Comments Add Comment

बाढी पहिरोको महाविपत्ति ! एकै दिन ४४ को मृत्यु

Babai-Badi

३० साउन, काठमाडौं । तीन दिनदेखिको लगातारको वर्षाका कारण आएको बाढी तथा पहिरोले मध्य तथा सुदूरपश्चिममा विनास मच्चाएको छ ।
शुक्रबार मात्र सुर्खेतमा २१ सहित देशका विभिन्न स्थानमा ४४ जनाको मृत्यु भएको छ केही हराइरहेका छन् भने हजारौं विस्थापित भएका छन् ।

गृह मन्त्रालयका अनुसार सुर्खेतमा दाङमा ६, बर्दियामा ५, रोल्पामा २, गोरखामा २ र कालिकोटमा १ जनाको मृत्यु भएको छ । रुकुममा ३, कैलालीमा २, चितवनमा २ जनाको मृत्यु भएको छ ।

तीन दिनदेखि परेको अविरल वर्षाका कारण २२ जिल्ला बढी प्रभावित भएको छ भने ६० भन्दा बढीले ज्यान गुमाएका छन् ।

सुर्खेतमा ७२ वर्षपछि ठूलो बाढी

स्थानीय प्रशासनका अनुसार सुर्खेतमा मात्र २१ जनाको मृत्यु भएको छ भने ५७ जना हराइरहेका छन् । हजारौं मानिस विस्थापित भएका छन् भने १३ सय ९९ घरमा क्षति पुगेको स्थानीय प्रशासनको प्रारम्भिक अनुमान छ । स्थानीय बुढापाकाहरुका अनुसार सुर्खेतमा आएको बाढी ७२ वर्षपछिको ठूलो हो ।

जिल्लाको इतराम खोला र खुर्के खोलामा आएको खहरेले वीरेन्द्रनगरमा १० जनाको मृत्यु भएको छ । सदरमुकाम आसपासबाट ३६ जनालाई पानीमा डुबेको अवस्थामा उद्धार गरिएको छ ।

सदरमुकामदेखि १६ कोष टाढा तातापानी भन्ने स्थानमा भेरी नदी आसपास ११ जनाको मृत्यु भएको छ भने ठूलो क्षति भएको छ । ‘भेरी नदी आसपासमा ठूलो क्षति भएको छ तर, सम्पूर्ण विवण आउन बाँकी छ’ सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी जगतबहादुर बस्नेतले अनलाइनखबरसँग टेलिफोनमा भने–भोलि) शनिबार हेलिकोप्टर पुगेपछि मात्र थप क्षतिबारे भन्न सकिन्छ ।’

बबईले विनास मच्चायो, दाङमा ६ र बर्दियामा ५ को ज्यान गयो

बबई नदीले दाङ र बर्दियामा विनास मच्चाएको छ । गृह मन्त्रालयका अनुसार दाङमा ६ र बर्दियामा ५ को मृत्यु भएको छ । सयौं घर डुवानमा परेको छ ।
वषर्ाका कारण घर भत्किँदा पश्चिम दाङको पुरन्धारा-९ गंगटेमा आमा छोरीको मृत्यु भएको छ । २७ बर्षीया देउकला कुँवर र उनकी ६ बर्षीया छोरी गंगा कुँवरको च्यापिएर मृत्यु भएको छ भने परिवारका अन्य भने भागेर ज्यान जोगाएको प्रहरीले जनाएको छ ।

यस्तै बबई नदीमा आएको बाढी बस्तीमा पस्दा घर भत्किएर दुई जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा उरहरी-६ मोतीपुरका ६० बर्षीय खुसीराम चौधरी र उनकी श्रीमती रहेको छन् । मोतीपुरमा एक सय बढी घर टहरा भत्किएको छ ।

यसैगरी बबई नदी डुरुवा-१ गनारीमा पस्दा २५ वर्षीया उर्मिला भुजेलको डुबेर मृत्यु भएको छ । बबईमा आएको बाढीले धर्ना, सौडियार, उरहरी, फुलबारी, गोल्टाकुरी, डुरुवा, श्रीगाउँ, पन्चकुले, धनौरी गाविस, घोराही नगरपालिका र देउखुरीका अधिकांश गाउँहरुमा गरी सैयौ घरहरु डुवानमा परेका छन् ।

यस्तै बर्दियामा ५ जनाको ज्यान गएको छ भने १ सय बढी वेपत्ता भएका छन् । हजारौं बिस्थापित भएको बर्दियाका प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौडेलले जानकारी दिए । मृतक र वेपत्ताको संख्या बढ्न सक्ने स्थानीय प्रशासनले जनाएको छ ।

बबई नदीमा आएको बाढीका कारण नदी आसपासका करिब हजार भन्दा बढी घर डुवानमा परेको छ । बबई नदीमा आएको बाढीले सदरमुकाम गुलरियाका १४ वटै वडासहित बगनाहा, पदनाहा, नेउलापुर, बनियाभार, मगरागडी, धधवार लगाएतका दर्जन बढी गाविस डुबानमा परेका छन् ।

कर्णाली नदीमा आएको बाढीका कारण ठाकुरद्धारा, शिवपुर, सुर्यपटुवा, ढोढरी गाविस डुबानमा परेका छन् । कर्णाली र बबई नदीमा पानीको बहाव घटेको छैन ।

रूकुममा तीनको मृत्यु

अबरिल वर्षासँगै आएको पहिरोमा पुरिएर रुकुममा तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । रुकुमको चुन्वाङ्ग-८ सिन्चौरमा नन्दराम घर्तीको घर पहिरोले पुरिँदा उनका सात बर्षीय छोरा विजय घर्ती र १० वर्षीया छोरी विमला घर्तीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पहिरोमा परी १४ वर्षीय पूर्णिमा घर्ती र पाहुना आएका ६ वर्षीय कमला मल्ल घाइते भएको जिल्ला प्रहरी कार्यालय रुकुमका प्रमुखका प्रहरी नायव उपरीक्षक गौतमराज कट्टेलले जानकारी दिए ।

यस्तै स्यालापाखा-१ वतासेडाँडामा पहिरोले हिरालाल वस्यालको घर पुरिँदा उनका १० वर्षीया छोरी कल्पना वस्यालको मृत्यु भएको छ । राती करिव १ वजेतिर पहिरोले घर पुरिँएको थियो । पहिरोमा परी घाइते भएका ५ वर्षीय छोरा प्रकाश वस्याल घाइते भएका छन् ।

रोल्पामा दुई जनाको ज्यान गयो

रोल्पामा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् । रोल्पाको राँक-२ न्याउलेखामा शुक्रवार विहान स्थानीय लालवहादुर ओलीको घर पहिरोले पुरिँदा छिमेकी ४६ वर्षीया लाली भण्डारी र कृष्णवहादुर ओलीकी छोरी ४ वर्षीया करुणा ओलीको मृत्यु भएको छ । ओलीको घरमा आगो लिन गएकी भण्डारी पहिरोमा परेका थिए ।
पहिरोमा परि लालबहादुर ओली, कृष्णवहादुर ओली, पवित्रा ओली र नितेश ओली घाइते भएका छन् । उनीहरुको स्थानीयबासीले उद्धार गरेका छन् ।

कैलालीमा दुर्इको ज्यान गयो

कैलालीमा दुई दिनदेखि परिरहेको अविरल वर्षाका कारण दुई जनाको ज्यान गएको छ भने एक हजार परिवार विस्थापित भएका छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीले दिएको जानकारी अनुसार पहलमानपुर गाविस १ का २२ बर्षिय आनन्दप्रसाद जोशीको पानीमा डुवेको अवस्थामा शव फेला परेको छ । बिहीवार राती खोलामा बगेर जोशीपुर ३ का ६५ वर्षका लालबहादुर धामीको मृत्यु भएको छ । कर्णाली नदीमा आएको वाढी टीकापुर नगरपालिकाको दौलतपुर छेउवाट भंगालो पसेपछि नारायणपुर गाविसमा १ सय ५०, धनसिंहपुर गाविसमा पनि १ सय ५० परिवार बिस्थापित भएका छन ।

यसैगरी थापापुर गाविसमा १ सय ९० परिवार,मनुवा गाविसमा १ सय १ परिवार,लालवोझी गाविसान २ सय परिवार, पहलवानपुर गाविसमा ५० परिवार विस्थापित भएका छन ।

टिकापुर २ र ३ मा १ सय ५० परिवार डुवानमा परेको नेपाल रेडक्रस सोसाइटी कैलालीका सभापति उत्तम जोशीले जानकारी दिनुभयो ।

कुन कुन जिल्ला प्रभावित ?

गृहमन्त्रालयका अनुसार तीन दिनसम्म परेको पानीले २२ जिल्ला प्रभावित भएका छन् । त्यसरी क्षति पुगेका जिल्लाहरुमा जाजरकोट, रुकुम, सल्यान, बाँके, बर्दिया, सुर्खेत, कैलाली, बाजुरा, डडेलधुरा, गोरखा, ललितपुर, सिन्धुपाल्चोक, दोलखा, सिन्धुली, उदयपुर, रौतहट,धनुषा, सर्लाही, महोत्तरी, सिराहा, धनुषा, महोत्तरी र सिन्धुली लगायत छन् ।
मन्त्रालयले संकलन गरेको प्राम्भिक तथ्यांक अनुसार बाढी, पहिरो र डुवानका कारण विस्थापित हुन पुगेका करिब ३५ सयभन्दा बढीलाई सुरक्षाकर्मीले देशभरिबाट उद्धार गरेका छन् ।

सबै ब्यारेजका ढोका खोल्न भारतसँग आग्रह

सुनकोशीमा थुनिएको जलासय शुक्रबार २ सेमी कम भएको गृहले जनाएको छ । तर, बाढीको प्रकोप बढेपछि शुक्रबार सरकारले नेपाल भारत सीमामा रहेका सप्तकोशी लगायत चारवटा नदीमा बनाइएका ब्यारेजहरुको ढोका खोल्नका लागि भारत सरकारसँग परराष्ट्र मन्त्रालयमार्फत अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment