Comments Add Comment

बाटोले ल्याएछ गाउँमा विकृति

राजन मुकारुङ

आइपुग्न त ‘मध्य पहाडी राजमार्ग’को सडक आइपुगेको हो गाउँमा । तर, सप्पैले ‘बाटो’ नै भन्छन् । म कुन तागती हुँ र गाउँलेहरुभन्दा ? यहाँ म ‘बाटो’ नै भन्छु ।

Rajanबर्खा मासले झपक्कै छोपिल्याएको छ । मध्य असार छ । यद्यपि, मनसुन सक्रिय भएको छैन यसपालि । केही दिनअघि परेको दर्के झरीले लेकाली मूलहरु सामान्य रसाएका भने छन् । पर्याप्त भने होइन । बाक्लो कुहिरो लागेको छैन । खेतको रोपाइँमा पस्नुपर्ने गाउँलेहरु आकाससित आशालु हेरिरहेका छन् । कहिले पर्ला पानी र रोपौंला खेत ? यस्तै भइरहेको छ गाउँमा, दिल्पामा यतिवेला ।

धौले कान्छो र म खनिरहेका छौं मकैबारी । कोदो रोप्ने काम भइरहेको छ । पाँचजना रोपाहारहरु छन् कोदो रोप्ने । सातजनाको यो टोलीले कोदो रोपेको भयो दुई हप्ता । लच्छी र कान्छोको ठासठुस परेको भइसकेको छ तीनचार दिन । एकअर्का बोल्दैनन् । छेड हान्नुपर्दा अर्कैसँग बोल्छन् र केके केके भन्छन् । अनि आफैं मुर्मुरिन्छन् । ‘दमिनी भीर’का यी पात्रहरुका लागि सदा त म आफैं न्यायाधीश हुन्थें । यसपालि हुन मन छैन । सक्दो बाझून् र आफैं थाकून् अनि आफैं मिलून् भन्ने मेरो खास चाह छ ।

यिनको बाझ्नुमा खास कारण नै रक्सी हो । रक्सीलाई गाउँमा अचेल ‘ओक्तो’ भनिन्छ । कैलेदेखिन् यस्तो भयो ? कसैलाई ‘था’ छैन । ओक्तोले भेटेपछि कान्छो बहुलाउँछ नै । लच्छीलाई तथानाम भन्छ । लच्छीको नाकमा झिंगो भन्कनु हुँदैन नै । उसले के छाड्थी ? भनिदिन्छे सबै थोक । कान्छोको पुरुषवादी अहम रन्किजान्छ । मुक्काउँछ लच्छीको गालैमा । यति भए के चाहियो ? गाउँमा पुलिस थाना छँदै छ । थानामा छिन् रञ्जना नामकी हवल्दार । उनको मोबाइल नम्बर कण्ठै छ लच्छीलाई । फोन गरिहाल्छे । आउँछन् पुलिसहरु । कान्छो पुर्‍याइन्छ थाना । अनि मर्मत् हुन्छ उसको । अब उप्रान्त ‘रक्सी नखाने’ कागज गरेर थानाबाट फर्किन्छ कान्छो । शरीरभरि निलडामहरु हुन्छन् । फेरि, सेकताप गर्नुपर्ने त उही लच्छीले नै हो । गर्छे माया र पिरिम दुवैले । खोरमा भए खोरको नत्र गाउँ चाहारेर ल्याउँछे छिप्पेको भाले । बनाउँछे सिरुवा र खुवाउँछे । तङ्ग्रिन्छ कान्छो । चल्छ पन्ध्र-बीस दिन नयाँ पिरिम ।

यो कथा धौले कान्छो र लच्छीको पोहोरसम्मको मात्रै हो । कात्तिकदेखिन् गाउँमा छु म । गाउँमा म गएदेखिन् थाना पुग्ने काम भएको छैन कान्छोको । थानामा छन् इन्चार्ज सोलूका सूर्यप्रसाद राई । ‘सही’ हुन् उनी । इन्स्पेक्टरको दरबन्दी हो तर इन्स्पेक्टर बस्दैनन् थानामा । जो, गाउँ न पर्‍यो । ‘सूर्यप्रसाद’लाई छोटकरीमा भनिन्छ ‘एसपी’ । ‘एस्पी सर’ भनेर सम्बोधन गरिन्छन् उनी । उनै एस्पीलाई मैले कान्छो र लच्छीका बारे अनुरोध गरेको छु । ‘अबदेखिन्’ यी दुईको घरबाझो घरमै मिलाइदिन्छु भनेर । हो, कात्तिकदेखिन् यता थानामा गएका छैनन् यिनीहरु ।

बेंसीमा फल्ने अट्टेधानभन्दा गाडीले ल्याउने हात्तीब्राण्ड चामल सस्तो भयो । गाउँको सुन्तला मधेस र्झन थाल्यो । अलैंची, अकबरे, रुखभेन्टाहरु मधेस र्झन थाले ।

धौले कान्छो र म संगाती हौं सानैदेखिको । एकै छिमलका हौं हामी । हाम्रो सुखदुःख सप्पै छर्लङ्ग छ हामी दुईमा । ढाँटेर ढाँट्नै सकिँदैन । हो, हामी दुई खेतबिनाका छौं, हौं गाउँमा । उसको पहिल्यैदेखि खेत थिएन, छैन । पाखोबारी मात्रै छ । मेरो दश पाथी बीऊ जाने सिमखेत थियो । लेकको खेत, मरितरी फल्थ्यो पाँच मुरी । कामैको मात्रै अपहत्ते । खेत मासेर अलैंची लगाएको भयो पाँचै वर्ष । कान्छोले आइडिया रचेको हो अलैंचीको । उसैले लगाएको हो विरुवा । कहाँ हो कहाँ फाइदा हुन थालेको छ । पोहोर डेढ मन फल्यो । खन्खन्ती पचहत्तर हजार रुपियाँ थापिएकै हो । ‘धन्यवाद कान्छा !’ मैले बारबार उसलाई धन्यवाद दिने गरेकै छु । हो, यसैले हामी दुवै भएका छौं खेतबिनाका । त्यसैले- अरुहरु खेतमा पसिरहेका वेला, अरुहरुले आँठाबाँझो गरिरहेका वेला कोदो रोप्दै छौं हामी । आधाउँधी भइसकेको छ उसको र मेरो कोदो रोपाइ ।

सत्र वर्षपछि ‘कोदोबारी’ खन्न म गाउँमा छु यसपालि । पूरापूर सोह्र वर्ष काठमाण्डूले खाएछ मेरा बर्खाहरु । मज्जा लागिरहेको छ । पुराना दिनहरु, बर्खाहरुले ‘नोस्टाल्जिक’ गराइरहेका छन् मलाई । धौले कान्छोको विशेष जोडबलमा यो बर्खा गाउँ फर्किएको छु, काम गर्न ।

स्यामुयल पी. हन्टिङ्टन, ब्रौदिआ, फ्रान्सिया ल्योतार,फ्रेडेरिक जेमेसन, डेनियल बेल, नित्से, गोपिचन्द नारंग, सुधीश पचौरी, रामविलाश बर्मा, अजय तिवारीहरुलाई गाउँमा आएर पढें यसपालि । दिमाग पूरै ‘नन्-फिक्सनल’ भएको छ मेरो । ‘अयोग्य’ उपन्यासलाई गाउँमा लेखिसकूँ भनेको ! ‘नन-फिक्सन’ले मोहित तुल्याइरहेको छ । अनि लेख्दै छु निबन्धहरु । कोदालो चलाउँदै नयाँ ‘निबन्ध’का लागि विषय सोच्नु कम मज्जाको लाग्दैन । घाँस काट्दै भर्खरै पढिसिध्याएको किताबबारे सोच्नु उत्तिकै गज्जप लाग्दो छ । भकारो सोहर्दै उता काठमाण्डूका साथीभाइहरुलाई सम्झनु झनै आनन्द हुँदो छ । तर, उताबाट चाहिँ कसैले सम्झँदैनन् र पो त । एक ‘कल’ गर्दैमा के जान्थ्यो

उनीहरुको ? निष्ठुरीहरु ! यस्तो लाग्छ नै । धौले कान्छोले बुझ्दैन यस्तो । मेरो मनको कुरो हो भनेको छैन मैले । बरु आमाले कैलेकहीँ हपार्नु हुन्छ- ‘हैन, बुहारीसँग बोलेको सुन्दिनँ । तिमीहरु बाझ्यौ कि क्या हो ?’
आमाकी बुहारी कोरियामा साग टिप्दै छिन् । दुःख र सपनाले उता लखेटेको छ उनलाई । उतै बसेर लेखिन् ‘लेखककी स्वास्नी’ उपन्यास । संवेदना हुनै पर्ने हो । साहित्यिक हुन् उनी । खै किन हो गर्दिनन् फोन ? कामको चपारो होला, भन्ठान्छु म । म पनि पो गर्दिन रहेंछु । आमाको मन त राख्नै पर्‍यो । अनि गर्न खोज्छु । कहिले हो ? मोबाइलमा ब्यालेन्स साफ भइसकेको हुँदो रहेछ । ल, खलास । बर्खामास न पर्‍यो । बाटो त आइपुगेको छ नि । धुलौटे बाटो । हिउँदमा मात्रै हो गाडी चल्ने । ‘रिचार्ज कार्ड’ बर्खामा सजिलै कहाँ पाइने र ? तब बन्द गरिदिन्छु मोबाइल नै ।
काठमाण्डू बसेर ल्यापटपमा लेख्ने म । यसपालि कापीका पानाहरुमा लेख्दै छु । ल्यापटप त साथै छ तर कापीको मोहले लोभ्याएको छ । त्यसलाई थन्काइदिएको छु परतिर । लेख्न थालेपछि नरोकिई लेख्न सकियोस् ! यस्तै चाह हुन्छ । तर गाउँमा ? गोठ सम्झनुपर्छ । घाँस-सोत्तर गर्न
परिहाल्यो क्यारे । कुखुरा चराउने जिम्मा म आफैंले लिएको हुँ । तिनलाई खोरभित्र थुनेर मात्रै कहाँ हुन्छ र ? बीचैमा लेख्न छाडेर दौडनै पर्‍यो । यद्यपि, जति लेखिँदै छ, मजा नै लागिरहेको छ ।

धेरै फेरिएको छ गाउँमा । जस्तो कि-  धौले कान्छो र म पारिपारि हेथ्र्यौं सानो छँदा । चार कोश पर, पूर्वतिर टल्कन्थे टिनका छानाहरु । हामी त्यसलाई भोजपुर भन्थ्यौं । भोजपुरको सदरमुकाम । हामी त्यसलाई सहर भन्थ्यौं । त्यो सहर पुग्ने ठूलो रहर हुन्थ्यो हाम्रो । टिनको छानो टल्कने ठाउँ हाम्रा लागि सहर थिए उवेला । अहिले, गाउँभरि टिनका छानाहरु टल्कन्छन् । साउदी, कतार, मलेसिया गएर गाउँका युवाहरुले चम्काइदिएका छन् छाना । बाटो आएर टिन ल्याउन सहज भएको छ गाउँमा । हप्ता दिनको बाटो, जस्तापाताको भारी- मान्छेले बोकेर धान्न सक्ने त थिएन नै । हिउँदमा आउने सौराज (मिनि ट्रक), महिन्द्रा (ट्याक्टर)हरुले ल्याइदिएका हुन् टिन । अनि छाइएका हुन् छानाहरु । हो, त्यो परको सहर अब देखिँदैन गाउँभन्दा फरक ।

हो- पहिलेपहिले ढाक्रेहरुले बोक्थे भारी । ढाकर-टेकुवाको चलन थियो गाउँमा । पछि, खच्चडले ढाक्रेलाई विस्थापन गर्‍यो । मान्छेहरुले आफूलाई भरिया बनाउन चाहेनन् । चेतनाको पहिलो सिँढी उक्लिए भनौं न । बाटो आइपुगेछि त ट्याक्टर, ट्रकहरु आउन थालिहाले । खच्चड विस्थापन भयो । विकासको गति चल्यो भनौं न गाउँमा ।

सँगसँगै- गाउँमा नुनतेल सस्ता भए । साबुन, मरमसला सस्ता भए । लत्ताकपडा सस्ता भए । बेंसीमा फल्ने अट्टेधानभन्दा गाडीले ल्याउने हात्तीब्राण्ड चामल सस्तो भयो । गाउँको सुन्तला मधेस र्झन थाल्यो । अलैंची, अकबरे, रुखभेन्टाहरु मधेस र्झन थाले । अम्लिसोको कुचोले भाउ पायो । गाडी आएपछि त गाउँमा पैसा नै सस्तो भयो, भनूँ न । परम्परागत् खेतीबाट नगदे बालीतिर विस्तारै सर्न थालेको छ गाउँ । सिमखेतहरु अलैंचीबारीमा फेरिन थालेका छन् अब ।

गाउँमा हिउँदभर ट्याक्टर, ट्रक, मिनिट्रक र मिनि बसहरु गुड्छन् । तिनको कर्कश ‘हर्न’, धूलो-धुवाा र तेजिलो ‘हेड लाइट’, ती सबैलाई बिर्साइदिन्छ सुविधाले । सहिदिएका छन् गाउँलेहरुले ।

उसो भए किन रोपिरहेको त कोदो ? लगाइदिनू नि अरु नै नगदे बाली ।
अहँ, मान्दैन धौले कान्छो । जाँड पकाइखानुपर्ने कोदो नै हो । सधैंको चामल खाएर मात्रै कहाँ हुन्छ ? चाहिन्छ नि ढिँडो । हिउँदमा भैंसीलाई खुवाउनुपरेन नल ? कान्छोको तर्क यही हो । यही तर्कमा छ कोदोको निरन्तर अर्थशास्त्र । मकैको सवालमा उस्तै तर्क हुन्छ उसको । मकै नभए के
गर्ने ? कुखुरा-सुँगुरलाई चाहिएन चारो ? गाईवस्तुलाई चाहिएन

पिठो ? खसी पोस्ने केले ? माघको जाडोमा भुटी खानुपरेन ? यही हो मकैको राजनीति गाउँमा ।
बारीको डिलबाट उँधो हेर्छु म । चारै कान्लामुनि छ पहाडी राजमार्गको यो बाटो । बाटोको किनारामा बनेको छ लामो घर । चार तला अग्लो छ । चारै परिवार बस्छन् यो घरमा । दुई परिवारले थापेका छन् पसल । चलाएका छन् होटल । ठीक त्यही घरको अगाडि हो ‘गाडी स्टैण्ड’ । हिउँदभर, ड्राइभर-खलासीहरुले खाना खाने ठाउँ हुन् ती होटल । घुइँचो नै लाग्छ कहिलेकहीँत । गाउँका किशोरहरु क्यारेम बोर्डमा झुत्तिन्छन् जहिल्यै । बाजी खेल्छन् लुँडोमा । तिनले फसफसी चुरोट तानेको सुहाउँदैन तर खै गर्ने कसले ? तिनको एकोहोरोपनासँग कसको आँट र ? नै छोरोले तान्दो हो । सोध्छु कहिलेकहीतिनले गाँजा तान्छन् अरे ! यी ‘अरे’का कुरा हुन् । आँ । अहिलेका केटाकेटीलाई बोलाइसक्नु भए पो । मानौं कि उनीहरुचाहिँ हाम्रा अभिभावक हुन् । उल्टै सम्झाएझैँ गर्छन्- फस्नु होला तपाईंचाहिँ । होला त नि । विश्वास गर्नै पर्‍यो क्यारे !

आखिर गाँजाचाहिँ ल्याउँछ कल्ले ? ‘ल्याउँछन् नि गाडीवालाहरुले,’ धौले कान्छोको सहज उत्तरमा हुन्छ गाडीप्रतिको रोष ।

अहो ! बाटोले ल्याएछ विकृति । चिन्ता त लागिहाल्छ ।
गाउँको पल्लो कुनाबाट यहाँ आएका हुन् ती होटले परिवार । उहाँ जग्गा-जमीन र खेतीपाति छ उनीहरुको । तर, हिउँदभर भियाइसक्नु हुँदैन पसलमै । उताको काम चम्पटै भइहाल्ने भयो । यतै पनि खत्तम । पसल्नी बोजूकी नातिनी छिन् उर्मिला । (नाम परिवर्तन गरिदिएको छु यहाँ ।) उनी गाउँको स्कूलबाट एसएलसी टपर हुन् । उनी यहीँबाट धाउँछिन् ‘प्लस टु’ । दिनभर प्लस टु, बेलुका-बिहान त होटलको काममा व्यस्त भइहाल्नुपर्‍यो । आउनेजाने ड्राइभर-खलासी अनि अरुअरुसँग झर्किनुभएन, हाँसीखुशी नै बोलिदिनुपर्‍यो । नत्र कसरी चल्छ व्यापार ? ड्राइभर-खलासी हुन्छन् उस्तै जिस्कन नजान्ने । छिल्लिँदै जिस्काउन भियाइहाल्छन् । रिसाइदिनुभएन बाटो रुँगेर बसेपछिन् । तर, त्यसलाई ‘अर्कै’ अर्थमा बुझिदिन्छन् मोराहरु । यसो गर्दागर्दै बितिरहेको हुन्छ । कहिले हो दिएको एघार कक्षाको परीक्षा ? ख्यालै नगरेको वेला पो ‘रिजल्ट’ आउँछ । दुईदुई विषयमा ‘फेल’ । अनि छाँगाबाट खसेझैँ हुन्छिन् उनी । अनि सुरु हुन्छ तिनको आँखाभरि आँसु । भन्न थाल्छिन् बोजूलाई, ‘दुनियाँभरिको जूठो थाल मझाएर मेरो पढाइ नै बिगारिदियौ ।’

कठै ! तिनको स्वीकारोक्तिले भन्छ अर्को विकृति । वातावरणले त्यसो भन्न बाध्य पार्‍यो त तिनलाई ।
दिल्पामा दुईवटा गाविस छन् अन्नपूर्ण र नागी । धौले कान्छो र म छिमेकी हौं तर हाम्रो गाविस भने फरकफरक हो । ऊ अन्नपूर्णको, म नागीको । एउटा खोल्साले छुट्टाइदिएको छ हामीलाई तर अर्मपर्म, सारनतारनले हामीलाई छुट्टाउन सक्ने कुरै रहँदैन । उसमाथि ‘भूमण्डलीकरण’ नामको हतासोले जाँतोरुपी विश्वलाई नै घुमाएर ‘दुनियाँ एक सानो गाउँ’ बनाइदिएको वेला जाबो एउटा ‘खोल्सो’को सिमानाले छुट्टाउने कुन तागत र ? हामी एकाघर छँदा छौं उहिल्यैदेखिन् ।

तल अन्नपूर्णमा- मसिनी काकी छिन् मलाई असाध्यै माया गर्ने । (उनलाई पनि नाम परिवर्तन गरिदिएको छु ।) उनी सधैंजसो नै मेरो घरमा आउजाउ गरिरहन्छिन् । खरखेताला हुन् उनी । कोदो रोप्न आएकी छिन् । उनका तीनजना छोरीहरु । छोरो छैन, नभएको । तीनवटीलाई नै मैले सावाँ अक्षर सिकाएको हुँ । तिनका बारे म सोध्छु ।
काकी मलिन हुन्छिन् । बोल्दिनन् केही ।
pherido-saundaryaधौले कान्छो न पर्‍यो । कसलाई कहाँनेर दुख्छ भन्ने ख्यालै गर्दैन प्रायः । पछि मात्रै पछुताउँछ । प्याच्चै भनिहाल्छ- ‘ठूलीलाई त कुटुम्ब देको । घर गरी खाकै छ । माइली र कान्छी पो टरक्का झ्याप्लेहर्ले भगाको । पत्तो नाइ… !’
म काकीको अनुहारमा हेर्छु । अघि नै काकीका आँखाहरु रसाइसकेका हुन्छन् । हिउँदभर बुङ्बुङ्ती धुलोको सडकमाथि मानूँ न झरी पर्छ हठात्मै । हठात्मै बाटो हिलाम्य हुन्छ । जस्तो कि अहिले बर्खामा हिलाम्य छ तीन कान्लामुनिको त्यो बाटो । म हतारै कान्छोलाई अरु नबोल्न सङ्केत गर्छु । हो, नबोल्ने पनि त बनाइदिएको र छ नि यही बाटोले हामीलाई ।

नो आँखामा सारेर सोचिरहेको छु- यही बाटो, यो कहिले कालोपत्रे हुन्छ होलाहो, बाटो आइपुगेको यो गाउँमा हिउँदभर ट्याक्टर, ट्रक, मिनिट्रक र मिनि बसहरु गुड्छन् । तिनले सस्तैमा पाउने बनाएका छन् मालसामान । सस्तो भएका छन् धेरै कुरा । तिनको कर्कश ‘हर्न’, धूलो-धुवाँ र तेजिलो ‘हेड लाइट’, ती सबैलाई बिर्साइदिन्छ सुविधाले । सहिदिएका छन् गाउँलेहरुले । तर, म यतिवेला मसिनी काकीको आँखाबाट रसिएको आँसुलाई आ ? कहिले फर्केलान् माइली र कान्छी काकीको आँखा पुछ्न चिल्लो बाटो भएर ? उर्मिलाको आँसुलाई कसले पुछिदिने होला ? अनि ती गाँजा तान्दै क्यारेमबोर्डमा, लुँडोमा रल्लिरहेका किशोरहरुलाई चिल्लो सडकबाटै बस चढाएर ‘रियाप सेन्टर’तिर कहिले पठाउनुपर्ने होला ?
धौले कान्छा, यति पीडा सिकाइस् यो साल तैंले, बर्खामा गाउँ र्फकन कर गरेर । धन्यवाद भन्छु म ।
मेरो जिन्दगीको असल प्राप्ति नै ठानेको छु मैले यसलाई ।

(शुक्रबार सार्वजनिक भएको मुकारुङको निवन्ध संग्रह ‘फेरिँदो सौन्दर्य’बाट साभार । पुस्तकमा रहेको ‘बाटो आइपुगेको गाउँबाट’ शीर्षकको निबन्धलाई यहाँ शीर्षक परिवर्तन गरिएको हो- सं )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment