहेँलो र नीलो जस्ता प्राइमरी रङ्गहरु थपिँदैथपिँदै गएका छन् अहिले । तिनै प्राइमरी कलरहरु आपसमा मिसिए फेरि । चित्रमा फेरि सुन्तला, हरियो र बैजनी रङ्गहरुको प्रभाव उत्पन्न भयो । भ्यानगगको सनफ्लावरको सुकिलो प्रभाव त्यो चित्रमा पनि देखा पर्न थाल्यो । देख्नुभो ?

हो, स्थिर थियो त्यो चित्र । भरखर मनभित्रको प्रोजेक्सन सिस्टममा मानौँ कुनै अपरेटरले जेनोन आर्क बल्ब बालिदिएको छ । अनि प्रोजेक्टरले मनको सादा भित्तामा प्रक्षेपित गरिदिँदै छ अब सत्तरी एमएमका फराकिला रङ्गीन चित्रहरु । बिस्तारैबिस्तारै ती चित्रहरु चञ्चल हुँदै छन् । एकदम चञ्चल । एकदमै गतिशील ।

 त्यो चञ्चल चित्रमा आफैँलाई देख्दै छु अहिले म । म दौडिरहेको छु एउटा घना जङ्गलमा यतिखेर । महा-चीन-द्रुम नामक चामत्कारिक रुखको खोजीमा । त्यसमा फुल्ने फूलको कोपिलाबाट आफ्नी प्रेमिकाको चित्र बनाएमा प्रेम अमर हुन्छ रे ! म आफ्नो प्रेमलाई अमर बनाउन चाहन्छु ।

चीनमा पाइने त्यो रुख मैले त्यही जङ्गलमा फेला पनि पारेँ । टिपेँ त्यसको कोपिला र बनाएँ प्रेमिकाको नवीनतम चित्र ।

सन् बयासीको उज्यालो र भरखर श्रीखण्डको बास्नादार साबुनले नुहाए जस्तो लाग्ने सुकिलो दिनमा मैले महा-चीन-द्रुमको कोपिलाले बनाएको चित्र सजीव भयो । आह, कति स्पष्ट भएर आयो उनको मुहार ! यो त्यही मुहार हो, जसमा मैले देखेको थिएँ योगमायाको जस्तै व्यक्तित्व । योगमायाकै जस्तो चञ्चलता । उनकै जस्तो अल्हडता । उनकै जस्तो गरिमा र उनकै जस्तो गम्भीरता । उनी उपस्थित भएकी छन् यतिखेर मेरा अगाडि । म मुग्ध भएको छु । बिन्ती, खोल्नुस् बन्द कोठाका झ्यालढोकाहरु । मेरो आवाजलाई नरोक्नुस् । यसलाई निर्बाध प्रवेश गर्न दिनुस् वायुमण्डलमा ।

 अब म अतिशय उत्साहसाथ चिच्याउँदै छु । सुन्नुस् मेरो आवाज । मलाई विश्वास छ- यो आवाज उनीसम्म पनि अवश्य पुग्नेछ । उनले पनि सुन्नेछिन् मेरो आवाज ।

मेरो आवाजसँगै महा-चीन-दु्रमको कोपिलाबाट तयार भएको मेरी प्रेमिकाको चित्रबाट बिस्तारै सात किसिमका रङ्गहरु धूवाँझैँ माथिमाथि उठ्न थाले । एकदमै तीव्र गतिमा ती सात रङ्गहरु एकअर्कासित गाँसिएर एउटै लहरमा माथिमाथि उठ्न थाले । बिस्तारै इन्द्रधनुष बन्दै गए ती रङ्गहरु । त्यो इन्द्रधनुष गोलाकारमा माथि उठेर आकाशका उत्ताउला बादलहरुलाई जिस्क्याउँदै बिस्तारै गोलाइमै पृथ्वीतिर र्झन थाल्यो । गोलो इन्द्रधनुषको अर्को किनार सुदूर दक्षिणतिर तेर्सोतेर्सो पर्दै अरब सागरमा झ्वाम्म खस्यो ।

त्यही सागरको किनारमा शानका साथ बसेको छ एउटा रङ्गीन शहर- बम्बई । सपनाको शहर । अहिलेको नाम मुम्बई ।

इन्द्रधनुषका सात वटा रङ्ग मिसिएको अरब सागरको पानीको रङ्गीन थोपा उछिट्टएिर पक्कै बम्बईको पाली हिलसम्म पुगेको हुनुपर्छ । पाली हिलको आप\mनो घरको टेरेसमा निस्किएर मेरी प्रेमिकाले मुग्ध भएर इन्द्रधनुषको त्यो रङ्गीन थोपालाई पक्कै हेरिरहेको हुनुपर्छ । त्यही इन्द्रधनुषको एक थोपा उनको कोमल हत्केलामा पक्कै मोती भएर खसेको हुनुपर्छ । उनले त्यो मोतीलाई पक्कै मायाले चुम्बन गरेको हुनुपर्छ ।

त्यसपछि उनले पक्कै सुनेको हुनुपर्छ मेरो आवाज-

“पद्मनिी, आई लभ यु ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment