Comments Add Comment

कांग्रेस महाधिवेशन एक वर्ष धकेलिने निश्चित

८ असार काठमाडौं । नेपाली कांग्रेसको १३ औं महाधिवेशन निर्धारित समयभित्र नहुने निश्चित भएको छ । पार्टी महाधिवेशनको बारेमा कुनै छलफलनै नभई सभापति सुशील कोइराला अमेरिका लागेकाले महाधिवेशन कम्तिमा एक वर्ष पछि सर्ने निश्चित भएको हो ।

असोजमा असम्भव

कांग्रेसको बिधानअनुसार १३ औं महाधिवेशन आगामी असोज महिनाभित्र भइसक्नु पर्छ । विधानअनुसार वर्तमान केन्द्रीय कार्य समितिको अवधि चार वर्ष असोजमा पुग्छ । अब तीन महिनाभित्र गाउदेखि केन्द्रसम्मका अधिवेशनहरु गर्न कुनै हालतमा सम्भव नरहेकाले अबको केन्द्रीय कार्य समिति बैठकले पार्टीका सबै निकायको म्याद एक वर्ष थप्नेछ ।

‘हामीले केन्द्रीय कार्य समिति बैठक बोलाउनुपर्‍यो भनेर पटक पटक भन्यौं तर पार्टी सभापति कोइराला प्रधानमन्त्री भइसकेपछि एकपटक पनि बैठक बसेन’ केन्द्रीय सदस्य डा. प्रकाशरण महतले भने ‘अब तीन महिनाभित्र महाधिवेशन गर्न सकिने अवस्था छैन, आफ्नो कार्यकाल लम्ब्याउने बहाना मिलाइएको छ’ ।

बैशाखमा महाधिवेशन

कांग्रेसमा गाउँदेखि केन्द्रसम्मको अधिवेशन एकैपटक गर्ने परम्परा छ । शुरुमा क्रियाशील सदस्यता वितरण र नविकरण गर्दै बुथ कमिटी, गाउँ, क्षेत्र र जिल्ला कार्य समितिको अधिवेशनपछि केन्द्रको महाधिवेशन हुने गर्छ । यो सबै कामका लागि तीन महिना समय अपर्याप्त हुन्छ । दशैं तिहारपछि सदस्यता खुल्ला गर्ने योजना रहेको महामन्त्री कृष्णप्रसाद सिटौलाले बताएका छन् ।

‘विधानअनुसार पार्टीका सबै निकायको म्याद एक वर्ष मात्र थप्न मिल्छ त्यसैले बैशाख नकट्ने गरी महाधिवेशन हुन्छ’ सिटौलाले भने ‘केन्द्रीय कार्य समितिदेखि तलसम्म सबै निकायको म्याद केही महिना थपिने छ’ । उनका अनुसार बैशाख मसान्तभित्र कांग्रेसको १३ औं महाधिवेशन हुनेछ ।

उता शेरवहादुर देउवा र रामचन्द्र पौडेल पक्षले भने सभापतिले पार्टीको बैठकनै नराखेकाले महाधिवेशनको बारेमा निर्णय हुन नसकेको आरोप लगाएका छन् ।

नियोजित खेल

‘माघदेखि पार्टीको बैठक बसेको छैन, पटक-पटक बैठक बोलाउन भन्दा सभापतिले अनौपचारिक छलफल समेत राख्न छाडे’ संस्थापन पक्षकै एक प्रभावशाली नेताले भने ‘कोइरालालाई सभापतिमा टिकाइराखेर आफ्नो स्वार्थ पूरा गर्ने एउटा गिरोहका कारण महाधिवेशन नियोजितरुपमै धकेल्न खोजिएको हो’ । १३ औं महाधिवेशनमा देउवा र पौडेल सभापतिका दावेदार हुन् । तर विधानअनुसार कोइरालाले एक कार्यकाल दोहोरिन चाहेको स्रोतले जनाएको छ ।

कार्यवाहकको कष्ट

संस्थापनभित्रकै असन्तुष्ट पक्षले कार्यवाहक सभापतिको हैसियतमा रामचन्द्र पौडेललाई बैठक डाक्न दबाव दिइरहेको छ । तर, सभापति कोइरालाले अति आवश्यक परेको खण्डमा बाहेक बैठक नराख्न पौडेललाई निर्देशन दिएर गएकाले उनी हच्किएका छन् ।

महाधिवेशनको एजेण्डामा बैठक राख्ने अधिकार पौडेललाई छैन । सरकारको नीति कार्यक्रम र बजेटका बारेमा बैठक डाक्न सकिने पौडेल निकट एक केन्द्रीय सदस्यले बताए । पौडेलको पक्षमा केन्द्रीय कार्य समितिमा अर्जुन नरसिंह केसी, डा. शेखर कोइराला, नविन्द्रराज जोशी, चन्द्र भण्डारी, गगन थापा र कमला पन्त देखिएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment