Comments Add Comment

जनजातिलाई ककस बनाउनै सकस

Ashok,-ps-and-barsaman

१२ भदौ, काठमाडौं । अघिल्लो संविधानसभामा ककस गठन गरेर पहिचानको मुद्दामा एकतावद्ध भएका जनजाति नेताहरु यसपालि एक ठाउँ जुट्न सकेका छैनन् ।

जनजाति नेताहरु मुद्दामा भन्दा व्यक्तिमा केन्द्रित भएको आरोप लागिरहेका बेला अशोक राईले अनलाइनखबरसँग भने- सिंगै अशोक राई भएपछि किन चाहियो ककस ?

नयाँ संविधान निर्माण महत्वपूर्ण चरणमा प्रवेश गरिसकेको छ । संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समिति संघीयतासहितका मुद्दामा प्रवेश गरिसकेको छ । डा. बाबुराम भट्टराई रहेको सम्वाद समितिमा केही दिन सहमतिको प्रयास गर्ने र नभए भदौ २१ गते पछि मतदानको प्रक्रियामा जाने कार्यतालिका छ ।

तर, योपटक जनजाति आन्दोलन न संविधानसभाभित्र देखिएको छ, न सडकमा नै । अघिल्लो संविधानसभामा संघीयताको विषयमा ककस निर्णायक थियो । कांग्रेस, एमालेसहितका दलका ४ सय २० सभासदले पहिचानसहितको संघीयताको पक्षमा हस्ताक्षर नै संकलन गरेका थिए, जसलाई कांग्रेस र एमालेले अघिल्लो संविधानसभाबाट संविधान नबन्नुको मुख्य कारक मान्छन् ।

तर, यो पटक संविधान निर्माण नेगोसिएसन चरणमा पुग्दा पनि ककस बन्ने संकेत देखिएको छैन । दोस्रो संविधानसभामा कांग्रेस-एमालेको बहुमत छ र उनीहरु पहिचानको विपक्षमा छन् ।

किन बन्न सकेन ककस ?

Ashok-raiयोपटक पनि जनजातिहरुबाट ककस बनाउने प्रयास नभएको होइन । तर, मुद्दाभन्दा नेतृत्वमा जोड देखिएको छ । यही नेतृत्वको हानाथापका कारण ककस बन्न नसकेको स्रोतको दाबी छ ।

एमाओवादीका केही नेताले संघीय समाजवादीका अध्यक्ष अशोक राईलाई अघि सार्दै ककस गठनको प्रयास गरेका थिए । यसका लागि वर्षमान पुन, गोपाल किरातीसहितका नेताहरु सक्रिय भएका थिए । तर, अशोक राईलाई कांग्रेस र एमालेका जनजाति सभासदले मानेनन् ।

जनजाति साना दलहरु पनि प्रभावशाली ककस बनाउने भन्दा आफ्नै नेतृत्व चाहन्छन् । ककस बनाउन सकस भएको हो ? अनलाइनखबरको प्रश्नमा राईले भने-सकस भएको छैन, सिंगो अशोक राई नै भएपछि किन चाहियो ककस ?’

पूर्वसभासद एवं सामाजिक लोकतान्त्रिक पार्टीका नेता पासाङ शेर्पा भने संविधानसभाका प्रभावकारी ककस बनाउन कांग्रेस र एमालेका सभासदहरुलाई नै अघि सार्नु पर्ने बताउँछन् ।

पृथ्वीसुब्बाको दुखेको मन

Prithivi_Subba_Gurungअघिल्लोपटक जनजाति ककस बनाउँदा मूख्य भूमिका खेलेका एमालेका पृथ्बीसुब्बा गुरुङ, पासाङ शेर्पा, एमाओवादीका वर्षमान पुन, कांग्रेसका आइबी गुरुङ यो पटक सभासद छैनन् । त्यसबेला पृथ्बीसुब्बा, वर्षमान र आईबीबीच निकै तालमेल थियो । सामूहिक नेतृत्व प्रणालीसहित सबैलाई समेटेर लैजाने कार्यशैली प्रभावकारी थियो ।

तर, योपटक एमाले सचिव बनेका सुब्बाले ककस बनाउन पहिले जस्तो पहल नगरेको जनजाति नेताहरुको गुनासो छ । ‘अशोक राईहरुले पार्टी छाड्दा एमालेमै बसेपछि उहाँलाई जनजाति नेताहरुले धेरै नै गाली गर्नु भएको थियो, त्यसले पनि उहाँको मन दुखेको छ,’ एक नेताले भने ।

गुरुङले भने आफू सभासद नै नभएको भन्दै ककसबारे कुरा गर्न अस्वीकार गरे ।

नगेन्द्र र पेम्बाको सभासद बन्ने दाउ

nagendra-kumar-kumalककस बनाउन पहल गर्ने बताएको जनजाति महासंघका नेताहरु भने २६ सभासदको कोटामा पर्न लागेको जनजाति नेताहरु बताउँछन् ।

अध्यक्ष नगेन्द्र कुमाल कांग्रेस र महासचिव पेम्बा भोटे एमालेबाट सभासद बन्न लबिङ गरिरहेका छन् । गोष्टी गर्दैमा ककस बन्दैन’ एक नेताले भने- ककस बनाउन त आन्तरिक लविङ गर्नुपर्छ । उहाँहरु आफैं सभासद बन्न लबिङमा हुनुहुन्छ ।’

यद्यपि जनजाति महासंघका अध्यक्ष कुमाल भने आफूहरु अहिले पनि ककस बनाउने प्रयास भइरहेको बताउँछन् ।

अब सडक आन्दोलन

संविधानसभा निर्णायक चरणमा पुग्दा पनि ककस नबनेपछि जनजाति नेताहरु सडक आन्दोलनको तयारीमा जुटेका छन् । पद्मरत्न तुलाधरको नेतृत्वमा संघर्ष समिति बन्दैछ ।

दलहरुले कार्यतालिका अनुसार काम गरे संविधानको पहिलो मस्यौदा आउने बेलामा जनजातिहरुको सडक मोर्चा खुल्नेछ । त्यसका लागि छलफलका चरणहरु पूरा भएको र अब आन्दोलनका कार्यक्रम सहित आउने नेताहरु बताउँछन् ।

संविधानको मस्यौदा आए त्यसमा भएका विषयलाई केटेर नभए पहिचानसहितको संघीयताको माग गर्दै आन्दोलन गर्ने नेताहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment