Comments Add Comment

काठमाडौंबाट केटी बेच्ने गिरोह पक्राऊ

३० भदौ, काठमाडौं । विभिन्न प्रलोभन देखाई अविवाहित युवतीहरुलाई विदेश पठाउने गिरोह राजधानीबाट पक्राउ परेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले काठमाडौंका विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा ज्ञानु भन्ने ज्ञानबहादुर आचार्य, दीपक तामाङ, विपुल भन्ने गौरीशंकर पाण्डे र राजन भन्ने राजेन्द्र सुवेदी खत्री रहेका छन् । ब्यूरोका अनुसार झापा घर भई डल्लु बस्ने ज्ञानुले युवतीहरु खोजेर दलालसमक्ष पुर्‍याउन गर्थे भने सिन्धुपाल्चोक घर भई डल्लु बस्ने दीपक, नवपरासी घर भई बालाजु बस्ने विपुल र ललितपुर इमाडोलका राजनले विदेशी दलालसँग सम्पर्क गरी युवतीहरुलाई विदेश पठाउने कार्य गर्दै आएका थिए ।

प्रहरीको दाबी अनुसार पक्राउ परेकामध्ये राजन विदेशी दलालसँग सम्पर्क गरी विदेश पठाउने गिरोहका मूख्य नाइके हुन् । अनुसन्धानका क्रममा उनीहरुले विवाहित युवतीहरुलाई जम्मा गरेर डान्सवारमा लगी डान्स सिकाउनेदेखि मादक पदार्थ सेवन गराएर अनैतिक काम गर्न लगाउनेसमेत गर्दै आएका थिए ।

गिरोहमा संलग्न व्यक्तिहरुले युवतीहरुको तस्वीर खिचेर दुबई, भारतलगायत देशमा पठाउने र विदेशी दलालले फोटो हेरेर छनौट गरी कलाकार, वेटर इत्आदि भिसा पठाउने गरेका थिए । उनीहरुले नेपाली युवतीलाई त्यसरी विदेश पठाउने क्रममा दिल्ली, मुम्बईको बाटोहुँदै दुबई, अफ्रिका लगायतका मुलुकमा पुर्‍याउने गरेको अनुसन्धानका क्रममा खुलेको छ । उनीहरुले त्यसरी युवतीहरुलाई विदेश पठाउँदा प्रतिव्यक्ति ४० हजार कमिसन पाउने र विदेश पठाउँदा लाग्ने सम्पूर्ण खर्च विदेशी दलालले नै व्यहोर्ने गरेको प्रहरीले बताएको छ ।

केन्द्रीय अनुसन्धान व्यूरोका अनुसार पक्राउ परेका चारैजनालाई महानगरीय प्रहरी परिसर हनुमानढोकामा राखिएको छ । उनीहरुविरुद्ध मानव बेचबिखन तथा ओसार-पसार नियन्त्रण ऐन अनुसार कारबाही गरिने प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment