Comments Add Comment

रेडियो नेपालमा पत्रकार महासंघ र कर्मचारी संघ खारेज गर्न पत्राचार

६ भदौ, काठमाडौं । रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमार कार्कीले रेडियो नेपाल कर्मचारी संघको दर्ता खारेजीका लागि श्रम कार्यालयमा पत्राचार गरेका छन् । ट्रेड युनियन अधिकार अन्तर्गत क्रियाशिल कर्मचारी संघ खारेज गर्न पत्राचार भएको सम्भतः पहिलो घटना हो ।

कार्यकारी निर्देशकमाथि बिभिन्न १४ बुँदे आरोप लगाउँदै आन्दोलनमा उत्रिएका कर्मचारीहरुले रेडियो नेपाल प्रवेशमै रोक लगाएपछि कार्कीले कर्मचारी संघ र नेपाल पत्रकार महासंघ रेडियो नेपाल प्रतिष्ठान शाखा खारेजीको लागि पत्राचार गरेका हुन् ।

Radio-nepal

रेडियो नेपालमा कार्यरत बिभिन्न ६ ओटा कर्मचारी र पत्रकार संगठनले काममा अवरोध गरेको भन्दै कार्कीले संघ संस्था खारेजीको लागि पत्राचार गरेको बताएका छन् । उनले कानुनले दिएको अधिकार अनुसारनै गरेको बताएका छन् ।

पत्रकार र कर्मचारीले भने कांग्रेस संस्थापक नेता गिरिजाप्रसाद कोइरालाको पालामा स्थापित ट्रेड युनियन हकलाई कांग्रेसकै सुशील कोइराला प्रधानमन्त्री र मिनेन्द्र रिजाल सञ्चारमन्त्री भएकाले बेला खोस्ने प्रयास भएको बताएका छन् । ‘यो त कांग्रेसकै लागि कलंकको कुरा हो, हामीले कार्कीको यो अलोकतान्त्रिक र गैरकानुनी हर्कतको जानकारी सञ्चार मन्त्रीलाई पनि गराइसकेका छौं’ पत्रकार महासंघ रेडियो नेपाल शाखाका अध्यक्ष दुर्गा फुयालले भने ।

नेपालमा प्रजातन्त्र पुनःबहालीपछि प्राप्त लोकतान्त्रिक अधिकारका अधिनमा रही प्रजातन्त्रवादी कर्मचारीहरुको समूहले २०४८ सालमा ट्रेड युनियन अधिकार अन्तर्गत् रेडियो नेपाल कर्मचारी संघ गठन गरेको थियो ।

सात संगठनद्वारा भत्र्सना

आफूहरुले राजनीतिक नियुक्तिका आधारमा रेडियो नेपालमा कार्यकारी निर्देशक भएका सुरेशकुमार कार्कीले संस्थाको हानी नोक्सानी र कर्मचारीहरु माथि गरेको ज्यादतिका विरुद्धमा आवाज उठाएको उनले बताए ।

रेडियो नेपालमा क्रियाशील सात वटा संगठनहरुले राजीनामा माग गरि आन्दोलन गरी रहेको अवस्थामा रेडियो नेपाल कर्मचारी संघ खारेज गरि पाउँ भनी श्रम विभागमा र पत्रकार महासंघ रेडियो नेपाल शाखालाई कारबाही गरी पाउँ भनी पत्रकार महासंघ केन्द्रीय कार्यालयमा लेखि पठाएको घृणित पत्रको हामी घोर भत्र्सना गर्दछौं ।’ ७ संगठनको विज्ञप्तिमा भनिएको छ ।

९ दिनदेखि आन्दोलनमा उत्रिएका सबै कर्मचारी र पत्रकारले कार्कीलाई रेडियो नेपालमा प्रवेश निषध गरेका छन् । कार्कीले आफू कार्यालय जान नसकेपछि उपनिर्देशक वेदबहादुर कुँवरलाई हस्ताक्षर गराई श्रम कार्यालयमा पठाएको विज्ञप्तिमा उल्लेख छ ।

उनीहरुले कुँबुरमाथि पनि प्रश्न उठाएका छन् । विज्ञप्तिमा भनिएको छ-रेडियो नेपालमा सार्वजनिक रुपमा आन्दोलन भई रहेको समयमा अधिकार क्षेत्रबाहिर गइ वेदबहादुर कुवँरले कुन हैसियतमा पत्रमा हस्ताक्षर गरेका हुन् ? पदको दुरुपयोग गरी कार्यालयको वदनामी गर्ने निज कुवँरलाई कडा भन्दा कडा कारबाही गर्न हामी जोडदार माग गर्दछौ ।’

विज्ञप्तिमा कर्मचारी संघका अध्यक्ष मनोज चौधरी, कर्मचारी युनियनका अध्यक्ष भरतप्रसाद घिमिरे, राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष विशाल अधिकारी, प्राबिधिक कर्मचारीका अध्यक्ष गिरिराज निरौला, पत्रकार महासंघका अध्यक्ष दुर्गा फुयाल, प्रेस चौतारीका अध्यक्ष धुव्र सापकोटा र प्रेस युनियनका अध्यक्ष शन्तोष रेग्मीले हस्ताक्षर गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment