Comments Add Comment

उपनिर्वाचनमा ६६ प्रतिशत मत खस्यो, परिणाम भोलि

८ असार, काठमाडौं । संविधानसभा सदस्यका लागि आइतबार चार क्षेत्रमा भएको उपनिर्वाचन शान्तिपूर्णरुपमा सम्पन्न भएको छ ।

करिब ६६ प्रतिशत मत खसेको निर्वाचन आयोगले बताएको छ । ‘करिब ६६ प्रतिशत मत खसेको अनुमान छ’ निर्वाचन आयोगका आयुक्त दोलखबहादुर गुरुङले अनलाइनखबरसँग भने- ‘चारवटै क्षेत्रमा मतदान शान्तिपूर्णरुपमा सम्पन्न भएको छ ।’ काठमाडौं-२ मा ६०, चितवन-४ मा ७३, बर्दिया-१ मा ७४ र कैलाली-६ मा ६० प्रतिशत मतदान भएको अनुमान गरिएको छ ।

चारवटै निर्वाचन क्षेत्रका मतपेटिकाहरू सम्बन्धित निर्वाचन क्षेत्रको मतगणनास्थलसम्म ल्याइएको छ । राजनीतिक दलसँगको सर्वदलीय बैठकपछि मतगणना कार्य सुरु हुने छ । कैलाली ६ र चितवन ४ मा आइतबार राती ९ बजेबाट मतगणना हुनेछ ।

चारवटै क्षेत्रको मतपरिणाम सोमबार सार्वजनिक हुनेछ । विद्युत्तीय भोटिङ मेसिनमा खसेको मत गन्न छिटो हुने भएकाले मतपरिणाम पनि चाँडै आउने आयोगले जनाएको छ ।

उप निर्वाचनका क्रममा ४ वटै क्षेत्रमा दलका उम्मेदवार ६० जना स्वतन्त्र १६ सहित ७६ जना उम्मेदवार चुनावी मैदानमा उत्रेका थिए ।

उपनिर्वाचनमा हुने कुल मतदाता संख्या संख्या २ लाख ५१ हजार ३०४ थियो । च्ाारवटा निर्वाचन क्षेत्रमा जम्मा १३७ मतदान स्थल र ३२४ मतदान केन्द्र थिए । काठमाडौं-२ मा ३९ मतदान स्थल र ९० मतदान केन्द्र, चितवन-४ मा ३१ मतदान स्थल र ८१ मतदान केन्द्र, बर्दिया-१ मा ३७ मतदान स्थल र ७८ मतदान केन्द्र तथा कैलाली-६ मा ३० मतदान स्थल र ७५ मतदान केन्द्र थिए ।

मंसिर ४ को निर्वाचनमा काठमाडौं २ र बर्दिया १ मा एमालेका उम्मेदवार विजयी भएका थिए । त्यस्तै कैलाली ६ र चितवन ४ मा कांग्रेसका उम्मेदवार विजयी भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment