Comments Add Comment

तीन करोड फिरौती माग्ने अपहरणकारी प्रहरीको फन्दामा

apharankari

ध्रुव भट्टराई/गोपाल दाहाल

८ असार, मोरङ । एक महिनाअघि दिनदहाडै अपहरणमा परेका बैंक कर्मचारी कृष्ण साहलाई मोरङ प्रहरीले सकुशल उद्दार गरेको छ । नेपाल र भारतका चार अपहरणकारीलाई पक्रनसमेत प्रहरीले सफलता प्राप्त गरेको छ ।

सुनसरीको दुहबीका साह जेठ १ गते साँझ मोटरसाइकलमा घर र्फकने क्रममा मोरङको टंकिसिनवारीमा फिल्मीशैलीमा अपहरणमा परेका थिए । मोरङका एसपी विश्वराज पोखरेलका अनुसार साहलाई नेपाल भारतमा लुटपाट गर्दै आएका दुबै देशका संयुक्त लुटेराहरुको समुहले परिपक्व योजना बनाएर लामो समयको निगरानीपछि अपहरण गर्न सफल भएका थिए ।

मोटरसाइकलमा घर र्फकदै गरेका साहलाई अपहरणकारीहरुको समुहले मोटरसाइकलले अगाडि बाटो छेकेर साहको मोटरसाइकलमा पछाडि बसी ढाडमा पेस्तोल तेर्साएर अपहरण गर्न सफल भएका थिए । उनीहरुलाई साहलाई सुनसरीको साहेबगन्ज नाकाबाट भारतको अररियामा लगेर लुकाएर राखी परिबारसँग तीन करोड रुपैयाँ फिरौती मागेका थिए ।

घरमा लुकाइराखेको अवस्थामा साहलाई प्रहरीले शनिबार साँझ मुक्त गरेको हो । प्रहरीले आइतबार अपहरणकारीलाई पत्रकारसामु सार्वजनिक गरेको छ । पीडित साहलेसमेत पत्रकार सम्मेलन गरेर आफूमाथि अपहरणकारीले दिएको दुखबारे जानकारी गराएका छन् । साह सुनसरीको दुहवी गाविस-४ निवासी हुन् ।

अपहरणमुक्त भएपछि कृष्ण साह ।
अपहरणमुक्त भएपछि कृष्ण साह ।

प्रहरीका अनुसार साहको अपहरणमा संलग्न भएकामध्ये सुनसरी तनमुना-८ का ३७ वषर्ीय हरेश चौधरी र सोनापुर-९ का ३० वर्षीय अनिल चौधरी पक्राऊ परेका हुन् । पक्राउ पर्ने दुई भारतीयहरुमा भारत अररिया फारवेसगञ्ज मजुवा वस्ने २५ वषर्ीय प्रदीप विश्वास र भारत नरपथगञ्ज बस्ने २४ वषर्ीय मनोज यादव छन् ।

अपहरणमा संलग्न सुनसरी भलुबा ८ का नवीन र देबनारायण गच्छदार, डुम्राहा ८ का बिरेन चौधरी र बिराटनगर २२ का मोहम्मद शत्रु मियाँ तथा भारतीय अपहरणकारीहरुमा बिहार राज्यको नपरपतगन्ज थानाका रमानन्द यादब र सत्यनारायण तिबारी फरार छन् । प्रहरीले उनीहरुको खोजी भइरहेको बताएको छ ।

अपहरणकारीले साहलाई योजनावद्ध तरिकाले अपहरण गरेका थिए । उनीहरुले नेपाली भूमि सुरक्षित नहुने देखेर अपहरणपछि धेरैदिनसम्म भारतीय भूमिमा साहलाई राखेको प्रहरी प्रमुख पोखरेलले बताए ।

साह अपहरण परेको सूचना पाएपछि मोरङ प्रहरीले सई राजेश दत्तको नेतृत्बमा टोली खटाएको थियो । भारत बिहार राज्यको अररिया जिल्लाको अचरा , मिल्की , डुम्राहालगायतका स्थानमा साहलाई लुकाएको थाहा पाए पनि प्रहरीले उद्धार गर्न सकेन । त्यसपछि साहको खोजीका लागि क्षेत्रीय प्रहरी कार्यालयको निर्देशनमा मोरङका डिएसपी प्रभु ढकाल, इन्स्पेक्टर दुर्गा दहाल सई शान्तराम कार्की तथा क्षेत्रीय प्रहरीका इन्स्पेक्टर नरेश सुबेदी र सुनसरीका इन्सपेक्टर राजेन्द्र बस्नेतको टोली सकृय भयो ।

प्रहरी टोलीले सुरुमा अपहरणमा संलग्न दुईजना नेपालीलाई पक्राउ गर्न सफल भएको थियो । त्यसपछि प्रहरीले साहको उद्धार गर्न भारत अरिरिया जिल्लाको प्रहरीको सहयोगमा निरन्तर स्बिप अप्रेसन चलाएको थियो ।

तीन करोड फिरौती लिन लामो योजनासहित संयुक्त गिरोह बनाएर सकृय भएका अपहरणकारीहरुले प्रहरीले खोजी गर्न थालेको सूचना पाएपछि अपहरणकारीहरुले फिरौती माग्न छाडेर फोन सम्पर्क बिच्छेद गरेका थिए ।

साहलाई लुकाएर राखेको स्थानमा भारतीय प्रहरीको सहयोगमा निरन्तर राति स्विप अप्रेसन चलाउन थालेपछि उनीहरुले साहलाई मोटरसाइकलमा राखेर सुनसरीको साहेबगन्ज नाकाबाट नेपाली भूमिमा सुटुक्क ल्याएर भाग्न खोजेका थिए । तर, अपहरणकारीहरुमाथि कडा निगरानी गरिरहेको प्रहरीले सोही क्रममा अन्य दुई जना अपहरणकारीहरुलाई पनि पक्राउ गर्न सफल भएको थियो ।

प्रहरीले अपहरणकारीहरुबाट दुई थान मोबाइलसहित नेपाली ६८ हजार र भारतीय १५ हजार रुपैयाँ पनि बरामद गरेको छ ।

प्रहरीका अनुसार अपहरणमा संलग्न सोही समुहले १२ जेठमा सुनसरीको दुहबीमा रहेको इन्टरनेशनल मनी एक्सचेन्जमा पनि लुटपाट गरेको थियो । नेपाल र भारतमा लुकेर बसेका फरार अपहरणकारीहरुको पहिचान भैसकेकाले तीब्र खोजी भैरहेको प्रहरीले जनाएको छ ।

अपहरणमा परेका साहलाई मुक्त गर्न परिवारजनसँग अपहरणकारीले तीन करोड रुपैयाँ माग गर्दै आएका थिए । तर, परिवारले फिरौती जम्मा गर्नुको साटो प्रहरीको मद्दत मागेका कारण प्रहरीले उनको उद्दारमा सफलता पाएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment