Comments Add Comment

मनोरञ्जनमा काम गर्ने महिलालाई ‘शरीर जोगाउनै’ गाह्रो

  • शक्ति समूहकी संस्थापक चरिमाया तामाङ र विश्वास नेपालकी मधु गुरुङ रेष्टुारामा काम गर्ने युवतीहरुसँग कुरा गर्दै ।

९ असार, काठमाडौं । काठमाडौंमा सञ्चालित क्याबिन र डान्स रेष्टुरेन्टहरु चेलिबेटी बेचबिखनका नयाँ अखडा बनेका छन् । मापसे चेकजाँच र रेष्टुरेन्ट क्षेत्रमा कार्यरत श्रमिक महिलामाथि हुने यौन उत्पीडनका घटनाको अनुगमनमा कडाइ हुन थालेपछि यस्ता रेष्टुरेन्टको ब्यापारमा भारी गिरावट आएको छ ।

कहाँ जान्छन् केटीहरु ?

कतिपय क्याबिन, डान्स र दोहोरीका साथै मसाजहरु धमाधम बन्द भइरहेका छन् । बाँकी रहेका ठाउँमा ग्राहक बनेर जाने दलालहरुले त्यहाँ कार्यरत युवती तथा किशोरीहरुलाई आकर्षक कमाइको प्रलोभन देखाउँदै भारत, चीन र तेस्रो मुलुकका सेक्स मार्केटमा पुर्‍याउन थालेका छन् ।

मनोरञ्जन क्षेत्रबाट विस्थापित भएका युवतीहरु कहाँ गए त ? मनोरञ्जन क्षेत्रमा काम गर्ने महिलाको संस्था विश्वास नेपालकी मधु गरुङ भन्छिन् ‘धेरै नेपाली केटीहरु अहिले चीनको खासामा खुल्ला यौन बजारमा पुगेका भेटिएका छन्, धेरैजसो तीन महिने भिजिट भिसामा अफि्रका, खाडी र सिंगापुर जाने गरेका छन्’ । तीन महिने भिजिट भिसामा जानेहरुलाई त्यहाँका डान्स बारमा लगाउने गरिएको छ ।

राति डिस्को, दिउँसो सेक्स

रेष्टुरेन्ट क्षेत्रमै कार्यरत एक युवती आकर्षक कमाइको लोभमा चीनको सिमावर्ती खासा पुगिन् । उनलाई त्यहाँ डिस्कोमा काम गर्न भनेर लगिएको थियो । ‘राति डिस्कोमा काम लगाउने , तर दिउँसो उनलाई बाहिरबाट ताला लगाएर भित्र थुनिँदोरहेछ, कुनै ग्राहक आए भने भित्र लगेर युवती देखाएपछि मन परायो भने उसँग संसर्ग गर्न बाध्य पारिँदो रहेछ’ गुरुङ भन्छिन् ‘खासामा हजारांै नेपाली महिलाहरु अहिले खुल्ला सेक्स मार्केटमा छन्’ ।

अर्को गन्तव्य गोवा

मनोरञ्जन क्षेत्रमा काम गर्दा गर्दै हराएका धेरै श्रमिक महिलाहरुको पछिल्लो गन्तव्य बनेको छ भारतको पर्यटकीय शहर गोवा । गोवामा खुल्ला यौन बजारमा नेपालबाट गएका केटीहरु भेटिएको शक्ति समूहकी चरिमाया बताउँछिन् ।

‘हाम्रै शक्ति समूहले गोवामा यौन उत्पीडनमा परेका १५ जनालाई उद्धार गरेर ल्याएको छ’ उनले भनिन् ‘पहिले नेपाली चेलीहरु भारतको सेक्स मार्केटमा बेचिन्थे, अहिले चीनको सेक्स मार्केट पनि खुला भएको छ’ ।

अनुगमनको खाँचो

सर्बोच्च अदालतले संसदबाट अर्को ऐन नबनेसम्मका लागि मनोरञ्जन क्षेत्रमा कार्यरत महिलाहरुमाथि कार्यस्थलमा हुने यौन उत्पीडन नियन्त्रण गर्न निर्देशिका जारी गरेको छ । निर्देशिका जारी भएको ५ वर्ष पुगिसक्दा पनि यसको कार्यान्वयन नहुँदा यस क्षेत्रका महिलालाई यौनकर्मीको व्यवहार हुने गरेको विश्वास नेपालकी मधु गुरुङ बताउँछिन् ।

निर्देशिका कार्यन्वयनका लागि मिडियाको सहयोग नपाएको गुनासो शक्ति समुहकी परियोजना निर्देशक सिर्जना केसीको छ ।

‘पहिले त प्रहरीले फोटो नै खिचेर टाँस्थे, हामीले बिरोध गरेपछि अहिले त्यस्तोचाहिँ छैन ।’ गुरुङ भन्छिन् ‘सर्बोच्चले जारी गरेको निर्देशिका लागु हुने हो भने यौन उत्पीडनको समस्या धेरै समाधान हुन्छ’ । उनका अनुसार यौन शोषणका घटनाहरु कम भए पनि अन्य तरिकाबाट यौन उत्पीडिन हुने गरेका छन् ।

‘राम्रो अनुहार भएकी, सेक्सी र ग्राहक धेरै पट्याउन सक्नेलाई राम्रो तलब दिने, अरुलाई तलबै नदिने कुराले पनि यौन कार्यमा लाग्न बाध्य पार्छ’ उनको अनुभव छ ।

यो हो यौन उत्पीडन

सर्बोच्चले जारी गरेको निर्देशिका अनुसार रेष्टुरेन्ट वा मसाज पार्लरमा काम गर्ने महिलाको शरीरमा छुने, शारिरिक सम्बन्धको प्रस्ताव राख्ने, यौन उत्तेजना पैदा गराउने, छाडा कुरा बोल्ने जस्ता आचरणलाई यौन उत्पीडन मानिएको छ । ‘तर यो निर्देशका अनुसार अनुगमन भएन’ शक्ति समूहकी चरिमाया तामाङ भन्छिन्-‘मनोरञ्जन क्षेत्रमा काम गर्ने महिलाले आफ्नो शरीर जोगाउनै गाह्रो छ । उनीहरुलाई यौन कार्यमा दबाब दिइन्छ’ ।

अनुगमन गर्ने सरकारी संयन्त्र पनि नभएको होइन । सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारीकै संयोजकत्वमा अनुगमन तथा कारवाही समिति गठन भएका छन् । ‘तर सिडिओ साप र सरकारी हाकिमहरुकै सोचाइ सकारात्मक छैन’ गुरुङ भन्छिन् ‘उहाँहरु सबै कुरा मान्नुहुन्छ, तर अन्तिममा यिनीहरुको काम त सेक्स नै हो नि भन्नुहुन्छ’ ।

ग्राहक आउँछन् सेक्सका लागि

क्याबिन, डान्स, दोहोरी लगायतका मनोरञ्जन क्षेत्रमा जाने ग्राहकले पालना गर्नुपर्ने नियमहरु यस्ता छन् कि, ती नियम पालना गराउने हो भने अधिकांश रेष्टुरेन्टहरुनै बन्द हुने व्यवसायी बताउँछन् । आफ्नोमा आउने ग्राहकहरु खाने र केटीहरुसँग खेल्ने उद्देश्यले आउने र मन मिलेपछि सँगै लिएर जाने गरेको उनीहरु बताउँछन् ।

‘खानका लागि त अरुनै रेष्टुरेन्टमा गइहाल्छन् नि’ गौशालाका एक क्याबिन सञ्चालक भन्छन् ‘हाम्रोमा आउने भनेकै केटीहरुसँग यसो इन्जोइ गरौं भन्नेखालका मान्छे हुन्, तर केटीलाई छुनै नपाउने र केही गर्न नपाउने हो भने को आउँछ ?’ कुनै पनि रेष्टुरेन्टमा जबर्जस्ती यौनजन्य काममा लगाउने प्रचलन भने अहिले नरहेको उनी बताउँछन् ।

रेष्टुरेन्ट बन्द भएपछि सेक्स मार्केटिर

पछिल्लो समयमा प्रशासनले कतिपय ठाउमा निर्देशिका अनुसार कडाइ गर्न थालेपछि क्याबिन तथा डान्सहरु बन्द समेत हुन थालेको रेष्टुरेन्ट तथा बार एशोसियसन रेबानले जनाएको छ ।

‘रेष्टुरेन्ट बन्द भएपछि हाम्रोमा काम गर्ने बहिनीहरु बेश्याबृत्तिमा लागेका उदाहरण पनि छन्’ रेबानका एक पदाधिकारीले भन्छन् ‘दैनिक सयौं केटीहरु रेष्टुरेन्ट क्षेत्र छाडेर विदेशका सेक्स मार्केटतिर गइरहेका छन्, त्यसको अनुगमन कसले गर्ने ?’ ।

काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी बसन्त गौतम सर्बोच्चले जारी गरेको निर्देशिका अनुसार अनुगमन गर्ने तथा सूचना जारी गर्ने कामहरु भइरहेको बताउँछन् । तर, अनौपचारिक क्षेत्र भएकाले मनोरञ्जन क्षेत्रमा आउने र जाने महिलाहरुको तथ्यांक राख्न र अनुमगन गर्न निकै अप्ठेरो परेको सरकारी पक्षको भनाइ छ ।

Law-of-inter

कुमारित्व जोगाउनै गाह्रो

काठमाडौंको मैजुबहालस्थित एक क्याबिन रेष्टुरेन्टमा कार्यरत मुना तामाङ (नाम परिवर्तन) यौन उत्पीडन खप्न नसकेर भौंतारिँदै हिँडेकी थिइन् । उनीजस्तै रेष्टुरेन्ट क्षेत्रमा कार्यरत अर्की साथी अमिका लिम्बु (नाम परिवर्तन)ले उनलाई एउटा संस्थामा लिएर गइन् ।

उनीहरुजस्तै मनोरञ्जन क्षेत्रमा काम गर्ने श्रमिक महिलाको अधिकारका लागि स्थापित भएको त्यो संस्थाबाट उनले परामर्श पनि पाइन् । आफूले काम गरिरहेको रेष्टुरेन्टमा उनीहरुमाथि जस्तो व्यवहार भइरहेको छ, त्यो सबै यौन उत्पीडन र यौन शोषण रहेछ । उनले आफ्नो साहुलाई एक दिन भनिन् ‘यो जे भोगिरहेका छांै त्यो त यौन उत्पीडन रहेछ ।

म जागिर खान्छु, तर मेरो शरीरको अधिकार मसँगै हुनुपर्छ’ । भोलिपल्टदेखि उनलाई जागिरबाट निकालियो । ‘यहाँ ग्राहकले जे माग्छन् त्यो दिनुपर्छ, ग्राहकलाई सन्तुष्ट पार्न नसक्नेको यहाँ काम छैन भन्दै मलाई निकाल्यो’ मुनाले अनलाइनखबरसँग भनिन् ‘मैले पाउनुपर्ने पैसा पनि पाइँन’ । मुनाले व्यक्त गरेको यो पीडा मनोरञ्जन क्षेत्रमा काम गर्ने अधिकांश श्रमिक महिलाको साझा समस्या हो ।

नो सेक्स, नो जब

पछिल्लो समयमा मनोरञ्जन क्षेत्रमा कार्यरत श्रमिक महिलाहरु संगठित हुन थाले पनि यस क्षेत्रमा दिनहुँ थपिने नयाँ किशोरी र युवतीहरु थाहा नपाएरै यौन शोषण र उत्पीडनमा पर्ने गरेका छन् । क्याबिन, डान्स र दोहोरी रेष्टुरेन्टका साथै मसाज पार्लर र गेष्ट हाउसमा काम गर्ने श्रमिक महिलाहरुमाथि यौन उत्पीडन दण्डनीय मानिएको छ । तर, स्वयं ती महिलाहरुलाई भने थाहा छैन ।

‘हाम्रो न्युनतम तलब पनि सरकारले ८ हजार १ सय तोकेको रहेछ तर धेरै वर्षसम्म थाहै थिएन’ शक्ति समूहको कार्यालयमा भेटिएकी अनामिका राई (नाम परिवर्तन)ले भनिन् ‘हाम्रो शरीरमा हाम्रो मात्र अधिकार हुुने रहेछ, त्यो पनि भर्खर थाहा पाउदैछु, हाम्रा धेरै साथीलाई ग्राहकले जे माग्यो, त्यही दिनुपर्छ भन्ने बाहेक अरु केही थाहा छैन’ । उनको गुनासो छ- ‘साहुजीहरु नो सेक्स, नो जब’ भन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment