Comments Add Comment

लोकेन्द्र विष्ट भन्छन्- मागेरै चल्दैछ, अबचाहिँ आफैं केही गर्छु !

२७ पुस, काठमाडौं । एकीकृत नेकपा माओवादीका पूर्वपोलिटब्यूरो सदस्य एवं पूर्वमन्त्री लोकेन्द्र विष्ट पार्टीभित्र सादगी नेताका रुपमा परिचित छन् । भक्तपुरमा गाडी पार्किङ गर्ने सानो कम्पाउण्डसहितको एकतले घर भाडामा लिएर बसेका विष्ट अमिक शेरचनको नेतृत्वमा गठित एमाओवादी नेताको सम्पत्ति छानविन गर्न गठित आयोगको सदस्यसमेत हुन् । अरु नेताको सम्पत्ति छानविन गरेर प्रचण्डलाई प्रतिवेदन बुझाएका विष्ट आफ्नै चाहिँ सम्पत्ति कति होला ?

Lokendra  Bista 9.1विष्ट परिवारको मासिक घर खर्च कसरी चलिरहेको छ ? अनलाइनखबरले यसबारे खोतलखातल गर्दा थाहा भयो, उनले अहिलेसम्म पार्टीसँग मागेरै घरखर्च चलाइरहेका रहेछन्, अबचाहिँ आफैं केही गर्ने विचार रहेछ । पूर्वसभासद विष्टले राजधानीमा भोगिरहेको यो आर्थिक समस्या सम्भवतः सबै एमाओवादी नेताको आम समस्या हो । एमाओवादीबाहेक अन्य दलका नेताको पनि आर्थिक स्थिति शायद यस्तै अनिश्चित हुनसक्छ ।

आफैंले सर्वहाराकरण गरें

साँझमा वैकल्पिक विजुलीको मधुरो प्रकाशमा खजुराका जस्तै खस्रा जुँगा चलाउँदै विष्ट पुरानो पुख्र्यौली सपत्तिको सम्झना गर्छन्, ‘रुकुममा पहिले हाम्रो प्रशस्तै जग्गाजमीन थियो, पाखो बारी र धान फल्ने खेत पनि थियो । ०४५ सालअघि दाङमा जेल पर्दै मैले सोचें कि अरु सम्पति कमाएर राजनीति गर्छन्, मचाँहि भएको सम्पत्ति सकेर, सर्वहाराकरण गरेर राजनीतिक गर्नुपर्‍यो ।’

विष्टले पञ्चायतकालमा रुकुममा पार्टीको जिम्मेवारी लिएका मोहन वैद्यसँग पुख्र्यौली सम्पत्ति बेचेर सर्वहारा हुने योजना सुनाउँदा वैद्यले तत्काल त्सो नगर्न सल्लाह दिए । तर, विष्टले वैद्यको सल्लाह मानेनन् र जग्गा बेचेर सर्वहारा बेचे । ‘मेरा चारजना बहिनी थिए, उनीहरुलाई पठाउनुथियो, अहिले त्यो जग्गाजमीन भएको भए डेढ करोड रुपैयाँको हुन्थ्यो होला’ पूर्वमन्त्री विष्ट भन्छन्, ‘तर म आफैं सर्वहारा भएँ, अहिले मेरा नाममा नेपालभरि काँहि पनि एक धुर पनि जमीन छैन ।’

दाङमा जमीन छ, अधियाँ दिँदैनन्

विष्ट भन्छन्,- ‘अहिले दाङमा ६/७ कठ्ठा जमीन छ, अधियाँ कमाउनेले कहिले थोरै पठाउँछन्, कहिले केही भएन भन्छन्, कहिले यहाँको माटोमा ईंटा पो बनाउनुपर्‍यो भन्छन् । रुकुमको जग्गा दिदीले कमाउनुभएको छ, दिदीसँग माग्ने कुरै भएन ।’

सर्वहाराकरण भैसकेको नेताको दाङ र रुकुममा फेरि कहाँबाट, कसरी जग्गा जमीन आयो ? विष्टको स्पष्टीकरण छ, ‘मैले ०४९ सालमा विवाह गरें, उनले स्कुलमा मास्टरी गरेर कमाएको पैसाले जोडेको जग्गा हो त्यो ।’

पञ्चायतकालदेखि नै जेलनेल र यातना भोग्दै आएका कम्युनिस्ट नेता विष्टकी एक छोरी छन् । उनी बीबीएस पढ्दैछिन् । ‘छोरी पनि एमाओवादीको राजनीति गर्छिन् कि बाबुकै हालत देखेर अघाइन् ?’ अनलाइनखबरको प्रश्नमा विष्टको जवाफ छ, ‘छन त अखिल क्रान्तिकारीमा छिन् तर, सक्रिय राजनीति गर्लिन् नगर्लिन्, कर लाउने कुरो पनि भएन । राजनीति गरिभने म भन्दा निकै बाठी छिन् ।’ विष्टका अनुसार छोरीकी आमा पनि पार्टीको राज्य समिति सदस्य हुन् ।

अहिलेसम्म मागेरै जेनतेन चल्दैछ

‘अनि, यो घरको भाडा कति तिर्नुहुन्छ ? केले तिर्नुहुन्छ ? मासिक खर्च कति छ त कामरेड ?’ चियाँ खाँदै अनलाइनकर्मीले सोधेको अर्को जिज्ञासामा विष्टको जवाफ छ- ‘घरभाडा १२/१५ हजारभन्दा सस्तोमा पाइँदैन, तरकारी आदिमा पनि यस्तै खर्च हुन्छ । कहिले माग्न गइन्छ पार्टीमा । अहिले त माग्न नगएको पनि धेरै भइसक्यो । कहिले जिल्लाबाट आउँछ, यस्तै गरेर काम चलिरहेको छ ।

‘जिल्लाबाट लेभी आउँछ ?’ विष्ट भन्छन्, ‘लेभी हैन, जिल्लाका साथीहरुले यसो सहयोग गर्छन् । यस्तै उस्तै गरेर व्यवहार जेनतेन चलिरहेको छ ।’

‘मन्त्री हुँदा कमाउनुभयो होला नि ?’ अर्को प्रश्नमा विष्टको जवाफ छ, ‘त्यसरी कमाइएन । सभासदले पाउने जति हो, मन्त्रीले पनि त्यति नै हो, त्यसबाट पार्टीलाई पनि बुझाउनुपथ्र्यो, बाँकी पैसा साथीभाइ, पाहुनापात गर्नै नपुग्ने ।’

नेताका खुट्टामा अर्थिङ हुनुपर्छ

आफ्नो खर्च विवरण सुनाउँदा सुनाउँदै नेता विष्ट उत्पादन सम्बन्ध र सर्वहाराकरणको व्याख्या गर्न थालिहाल्छन् । उनी भन्छन्- ‘एमाओवादी नेताले खुट्टामा खोल हालेर हिँडेको धेरै भैसक्यो, अब नेताका खुट्टामा अर्थिङ हुनुपर्छ । अब हामीले उत्पादनमा भाग लिनुपर्छ । पार्टीले योजना ल्याएन भने अब म आफैं केही गर्नुपर्ला भनेर सोच्दैछु । कति मागेर मात्रै काम चलाउने ? अरुसँग डिपेन्ड हुनु राम्रो होइन, ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment