Comments Add Comment

घनश्याम वरिपरि घुमेको एमालेको बहस

मधु पन्थी, प्रवासी नेपाली मञ्च, अष्ट्रेलिया सदस्य

वितेका तीन महिनामा नेपाली अनलाइन् पोर्टल र सामाजिक सञ्जा फेसबुक यति हेरियो कि वर्ष दिनमा पनि यति हेरिएको थिइएन । यस अवधिमा निरन्तर सर्वाधिक चर्चाको विषय एमालेको नवौं महाधिवेशन रहेको पाइयो । हुन त आफूलाई यो क्षेत्रमा बढी रूचि र चाख भएर पनि हुन सक्छ ।

कहिले, महाधिवेशन कहिले हुने भन्ने सबालमा न्यूज त कहिले तोकिएको समयमा महाधिवेशन हुन्छ कि हुँदैन भन्ने अन्योलको न्यूज । कहिले कुन नेता कुन अस्पताल भर्ना भएको खबर त कहिले ती नेताहरू अस्पतालबाट घर फिरकेको खबर । कहिले कुन विचार समूहको जीत वा हारको विश्लेषण त कहिले कुन विचार समूहमा को-को भन्ने खबर सम्प्रेषण । कहिले गुटका नेताका चर्चा त कहिले गुट र समूह भेलाका ।

मिडियामा चर्चित एमाले पात्रहरू ?

यसबीच समाचारमा चर्चित पात्रहरू थिए : भुसाल समूह, माधव नेपाल, केपी ओली, घनश्याम भुसाल, शंकर पोख्ररेल, योगेश भट्टराई, गोकर्ण विष्ट, प्रदिप ज्ञवाली,महेश बस्नेत, भानुभक्त ढकाल, बामदेव गौतम, युवराज ज्ञवाली, विष्णु पौडेल, ईश्वर पोख्ररेल, विद्या भण्डारी, सुरेन्द्र पाण्डे, विजय पौडेल, ठाकुर गैरे, राजन भटृराई, राजेन्द्र राई, अरुण नेपाल, जगन्नाथ खतिवडा, रामकुमारी झाँक्री आदि ।

यो अवधिमा भुसाल समूह निकै चर्चित रह्यो ।भुसाल समूह का नेता घनश्याम, उनले अगाडि सारेको नयाँ विचार पार्टीकै आधिकारिक विचार बन्न गएकोमा बढी चर्चामा रहे भने माधव र केपी आगामी महाधिवेशनमा अध्यक्षका प्रत्यासीका रूपमा अघि सरेका वा सारिएका कारण चर्चामा रहे ।

शंकर पोखरेल र प्रदीप ज्ञवाली भुसाल समूह भन्दा बिल्कुल अलग विचार र लाइन बोकेकोमा बढी चर्चामा रहे । केपी खेमाका आशलाग्दा युवा नेता भनेर पनि कतिले लेखे यी दुईलाई । युवराज, माधव पक्षमा एकमात्र वर्तमान पदाधिकारी र भावी उपाध्यक्षको दावेदार भनेर चर्चामा रहे भने गोकर्ण, योगेश, विजय, ठाकुर, राजेन्द्र र रामकुमारी चाहि माधव समूहका आशलाग्दा युवापुस्ताका नेताका रूपमा साथै भुसाल समूहका हस्तिका रूपमा चित्रण गरिए ।

बामेदव, ईश्वर, विद्या र विष्णु चाहिँ केपीलाई एकपटक जसरी पनि पार्टी अध्यक्ष बनाउने एकस्वरे र एकमात्र एजेण्डाका साथ महाधिवेशनमा होमिएका बरिष्ठ नेताहरूको रूपमा बढी चर्चामा रहे । यी नेताहरू बिच नेतृत्व हस्तान्तरणको विषयमा गोप्य रूपमा गरिएको सहमतीको विषयमा पनि केहि चर्चा परिचर्चा भए । अर्का पात्र भीम रावल पनि माधव नेपालका बढी विश्वासनीय पात्रको साथै उपाध्यक्षका प्रत्यासीका रूपमा कहिँ न कहिँ चर्चामा रहिरहे भने सुरेन्द्र पाण्डे, माधव समूहबाट महासचिवका प्रत्यासीका रूपमा र अष्टलक्ष्मी शाक्य चाहि उपाध्यक्षको प्रत्यासीका रूपमा बढी चर्चामा रहिन् ।

त्यस्तै राजन र भानुभक्तलाई केपी समूहका आशलाग्दा युवा भनेर चर्चा गरियो भने युवा सघंका नाइके महेश बस्नेत पनि विभिन्न कारणवस चर्चामा रहिरहे ।

बढी चर्चामा आउन नसकेका आशलाग्दा अर्का युवा नेता रविन्द्र अधिकारी हुन् । उनी अघिल्लोलामो समयसम्म कुनै पनि समूहमा स्पष्ट खुलेर लागेको पाइएन । भनियो उनको विचारभुसाल समूहसँग मिल्छ तर भावी अध्यक्ष को ? भन्ने सवालमा उनी बामदेवसँगै छन् । तर पछिल्ला केही दिनमा उनी बामदेवसँगै हिँडेको खबर आयो । उनलाई एमाले नेता कम तथा जुझारु सभासदको रूपमा बढी चित्रण गरियो ।

यस तीन महिने अवधिमा एमालेका युवा तथा सैद्धान्तिक नेता भनेर पत्रकारले चिनाउने घनश्याम भुसालको सञ्चार माध्यम र सामाजिक सञ्जालमा जति चर्चा र परिचर्चा भएको छ, त्यति चर्चा न त माधव नेपालले नै पाए, न त केपी ओलीले नै । एमालेको महाधिवेशन सेरोफेरोमा रहेर लेखिएका लेखहरू मध्ये धेरैमा घनश्यामको बारेमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा लेखिएकै हुन्थ्यो । चाहे त्योभुसाल समूहको चिनारीबाट होस् या जबज विरोधीको उपमाबाट ।

घनश्यामको बारेमा जति राष्ट्रिय बौद्धिकजगत, विज्ञ, लेखक तथा स्वतन्त्र पत्रकारले चर्चा परिचर्चा गरे, त्यति चर्चा र परिचर्चा त उनको पार्टीमा पनि गरेका छैनन् होला । उनीलाई कतिले एमालेका सैद्धान्तिक नेताका रूपमा विचारकका रूपमा चित्रण गरेको पाइयो भने कतिले एमालेको भावी अध्यक्ष वा महासचिवका रूपमा हेर्न चाहेको अपेक्षा र शुभेक्षा गरेको पाइयो । कतिले उनलाई विगतमा पार्टीभित्र अन्यायपूर्ण तरिकाले पाखा पारिएको इतिहास खोतल्ने प्रयास गरे । धेरैले उनलाई अत्यन्त लगनशील, अध्ययनशील, बौद्धिक साथै आशलाग्दा र भर पर्न योग्य एमाले नेताका रूपमा उल्लेख्य रूपमा चर्चा र परिचर्चा गरेको पाइयो ।

राजनीतिक सँस्कार कस्तो?

अर्कोतर्फ ओली खेमाका केही स्थायी सदस्यहरू तथा केही ओलीका फ्यानहरूले घनश्यामको बढी उछितो काटेकै कारण बढी चर्चामा रहे । ओली खेमाका ती स्थायी सदस्यहरू तथा ओलीका फ्यानका फेसबुक भित्ताहरूमा हेर्ने हो भने प्रायले सबैभन्दा बढी घनश्यामकै बारेमा चियोचर्चा गरेका छन् । सबैले उनलाई जबज विरोधीका रूपमा चित्रण गरेको पाइयो । फेसबुकका ती भित्ताहरू हेर्दा यस्तो लाग्छ कि एमालेले सर्वसम्मत रूपले पारित गरेको पार्टीको लाइनका प्रणेता हुन घनश्याम र उनी भावी महाधिवेशनमा अध्यक्षका प्रत्यासी हुन् ।

केपी ओलीका स्थायी हस्तीहरू जस्तै शंकर पोख्ररेल, प्रदिप ज्ञवाली, विद्या भण्डारीले त सधंैभर घनश्यामलाई जबज विरोधीको उपमा भिराइराखे । यिनका भाषण र अन्तरवार्ताका अधिकांश समय प्रत्यक्ष वा अपत्यक्ष भाषामा भुसाल समूहका साथै घनश्यामकै विरोध गर्दै खर्च गरेको पाइयो । लाग्छ यो विचारको लडाईमा ओलीका स्थायी खेमासँग घनश्यामलाई जबज विरोधीको कित्तामा खडा गर्नु नै अधिवेशनमा विजय हात पार्ने एक मात्र उपाँय ठानेका छन् ।

यी तीन महिनामा घनश्यामका केही लेखहरू र अन्तर्वार्ता प्रकाशित पनि भए । रेडियो टेलिभिजनमा लामा-लामा अन्तर्वार्ता पनि प्रशारण भए । उनका लेख न त जबज विरोधी लाग्थ्यो, न त अन्तर्वार्तामा जबज विरुद्धको कुनै गन्ध आउँथ्यो । उनले जहिले पनि जबज सबैले देखिने खालको हुनुपर्छ, बोलिने र सुनिने मात्र होईन भन्थे । यसको खास अर्थ कसरी जबज विरोधी भयो भन्ने प्रश्नको ठोस जवाफ कसैले दिएनन् ।

घनश्यामका लेखको बारेमा नाम कहलिएका स्वतन्त्र लेखकहरूले समेत हप्तौसम्म चर्चापरिचर्चा गर्दथे । उनको लेखले नंया बहस छेड्थ्यो । तर ओलीका ती स्थायी सदस्य तथा ओलीका फ्यानले भने उनको उछितो काटेरै समय खर्चे । जबजमा कमा र फुलस्टप पनि परिवर्तन गर्न दिन्नौं भन्ने बज्रस्वँाठहरूमासमेत घनश्यामको विचारको प्रभाव परेको पाइयो । जबजमा कमा र फुलस्टप परिवर्तन गरिन हुन्न भन्ने अबुझ कोही पनि एमालेमा छैनन् भन्दै उनीहरूको बोलि फेरिएका समाचार र लेखहरू आए । एमालेभुसाल समूहको विचारमा गोलबन्ध भइसकेको कुरा विभिन्न मिडियामार्फत् छर्लङ्ग हुदाँहुदँै पनि कसैकसैले फेसवुकमार्फत् वैचारिक लडाईमा घनश्याम लाईनको हार र आफ्नो विचारको जीत भएको भन्दै स्टाटस् अपडेट गरेकै पाईयो ।

नेपालमा राजनीतिक सँस्कारको निकै नै कमी रहेको कुरा त नवौं महाधिवेशन अगाडि विचार समूहका नाममा भएका विभिन्न विचार गोष्ठी तथा सभाहरूमा बोलिएका भाषा, आफ्नै पार्टीका नेताहरूप्रति गरिएका तल्लास्तरका टिकाटिप्पणी र आरोप-प्रत्यारोप तथा आफ्नै सहपाठी माथि लगाईका लाञ्छनाले स्पष्टै पार्‍यो ।

अपेक्षा के ?

एमाले पार्टी, विचारले चल्छ भन्ने मान्यता राख्ने हो भने यस्ता व्यक्तिगत आरोप-प्रत्यारोपमा किन समय खर्च गर्ने कम्तिमा पनि त्यो समय आफ्नो विचार र कार्यक्रमको बारेमा नबुझेका कार्यकर्तालाई वुझाउन सदुपयोग गरौं ।

एमालेका दुवै खेमाका आदरणीय आशलाग्दा र भरपर्नयोग्य इमान्दार नयाँ विचारसहितका नयाँ पुस्ताका नेतागणसँग के अपेक्षा गरिन्छ भने कम्तिमा पनि तपाईहरू आफ्नो विचारभन्दा भिन्न विचार राख्नेलाई तल्लो स्तरको ब्यक्तिगत लाञ्छना लगाउने, निचस्तरको टिकाटिप्पणी गर्ने कार्यमा सहभागी नभई दिनुहोस् । यदि एमाले विचारले निर्देशित हुन्छ भन्ने मान्यता राख्नुहुन्छ भने आफ्नो विचार र भावी कार्यक्रमका बारेमा डटेर आफ्ना भनाईहरू सबै विचार समूहका नेता कार्यकर्ताका बिच राख्नुहोस्, सवाल जवाफ गर्नुहोस् ।

किन यसरी तल्लो स्तरका टीकाटिप्पणी, आरोप-प्रत्यारोप र गालीगलौजतिर लाग्नुहुन्छ ? यस्ता गतिविधिले त सिङ्गो एमाले नै ध्वस्त पार्न केहीबेर लाग्दैन । आखिर महाधिवेशनपछि त सँगै काम गर्नु नै छ । राम्रो कार्यको सुरुवात आफैबाट गरौं र सौहार्दपूर्ण वातावरणमा स्वस्थ राजनीतिक प्रतिस्पर्धा गरौं ।

अन्तिममा, नवौं महाधिवेशनबाट आशलाग्दा र भर पर्न योग्य सबै खेमा -समूह) का सच्चा, ईमान्दार, क्रियाशील, लगनशील, अध्ययनशील साथै नयाँ विचारसहितका युवा र नयाँ पुस्ताले पालो पाऊँन् । गलत नियत लिई एमालेमा प्रवेश गरी पार्टीकै बदनाम गर्न तल्लीन सबैले यो महाधिवेशनबाट नराम्रो पराजय भोग्नुपर्छ । यो महाधिवेशनबाट सुरेन्द्र, शंकर, घनश्याम, प्रदिप, योगेश, गोकर्ण, रविन्द्र, रामकुमारीलगायतका आशलाग्दा र भर पर्नयोग्य नयाँ पुस्ता पार्टी नेतृत्वमा आउन सकुन् भन्ने शुभेच्छा राख्दछु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment