Comments Add Comment

एमालेलाई कांग्रेसजस्तै बनाऔं !

Lokesh-Dhakal-लोकेश ढकाल, कांग्रेस नेता

नेपाल कम्युनिष्ट पार्टी एमाले आफ्नो नवौंं महाधिवेशनको संघारमा आइपुगेको छ । यो महाधिवेशनमा पार्टीको प्रजातान्त्रिक रूपान्तरणको प्रश्न बहस र छलफलको विषय बन्ने र दोस्रो वैकल्पिक प्रजातान्त्रिक दलका रूपमा आफूलाई रूपान्तरण गर्ने आम अपेक्षा थियो । तर, महाधिवेशन पार्टीको नीति, सिद्धान्त, विचार र कार्यक्रममा खास बहस र छलफल नभै दुई गुट बीच नेतृत्व कसरी हत्याउनेमा नै तिब्र प्रतिस्पर्धा भएपछि रूपान्तरणको प्रश्न ओझेलमा परेको छ ।

नेपाल कम्युनिष्ट पार्टीको नीति विपरीत ०२८ सालमा झापा जिल्ला कमिटीले वर्गशत्रुलाई समाप्त गर्ने अवधारणामा माओवादीले ०५२ सालमा शुरू गरेजस्तै क्रान्तिका नाममा व्यक्ति हत्याको श्रृखला शुरू गरेका अभियानका कार्यकर्ताहरूले ०३५ सालमा छुट्टै गठन गरेको नेपाल कम्युनिष्ट पार्टी -माले) र साना ठूला गरी डेढ दर्जनभन्दा बढी संख्यामा विभक्त नेपालका कम्युनिष्ट पार्टीहरू मध्ये मनमोहन अधिकारीको नेतृत्वमा रहेको नेकपा (माक्र्सवादी) बीच एकता भई ०४७ सालमा गठन भएको नेपाल कम्युनिष्ट पार्टी (एमाले), माओवादीको उदय नहुँदासम्म नेपाली राजनीतिको मूलधारको कम्युनिष्ट पार्टी रहँदै आएको थियो ।

०४८ सालको आमनिर्वाचनबाट सशक्त प्रमुख प्रतिपक्षी दल बन्न सफल एमालेले काँगे्रसको नेतृत्वमा गठित बहुमतको सरकारलाई सय दिन नपुग्दै संसदीय पद्दति र मान्यता विपरीत विरोध गर्ने, कर्मचारी आन्दोलन उठाउने, त्यस क्रममा शहरका रेलिङ्ग भाँच्दै, टेलिफोनका क्याबिनहरू जलाउँदै विध्वंश र उदण्ड मच्चाउने, संसदमा माइक र टेबुल-मेच तोडफोड गर्ने, संसदभित्रै मन्त्रीको गाला चड्काउने, सोभियत संघमा गोर्भाचोभले गरेको प्रजातान्त्रिक परिवर्तन र आर्थिक सुधारका विरूद्ध त्यहाँका कट्टरपन्थी कम्युनिष्टहरूले गरेको असफल विद्रोहको हत्तपत्त स्वागत गरेर उग्र-कम्युनिष्ट चरित्र र उदण्डतालाई राम्रैसँग प्रदर्शन गरेको थियो । दुई दशकभन्दा लामो संसदीय अभ्यास र सत्ता-सुविधा भोग्दै यहाँसम्म आइपुग्दा त्यो उदण्डतामा कमि आई क्रमशः प्रजातान्त्रिक बाटोमा आएको छ । पार्टीको झण्डा र नामले कम्युनिष्ट पार्टी भए तापनि व्यवहारले यो पार्टी कहीं कतै कम्युनिष्ट पार्टी जस्तो देखिँदैन ।

एमालेको ५ औं महाधिवेशनले अंगीकार गरेको नेपाली क्रान्तिको कार्यक्रम ‘जनताको बहुदलीय जनवाद’ -जबज)मा टेकेर नै पार्टीले लामो संसदीय प्रजातन्त्रको अभ्यास, अनुभव, व्यवहार र पछिल्लो प्रजातान्त्रिक आन्दोलनमा काँग्रेससंगै संलग्न रहेर खेलेको भूमिकाले यो पार्टी प्रजातान्त्रिक मार्गमा अग्रसर भएको तथ्यलाई नकार्न सकिँदैन । तर, उसको व्यवहार र पार्टीका घोषणापत्र लगायतका दस्तावेजहरूमा भने कहिँ कतै मेल खाँदैन, त्यस कारणले अझै पनि यस पार्टी प्रति आम प्रजातन्त्रवादीले विश्वास गर्न सकेका छैनन् । यो प्रजातान्त्रिक पार्टी हो वा नाम अनुसारको वास्तविक कम्युनिष्ट पार्टी नै हो ? उसको कथित जबजलाई विश्लेषण गर्दा त्यसमा प्रशस्त दुविधा र भ्रमहरू छन् ।

झट्ट हेर्दा जबजले प्रजातान्त्रिक मूल्य-मान्यताहरूलाई स्वीकार गरेको देखिए तापनि वास्तवमा यी सबै अल्पकालीन रणनीतिको तहमा स्वीकार गरिएका हुन् । जबजले ‘नेकपा (एमाले) नेपालको सर्वहारा श्रमजीवी वर्गको राजनीतिक पार्टी’ मानेको छ । ‘वैज्ञानिक समाजवाद र साम्यवाद नै आˆनो उच्चतम लक्ष्य निर्धारण गरेको छ र त्यसका प्राप्तिका निम्ति निरन्तर लागिरहने अठोट व्यक्त गर्दछ’ भनेर स्पष्ट पारेपछि यसलाई प्रजातन्त्रवादी पार्टी मान्ने राजनीतिक एवम् सैद्धान्तिक आधार छैन । ‘क्रान्तिद्वारा जनताको जनवादीसत्ता स्थापना गरेर मात्र अरू सबै क्षेत्रमा आधारभूत परिवर्तन गर्ने लक्ष्यलाई साकार पार्न सकिन्छ’ भनेर अद्यावधि परमपरावादी कम्युनिष्ट विचारलाई हुवहु बोकेको एमाले जबजमार्फत पूर्णरूपमा प्रजातान्त्रिक बाटोमा आयो वा रूपान्तरित भएको मान्नु सर्वथा भूल हुनेछ ।

मदन भण्डारी स्वयमले ९० को दशकमा सोभियत संघको विघटन, पूर्वी युरोपलगायतका विश्वका कम्युनिष्ट सत्ता धारासायी भएको अवस्थामा विश्वको कम्युनिष्ट आन्दोलन, समाजवादी आन्दोलनमा धेरै गंभीर समस्याहरू पैदा भएका छन्, विश्व शक्तिको पुरानो सन्तुलन टुटेको छ, कुनै पनि क्रान्ति र निर्माणको ढाँचा तथा तरिकाहरूमा नयाँ-नयाँ अनुसन्धान र प्रयोग, संयोजन र परिमार्जन गर्दै जानु जरूरी भएको छ भन्ने कुराको विश्लेषण गर्दै त्यसकै तहमा जबजलाई एउटा तात्कालिक विचार र कार्यक्रमका रूपमा अंगीकार गरेको देखिन्छ ।

विश्व कम्युनिष्ट आन्दोलन धरासायी भएको, विश्व कम्युनिष्ट आन्दोलनको नेतृत्व गरिहेको सोभियत संघको विघटन भएको सङ्कटपूर्ण अवस्थामा नेपाली कम्युनिष्ट आन्दोलन र पार्टीलाई बचाएर राख्न र शक्ति सञ्चय गर्न लिइएको एउटा अल्पकालिन रणनीतिक कार्यक्रम हो जबज ।

बास्तवमा स्वयम् क. मदन भण्डारी आजसम्म जीवित नै रहँदा हुन र उनले इमान्दारिपूर्वक पार्टीलाई प्रजातान्त्रिक रूपान्तरण गर्न जबजलाई अगाडि सारेका थिए भने अहिलेसम्म पार्टीको नाम र झण्डा परित्याग गर्दै पार्टीलाई प्रजातान्त्रिक पार्टीका रूपमा रूपान्तरण गरिसकेका हुने थिए । होइन, विश्व साम्यवादी (कम्युनिष्ट) आन्दोलन धरासायी भएको सङ्कटपूर्ण अवस्थामा पार्टीलाई रक्षात्मक पङ्तिमा राख्न अल्पकालिन रणनीतिको तहमा जबजलाई ग्रहण गरेका थिए भने अहिलेसम्म एमाले पनि माओवादीसँगै जनवादी क्रान्तिको बाटोमा उभिएको हुने निश्चित थियो ।

कम्युनिष्ट पार्टीले बहुदलीय पद्धति, वैयक्तिक स्वतन्त्रता, मानव अधिकार, स्वतन्त्र न्याय प्रणाली, प्रेस स्वतन्त्रता लगायतका प्रजातान्त्रिक मूल्य र मान्यतालाई स्वीकार गर्दैन् । सर्वहारा वर्गको अधिनायकवादलाई मान्ने कम्युनिष्टहरूको जनवाद वा साम्यवाद नै अन्तिम लक्ष्य हो, श्रमजीवी वर्गको मात्र प्रतिनिधि हौं, विश्वका मजदूर एक हौं भन्ने कम्युनिष्ट पार्टीले आफूलाई महान प्रजातन्त्रवादी पार्टी भएको स्वीकार गर्नु एउटा ठट्टा र महान भ्रम मात्र हो । नेकपा -एमाले)ले जबजको नामबाट यसरी नै जनतालाई भ्रममा राख्दै राजनीति गर्दै आएको छ । यसै पनि कम्युनिष्टहरू अनेक जार्गनहरू प्रयोग गर्दै जनतालाई भ्रममा राखेर राजनीति गर्न खप्पिस हुन्छन् ।

मदन भण्डारीको निधनपछि उनका उत्तराधिकारीहरूले जबजलाई समृद्ध बनाउँदै न पार्टीलाई प्रजातान्त्रिक रूपान्तरण गर्न आँट देखाए न पार्टीलाई वास्तविक कम्युनिष्ट पार्टी नै बनाए । पार्टीलाई दुविधा, बेलामा यथोचित निर्णय लिन नसक्ने ढुलमुले पार्टीको रूपमा विकसित गरे ।

जबजमा टेकेर राजनीति गर्दा पार्टी न असली कम्युनिष्ट पार्टी बन्न सक्यो, न त वास्तविक प्रजातन्त्रवादी पार्टीमा रूपान्तरण हुन सक्यो । जबज सत्ता प्राप्तिको हतियार मात्रै बन्यो ।

नेपालका लागि बर्गेल्ती राजनीतिक दलको आवश्यकता छैन । विकसित प्रजातान्त्रिक देशहरूमा जस्तै दुई वटा शक्तिशाली प्रजातान्त्रिक दल हुँदा प्रजातन्त्र सुदृढ हुने र राजनीतिको स्थायित्वसंगै देश प्रगतिको बाटोमा अग्रसर हुने थियो । नेपाली काँग्रेसको विकल्पमा अर्को प्रजातान्त्रिक पार्टीको स्थान एमालेले लिन सक्छ ।

एमालेले कम्युनिष्ट पार्टी र हँसिया हथौडा अङ्कति लाल झण्डा परित्याग गर्दै सोसल डेमोक्रेटिक पार्टीको रूपमा उठेर आउन सक्ने संभावनाका रूपमा हेरिएको थियो । एमालेभित्र भएका अतिवादी कम्युनिष्टहरूको एउटा खेप क्रान्तिकारी कामरेड बामदेव गौतमले उसैबेला माओवादीमा पुर्‍याएर आफुमात्रै एक्लै मातृ पार्टीमा फर्केका र बचेखुचेका क्रान्तिकारी कमरेडहरू पनि उनीहरूकै परिभाषा बमोजिम लामो समयसम्म संसदीय भाषमा फसिसकेको हुँदा अब एमालेमा उग्रवादी कम्युनिष्ट कार्यकर्ता पङ्ति छैन भन्दा हुन्छ । यस्तो अवस्थामा नेतृत्वको एउटै अठोट र आँटले यो पार्टी कम्युनिष्ट विचारलाई छोडेर प्रजातान्त्रिक पार्टीमा रूपान्तरित हुन सक्छ ।

पार्टी नेतृत्व पङ्ति आफ्नो सत्ता स्वार्थ र पार्टीको नेतृत्व कब्जा गर्ने स्वार्थमा कम्युनिष्ट क्रान्तिकारितालाई निलम्बन गर्दै कहिले प्रधानमन्त्री बन्नकै लागि लक्ष्मण खड्कासंगै लाइनमा बसेर नारायणहिटीमा निवेदन हाल्न पुग्यो, कहिले प्रतिगमन सच्चियो भन्ने महान भ्रममा फस्दै सत्ताको लालचमा फसेर सरकारमा हामफाल्न पुग्यो । राजाको निरंकुश कदमका विरूद्ध काँग्रेसले संसद पुनःर्वहालीको माग गर्दा त्यसमा सहकार्य गर्नुको सट्टा त्यो माग गर्नु भनेको झोलामा हात्ती छिराउन खोज्नु जस्तै हो भन्दै खिल्ली उडाएर बस्यो । नेपाली काँग्रेसलाई यथास्थितिवादी र माओवादीलाई अतिवादीको आरोप लगाउँदै एमाले आफूमात्र सही ठाउँमा उभिएको फोस्रो दाबी गर्दछ । तर, व्यवहारमा यो पार्टी न प्रजातन्त्र प्रति पूर्ण रूपमा प्रतिवद्ध पार्टी बन्न सक्यो असली कम्युनिष्ट पार्टी नै बन्न सक्यो ।

कम्युनिष्ट अतिवादको अन्त्य नगरी देश अघि बढ्दैन

०६२/०६३ को आन्दोलनको परिणाम देशबाट उग्र दक्षिणपन्थी अतिवादको प्रतिनिधि संस्था राजतन्त्र अन्त्य भयो तर मुलुकबाट उग्रबामपन्थी (कम्युनिष्ट) अतिवादको अन्य भएको छैन । दुनियाँबाट ९० दशकदेखि वामपन्थी किल्ला त ध्वस्त भयो, तर नेपालमा कम्युनिष्ट शक्ति अझ बढिरहेको छ । जबसम्म नेपालबाट कम्युनिष्ट अतिवादको अन्य हुँदैन, तबसम्म प्रजातन्त्रले स्थायित्व पाउने छैन, देश अगाडि बढ्ने छैन ।

नेपालको ऐतिहासिक मूल्य-मान्यता, परम्परागत धर्म, संस्कृति एवम भूराजनीति दृष्टिले समेत नेपाली धरतीमा हँसिया-हथौडा अङ्कति लालझण्डा बोक्ने कम्युनिष्ट पार्टी कुनै अर्थबाट पनि फिट हुनै सक्दैन । विगतमा राजसंस्था स्वयमले मलजल गरेका कारण र स्वयम काँग्रेसको अकर्मण्यताले गर्दा नेपालमा कम्युनिष्टहरू शक्तिशाली भए । पछिल्लो संसदीय निर्वाचनमा भारतीय राजनीतिबाट कम्युनिष्टहरू ध्वस्त भएजस्तै नेपालबाट पनि कम्युनिष्टहरू एक दिन अस्तित्व जोगाउन नसक्ने अवस्थामा पुग्नेछन् । नेपाली मौलिक धर्म-संस्कृति, राष्ट्रियता र प्रजातन्त्रलाई आत्मसात गर्नै नसक्ने कम्युनिष्टहरू लामो समयसम्म नेपाली राजनीतिमा टिक्न सक्दैनन् । यो यथार्थलाई आत्मसात गर्दै यथासमय एमालेले आफूलाई परिमार्जन एवम रूपान्तरण गर्न सक्यो भने यो पार्टी नेपाली राजनीतिको अपरिहार्य शक्तिको रूपमा आउनेछ ।

नेपालको कम्युनिष्ट आन्दोलनको मुलधार हामी नै हौं भनेर रट लगाएर बस्यो भने माओवादीको जस्तै आउँदा दिनमा यो पार्टीको पनि अस्तित्व सङ्कटमा पर्ने निश्चित देखिन्छ ।

०४६ को राजनीतिक परिवर्तनपछि प्रजातन्त्रले स्थायित्व नपाउनु, निरंकुश राजतन्त्रले शीर उठाउनु, अतिवादी बामपन्थी अतिवादको रूपमा माओवादीको उदय हुनुमा पटक-पटकको जनताको मतले बहुमतका साथ सत्तामा पुगेको नेपाली काँग्रेसले जनताको मतको सम्मान गर्दै पूरा समय सरकार चलाउन नसक्नु, अन्तरपार्टी द्वन्द्वमा फसेर देशको सफल नेतृत्व गर्न चुक्नुमा जति जिम्मेवार छ, त्यसभन्दा कम जिम्मेवार छैन तत्कालिन प्रमुख प्रतिपक्षी दल नेकपा एमाले । एमालेको स्थानमा एउटा सशक्त प्रजातान्त्रिक दल प्रतिपक्षमा हुँदो हो त प्रजातन्त्रसंगै मुलुकको राजनीतिको यो हविगत हुने थिएन ।

सामान्य रूपबाट विश्लेषण गरेर हेर्दा काँग्रेसको प्रजातान्त्रिक समाजवाद र एमालेको जबजमा तात्विक भिन्नता देखिदैन । राष्ट्रवाद, प्रजातन्त्र, समानता, न्याय र जनताको प्रगति र सम्वृद्धि, सर्वभौम अधिकार सुदृढ गर्न, र समाजवादको कुरा जबजमा गरिएको छ । आवधिक निर्वाचन, बहुमतको सरकार, बहुलवाद, कानूनी राज, मानवअधिकार आदि आधारभूत प्रजातान्त्रिक मूल्य र मान्यतालाई जबजले स्वीकार गरेको देखिन्छ । यी कुरा काँग्रेसले प्रजातान्त्रिक समाजवादको तहमा भन्दै आएकै कुरा हुन् । फरक यति हो उसले यी नै विषयलाई नेपालको सन्दर्भमा माक्र्सवाद र लेलिनवाद लागु गर्ने सिद्धान्त नै जबज हो भनेर आम कार्यकर्ता र जनतालाई ठुलो भ्रममा राख्न सफल हुँदै आएको छ ।

निश्चय नै सोझै प्रजातान्त्रिक मूल्य मान्यतालाई स्वीकार गर्दा काँग्रेसको पछिलग्गु वा अनुयायी देखिने भएकोले मदन भण्डारीले चलाखीपूर्वक जवजको नाममा सिद्धान्तको पगरी लगाइदिए । पछिका नेताहरूले अन्धाले हात्ति छामेको जस्तै जबजलाई आ-आˆनो स्वार्थमा भँजाउने त काम गरे तर पार्टीलाई प्रजातान्त्रिक रुपान्तरण गर्ने तर्फ उदासिन रहँदै आए ।

एमालेले नेपाली राजनीतिमा मूलधारको कम्युनिष्ट पार्टीको दावी गरे तापनि माओवादीको शसक्त उपस्थिति पछि त्यो हैसियत अब रहेन । उसको ढुलमुले शैली अनुसार नै कम्युनिष्ट सिद्धान्त छोड्न पनि नसक्ने र बोक्न पनि नसक्ने दुविधाको अवस्थामा उभिएको छ । एमालेको पार्टी कार्यालयमा बाहेक अत्यत्र हसिया-हथौडा अंकित झण्डा देख्न पाइन्न । त्यो झण्डा लगभग माओवादीको मात्र भैसक्यो ।

विगतको दुईवटै संविधान सभा निर्वाचनमा यस पार्टीले हँसिया-हथौडा अंकित लाल झण्डा बोकेन । पार्टीका चुनाव सामग्रीमा लगभग नेकपा भन्ने शब्द हटाएर एमाले पार्टी मात्र भन्न थालियो । एमाओवादीको निर्वाचन चिन्ह नै हँसिया-हथौडा भएको कारणले एमालेले कम्युनिष्ट पार्टीको झण्डा नबोकेर पार्टीको निर्वाचन चिन्ह सूर्य भएको झण्डामात्र बोकेका थिए । यस्तो विसंगतिको अवस्थामा रहेको एमालेले मूलधारको कम्युनिष्ट पार्टी भएको फोस्रो दावी गरेर बसिरहनुको औचित्य छैन ।

केही पहिले पार्टीका युवा पङ्ति आसन्न महाधिवेशनलाई दृष्टिगत गर्दै केही विचार विमर्श र बहशमा जुटेका थिए । ‘नेपाली समाज सामन्तवादी हो’, ‘होइन यो समाज अर्धसामन्ती र अर्धऔपनिवेशिक चरित्रको छ’, ‘होइन ०४६, र ०६२/०६३ को राजनीतिक परिवर्तन पछि पुजीवादी चरणमा प्रवेश गरिसको छ’ आदि-आदि भन्दै बहशलाई राजनीतिक रङ्ग दिने प्रयास गरे तापनि यो बहसले नेपाली जनताको ध्यान खिच्न सकेन । जनतालाई यस्ता बेतुकका राजनीतिक बहशमा कुनै रूची छैन ।

नेपाली समाजको चरित्र कस्तो थियो वा भयो भन्ने भन्दा पनि जनतालाई दैनिक जीवनसंग सरोकार राख्ने विचार र कार्यक्रम चाहिएको छ, आर्थिक जीवन स्तर उठाउने, शिक्षा स्वास्थ्य, खानेपानी, विद्युत लगायतको सुविधा चाहिएको छ, शान्ति र राजनीतिक स्थायित्व चाहिएको छ, कम्युनिष्टका भ्रम र जनताको आँखामा छारो हाल्ने नानाभाँतीका जार्गन र कोरा बहश चाहिएको छैन, जनतालाई ठोस नतिजा चाहिएको छ । यसका लागि एमालेको प्रजातान्त्रिक रूपान्तरण र परिवर्तन चाहिएको छ ।

एमाले युवाहरूको बहश र तदारूकता यसै तर्फ अग्रसर हुन जरूरी छ । एमाले अध्यक्ष झलनाथ खनालले वीपी शतवाषिर्क कार्यक्रममा सहभागी हुन नेपाल आएका सोशलिष्ट इण्टरनेशनलका महासचिव लुइस आयलालाई भेटेर सोशलिष्ट इण्टरनेशलनको सदस्यताको लागि अनुनय गर्नु भन्दा आफ्नै पार्टीलाई सोशल डेमोक्रेटिक पार्टीमा रूपानतरण गर्ने आँट चाहिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment