Comments Add Comment

हनुमानढोकामा बढ्न थाल्यो फेसबुकको उजुरी !

facebook
१२ भदौ, काठमाडौं । जिल्ला प्रहरी कार्यालय हनुमानढोकाको चौथो तलामा साइबर क्राइम हेर्ने शाखामा कार्यरत प्रहरी निरीक्षक पशुपति रायलाई फेसबुकसम्बन्धी गुनासो सुन्न भ्याई नभ्याई छ ।

सामाजिक सञ्जालमा हुने अपराधबारे बुझ्न अनलाइनखबरको टोली हनुमानढोका पुग्दा इन्स्पेक्टर रायले फेसबुकमा केही लेख्नुअघि सुरक्षाको हिसाबले समेत सतर्क हुनुपर्ने सुझाव दिए ।

‘भारतमा १९ वर्षकी एक युवतीले आफ्नो फेसबुकमा घरमा एक्लै छु भनेर लेखिछन् । अपराधीले स्टाटसकै आधारमा ती युवतीलाई फलो गरेछन्, जसले गर्दा उनको घरमा चोरी मात्रै भएन, उनको बलात्कार पनि भयो ।’ राय भन्छन्- ‘त्यसैले फेसबुकमा केही लेख्नुअघि धेरै कुरा विचार गर्नुपर्छ ।’
महाशाखाका प्रवक्ता एसपी भुपाल भण्डारीका अनुसार नेपालमा पनि फेसबुकलगायत सामाजिक सञ्जालमार्फत् हुने अपराधसम्बन्धी गुनासा र उजुरीहरु बढ्न थालेका छन् ।

प्रहरीका अनुसार पछिल्लो समय समाजिक सञ्जाल फेसबुक अपराधको अखडा बन्न थालेको छ । ट्वीटरसहितका अन्य सामाजिक सञ्जालको तुलनामा फेसबुकमा धेरै नै अपराध बढेको महानगरीय प्रहरी अपराध महाशाखाको तथ्यांकले देखाएको छ ।
फेसबुकबाट अश्लील गालीगलौज गर्ने, अपमानजनक कमेन्ट गर्नेदेखि लिएर अन्य गम्भीर प्रकृतिका अपराधहरु हुने गरेको पाइएको छ । ‘अहिले सोसल मिडियामा हुने क्राइमको संख्या बढेको छ’ महाशाखाका प्रवक्ता भण्डारीले अनलाइनखबरसँग भने- ‘सामाजिक सञ्जालसँग जोडिएर दिनमैआठ/दश वटा उजुरी पर्ने गरेका छन् ।’

अधिकांश पीडित महिला

भण्डारीका अनुसार फेसबुकमा हुने अपराधबाट बढीजसो महिलाहरु पीडित हुने गरेका छन् । अहिलेसम्म महिलाले पुरुषमाथि यस्तो अपराध गरेको उजुरी एउटा मात्रै परेको छ ।

महिलाहरुलाई गालीलजौज गर्नेदेखि अश्लील तस्वीर र भिडियो फेसबुकमा राख्ने क्रम बढेको एसपी भण्डारीले अनलाइनखबरलाई बताए । यसको उदाहरण हालै पक्राउ परेका ३० वर्षका रामकुमार स्याङ्बो हुन् । उनले सुरुमा नक्कली फेसबुक आइडी बनाएर एक महिलालाई साथी बनाए । पछि उनले सेक्स पार्टनर बन्न प्रस्ताव मात्र राखेनन्, आफ्ना अश्लील तस्वीरहरु समेत पठाए ।

‘महिलाका नग्न एवं अर्धनग्न तस्वीर राखेर म सेक्स वर्कर हुँ, यो नम्बरमा फोन गर्नुस् भनेर फेसबुकमा महिलाहरुको नम्बर राखेका धेरै घटना छन्’ एसपी भण्डारीले भने-‘ त्यसरी राखिएको नम्बरमा एकै रातमा सय,डेढ कल आएको आएको पाइयो ।’

पुरुषको एक मात्र घटना

महाशाखाका अनुसार महिलाबाट पुरुषमाथि भएको अपराधको एउटा मात्रै उजुरी परेको छ । त्रिवि शिक्षण अस्पतालमा एमबीबीएस अध्ययनरत युवकको अश्लील तस्वीर उनकी प्रेमिकाले सार्वजनिक गरेपछि पीडित विद्यार्थीबाट महाशाखामा उजुरी गरेको थियो ।

प्रेममा परेका बेला स्काइपीमा उनीहरुले भिडियो शेयर गरेका थिए । तर, प्रेम टुटेपछि युवतीले पूर्वप्रेमीको भिडियो सार्वजनिक गरेकी थिइन् ।
प्रेममा परेका युवायुवतीहरुबाट ब्रेकअपपछि अश्लील तस्वीर र भिडियो अपलोड घटना पनि बढ्दो छ । यस्ता उजुरीहरु पनि आउने गरेको महाशाखाले जनाएको छ ।

अपराधको बढ्दो ग्राफ

पछिल्लो आर्थिक वर्षमा प्रहरीमा आएका उजुरीमध्ये १६ जनाविरुद्ध मुद्दा चलाइएको छ ।
जुन पछिल्लो दुई आर्थिक वर्षको भन्दा बढी हो । २०६८/२०६९ मा तीन र २०६९/७० मा एउटा मात्रै मुद्दा चलाइएको थियो ।

प्रहरीले गाली गलौज जस्ता उजुरीमा सम्वन्धित व्यक्तिलाई बोलाएर सचेत गराउनेदेखि फेसबुक एकाउन्ट नै बन्द गर्ने गरेको छ ।
महाशाखामा समाजिक सञ्जालमा हुने अपराध हेर्दै आएका प्रहरी निरीक्षक पशुपति रायले अनलाइनखबरसँग भने-‘तर, पछिल्लोपटक गम्भीर अपराधका घटनामा बढेकाले १६ बटा मुद्दा नै चलाउँछौं ।’

कसरी हुन्छ अपराध ?

महाशाखामा उजुरी परेपछि आउने सबैले अञ्जानमा यस्तो भएको, आफूलाई फेसबुकका लेख्दा अपराध हुन्छ भन्ने थाहा नभएको भन्ने गरेका छन् । तर, अपराध त अपराध नै हो, कानुन अनुसार कारवाही हुन्छ नै ।

प्रहरी निरीक्षक पशुपति राय फेसबुकलाई हनुमानढोकाको वाल (भित्तो) जस्तै भएको बताउँछन् । ‘हनुमानढोकाको वालमा पोष्टर टाँस्नु भयो भने जो सुकैले जे पनि लेख्न सक्ने भयो । फेसबुक त वल्र्डवाइड भयो’ उनले भने-‘त्यसैले फेसबुक चलाउँदा, स्टाटस लेख्दा वा तस्वीरहरु अपलोड गर्दा प्रयोगकर्ताहरुले पनि सोच्नुपर्छ ।’

फेसबुक, टि्वटर आदि चलाउनेहरुलाई एसपी भण्डारीको सुझाव छ- ‘के लेख्दा साइबर क्राइम हुन्छ भन्ने बारेमा पनि जनचेतना आवश्यक छ, मलाई कानून थाहा थिएन भनेर विद्युतीय कारोवार ऐनबाट उम्कन मिल्दैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment