२६ साउन, कञ्चनपुर । कञ्चनपुरको ऐरीमा बलात्कृत भएकी भनिएकी बालिकाले दिएको मुद्दा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले दर्ता नगरेको आरोप लगाइएको छ ।
महिला तथा वृद्धा सेवा केन्द्र महेन्द्रनगरको संरक्षणमा रहेकी पीडित बालिकाले दिएको उजुरी प्रहरीले दर्ता नगरेको केन्द्रका अध्यक्ष शारदा चन्दले बताइन् । उनले प्रहरीमा जाहेरी दिएको एक हप्ताभन्दा बढी समय भइसक्दासमेत प्रहरीले जाहेरी दर्ता नगर्दा अन्याय भएको दाबी गरिन् ।
बलात्कृत भनिए पनि मुद्दामा कुनै आधार नभेटिएकाले मुद्दा दर्ता नगरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद चौधरीले बताए । ‘प्रमाण दर्ता गर्न केही पनि छैन,” प्रहरी उपरीक्षक चौधरीले भने – ‘डडेल्धुरामा गर्भपतन गर भनेको छ, प्रमाण ल्याएर आए मुद्दा दर्ता गर्न समस्या हुँदैन ।’
भीमदत्त नगरपालिकाको ऐरीस्थित एउटा घरमा कमलरी बसेकी बालिकालाई घरधनीले बलात्कार गरेको पीडित बालिकाले बताइन् । पीडित बालिकाका अनुसार बलात्कारपछि गर्भ रहेको र बच्चालाई जबर्जस्ती गर्भपतन गराइएको थियो । दश वर्षको उमेरदेखि कमलरी बसेकी बालिका हाल १४ वर्ष भएकी छिन् । रासस
प्रतिक्रिया 4