Comments Add Comment

थाहा पाइराख्नुहोस् : कुन सर्प कति विषालु ?

-कमल मादेन/कुलप्रसाद लिम्बु

सिन्धुलीको कमला खोंचमा विषालु सर्प प्रशस्त पाइन्छ । त्यहाँ सर्पदंशका घटना पनि उत्तिकै छन् । कमला खोंचअन्तर्गत दुधौली, लदाभिर र टाँडी गाविसमा गत वर्ष ९ जनाको मृत्यु सर्पदंशबाट भयो । तिनीहरु सर्पदंश उपचार केन्द्रमा नआई मरेका हुन् । यो वर्ष कति मरे, जानकारी छैन । यस वर्ष लदाभिर-४ निवासी चन्द्रबहादुर तामाङको सर्पदंश उपचार केन्द्र दुधौलीमा मृत्यु भएको छ ।

गत असार २८ गते राति हावाहुरीसहित पानी परेको थियो । चन्द्रबहादुर झुल नटाँगी भुइँमा सुतेका थिए । राति साढे ८ बजेको हुँदो हो, उननलाई करेत सर्पले सुतिरहेको अवस्थामा टोक्यो । आफन्तजनले दूधौली सर्पदंश उपचार केन्द्रमा रातको ११ बजे पुर्‍याए । तिनका आँखाका ढक्कनले काम गरिरहेका थिएनन् । घाँटी समायो, समायो भन्दै अष्पस्ट बोल्दै थिए । जिउ गल्यो, ….गल्यो पनि भनिरहेका थिए । हुन्डरीका कारण उपचार केन्द्रमा बिजुली बत्ति थिएन । स्वास्थ्यकर्मीले ३२ वटा एन्टी स्नेकभेनम चढाए । सुधारको कुनै संकेत देखिएन ।

चन्द्रबहादुरलाई कालो करेतले टोकेको बताइएको थियो । स्वास्थ्यकर्मी रेवतबहादुर बस्नेतले चन्द्रबहादुरलाई उपचार शुरु गरेको केही छिनपछि नै भेन्टिलेटर सर्पोट भएको अस्पताल धरान वा बिराटनगर लैजान रेफर गरेका थिए । रेवतका अनुसार बिरामीका आफन्त पैसा लिन गए । तर, फर्केर आएनन् । बिरामीेको ५ घण्टा पछि उपचारकै क्रममा दुधौली केन्द्रमै मृत्यु भयो ।

१.  सानो कालो करेत (तस्वीरः कुलप्रसाद लिम्बु)   २.  ठूलो कालो करेत (तस्वीर साभारः एफ. टिलाक)
१. सानो कालो करेत (तस्वीरः कुलप्रसाद लिम्बु)                                                     २. ठूलो कालो करेत (तस्वीर साभारः एफ. टिलाक)

दुधौलीकै वडा नम्बर ३ अन्तर्गत बस्ने बर्ष २५ की गोमा न्यौपानेलाई असार-४ गतेे कालो करेतले टोकेको बताइएको थियो । कालो नै हो वा होइन, पुष्टि हुन सकेन । पीडितका अनुसार जंगलमा दिउँसो उननको खुट्टामा कालो करेत बेरिएको थियो । तिनलाई दुधौली उपचार केन्द्रमै लगियो । ४०/४५ वटा एन्टी स्नेकभेनम चढाउँदा विषेक भएन ।

स्वास्थ्यकर्मी रेवतले बिरामीलाई बीपी अस्पताल धरान रेफर गरे । एम्बुलेन्समा स्नेक एन्टिभेनम लगाउँदै लगियो । धरान पुग्दा ५२ वटा एन्टि स्नेकभेनम चढाइसकिएको थियो । न्यौपानेलाई धरानमा थप १४ वटा एन्टी स्नेकभेनम लगाइयो । न्यौपाने बाँचिन् । रेवतका अनुसार भेन्टिलेटरको सपोर्टमा जुनसुकै करेतले टोकेको बिरामी बच्ने संभावना सक्छ । तर, स्नेक एन्टिभेनम बढी लगाउनुपर्छ ।

विषालु सर्पले टोकेको बिरामीलाई ८/१० वटा एन्टी स्नेकभेनम चढाउँदा सुधारको लक्षण देखा पर्छ । सिरियस छ भने शुरुमा २ वटा जति एन्टी स्नेकभेनम सोझै नशामा लगाइन्छ । त्यो स्लाइन पानीमा नमिसाई लगाइन्छ । त्यसबाट पीडितलाई अलिकति बिसेक भएन भने त्यो सिरियस केस मानिन्छ । चन्द्रबहादुरको केस सिरियस थियो । एन्टी स्नेकभेनम २ वटा सोझै नशाबाट लगाइएको थियो ।

जर्मनका सर्प बिशेषज्ञ डा. उल्रीच कुचले बिरामीको शरीरमा सर्पको विष छ, छैन चेक गर्ने र्‍यापिड टेष्टिङ किड २ बर्ष अघि बनाएका छन् । बिरामीको रगत त्यो टेष्टिङ किडमा राख्दा २० मिनटभित्र त्यसले परिणाम दिन्छ । महिलाको मुत्र टेष्ट गरेर गर्भ बसे नबसेको परीक्षण जस्तै त्यसबाट रगतमा विष छ, छैन पत्ता लाग्छ । तर, त्यो टेष्टिङ किड रसेल भाइपर सर्पको विष मात्र परीक्षण गर्न बनेको हो ।

करेतका प्रकारः करेत सर्प विभिन्न रुपरंग र आकारका हुन्छन् । नेपालमा करेतका ६ प्रजाति पाइने तथ्य सूचीकृत छ । तीसबै करेतका प्रजातिहरु झण्डैझण्डै उस्तै हुन्छन् । तीमध्ये पनि २ प्रजाति कालो हुन्छन् । कुच उल्रीच र एस.के. शर्मा (सन् २०११) को लेखमा जनाइए अनुसार एन्टी स्नेकभेनम सानो कालो करेतले टोकेको बिरामीका लागि लाभदायक हुँदैन । ठूलो ठूलो कालो करेत -बुङगारस नाइजर) ले टोके के हुन्छ भन्ने अझै अन्योल नै छ ।

रेवतले विषालु सर्पले टोकेको बिरामी प्रतिबर्ष १२/ १५ जना उपचार गर्छन् । दुधौलीमा सर्पले टोकेको बर्षभरि एक- सवा सय जति बिरामी पुग्छन् । तीमध्ये विषालु सर्पले टोकेको १०/१५ प्रतिशत मात्रै हुन्छन् । विषालु सर्पले टोकेको हो भने विषको लक्षण १०/१५ मिनेटदेखि २४ घण्टाभित्र देखिन्छ । विषको असर देख्नथाले पछि एन्टी स्नेकभेनम दिन शुरु गरिन्छ । जब असर देखा पर्छ, त्यसबेलासम्म विषले शरीरभित्रका अंगहरुमा असर पुर्‍याइसकेको हुन्छ ।

कमन करेत  कमन करेत(बुङगारस सेरुलेस)को रंग गाढा खैरो कालो कालो हुन्छ । शरीरमा सेता चुराजस्ता देखिने धर्साहरु हुन्छन् । त्यो सर्पलाई गाउँघरमा सेतो-कालो चुरे सर्प, गडाइँच र चुरे सर्प भनिन्छ । सामान्यतया त्यो सर्पले टोक्दा पेट दुख्ने, टाउको दुख्ने, शरिर काम्ने हुन्छ । आँखाको ढकनी लोलाउने र अनुहारका अन्य मांशपेशीमा पक्षघात शुरु हुन्छ । त्यो क्रम बढ्दै गई अन्तमा श्वास-प्रश्वास प्रणाली पक्षघात भई बिरामीको मृत्यु १२ देखि २४ घण्टाभित्र हुन्छ ।

३. कलिलो कमन करेत , ४. कमन करेत (तस्वीरः कुलप्रसाद लिम्बु)
३. कलिलो कमन करेत                                                                     ४. कमन करेत (तस्वीरः कुलप्रसाद लिम्बु)

झापामा कालो करेत : कुच उल्रीच र एस.के. शर्माकै लेख (सन २०११) अनुसार कालो करेतले नेपालमा टोकेको अभिलेख एउटा मात्र छ । करिब १ दशकअघि झापा बेलडागी १ शरणार्थी क्याम्पमा २२ बर्षीया एक शरणार्थी महिलालाई कालो करेतले टोकेको थियो । लेखमा उल्लेख भएअनुसार साँझ ८.२० मा कपाल कोरेर सिरानी मुनि काइँयो राख्न लाग्दा उनलाई चोर औंलामा करेतले टोक्योे । सर्प सिरानीमुनि थियो । तिनले औंला चुसिन् र औंला बाँधियो । तत्काल लगियो स्वास्थ्य उपचौकी, त्यो ५ मिनटको दुरीमा थियो ।

बिरामीले औंलामा आगोले भतभती पोलेको जस्तो बताइन । त्यसैगरी भोक लाग्यो, तिर्खा लाग्यो भनेर बर्बराइन् । तिनले धेरैपल्ट पानी पानी भनेर चिच्याइन् । स्वास्थ्य चौकीबाट ३० मिनटमै सर्पदंश केन्द्र थियो । उनलाई त्यहाँ लगियो ।

उनले अझ सारा शरीर भत्भती पोलिरहेको बताइन् । २ घण्टाभित्र ४/५ चोटि बान्ता गरिन् । आँखाको ढक्कन लत्रियो । त्यसपछि बिरामीलाई बिहान २ बजे एन्टी स्नेकभेनम दिन शुरु गरियो । ८ घण्टासम्म लगातार एन्टी स्नेकभेनम दिइयो । अवस्था झन नाजुक भयो । कोशी अञ्चल अस्पतालतर्फ लगियो । बिरामीको बाटैमा मृत्यु भयो ।

घटनास्थलमा मृतकका परिवारले सिरानीमुनी लुकेको सर्प मारे । सर्पदंश उपचार केन्द्रले सर्प परीक्षणका लागि सुरक्षित राख्यो । विज्ञले परीक्षणबाट त्यो सानो कालो करेत भएको पहिचान गरे ।

गाउँघरमा कालो करेतलाई अक्सर कालो धामन भनिन्छ । कालो धामनले हत्तपत्त टोक्दैन । टोक्यो भने मान्छे बाँच्दैन भन्ने भनाइ छ । वास्तममै कालो करेतले टोक्दा बिरामी बच्ने सम्भावना कम हुन्छ । गोमनले टोकेकोमा बढीमा १५,२० वटा एन्टी स्नेकभेनम प्रयोग हुन्छ । करेतको केसमा ५० वटा जति एन्टी स्नेकभेनम चढाउने गरिन्छ । कालो करेत भए त्यस्को सीमै हुँदैन ।

हिमाली करेतः पहाडी भूभागमा पाइने हिमाली करेत (बुङगारस बुङगारोईड्स) पनि उत्तिकै खतरनाक मानिन्छ । त्यो सर्पको शरीर र पुच्छर टकलदार कालो, खैरो-कालो वा फुस्रो रङको हुन्छ । शरीरभरि सेतो वा पहेंलो रङको साघुँरा घेरा अर्थात चुराहरु हुन्छन् । वयस्क सर्पमा ती घेराहरु अस्पष्ट हुन्छन् । त्यो सर्प दिनमा सक्रिय हुन्छ । त्यो सर्पको रुप रंग कमन करेतसँग मिल्दोजुल्दो हुन्छ । तर अत्यन्त बिरलै पाइन्छ । त्यो सर्पले टोके बिरामीको चाँडै मृत्यु हुन सक्छ ।

५. हिमाली करेत सर्प -तस्वीर साभारः ए. मन्डे्रकर) ६. रिसाहा करेत सर्प -तस्वीर साभारः पि. प्रधान )
५. हिमाली करेत सर्प (तस्वीर साभारः ए. मन्डे्रकर)                 ६. रिसाहा करेत सर्प (तस्वीर साभारः पि. प्रधान )

रिसाहा करेत : नेपालको दक्षिण पूर्वी तराईमा कमन करेत रुप, रंग र विषको लक्षण भएको अर्को एक करेत प्रजातिले प्रशस्त टोक्ने गरेको छ । त्यो करेत र कमन करेतवीच फरक छुट्याउन विज्ञलाई पनि हम्मेहम्मे पर्छ । फरक शरीरको मध्यभागमा १७ कत्लाका लहरहरु हुन्छ । बिरलैमा १९ कत्लाका लहरहरु हुन्छन् । कमन करेतको शरीरको मध्यभागमा मात्र १५ वटा कत्लाका लहरहरु हुन्छन् । कमन करेतमा चुराको आकार केही ठूलो हुन्छ । स्थानीय बासिन्दाले त्यो करेतलाई गडाइँच (बङगारस वाली) भनेर चिन्छन् । त्यो पनि रातमा सक्रिय हुन्छ । कमन करेतभन्दा बढी आक्रामक हुन्छ ।

गनग्वारी : नेपालमा पाइने छैटौं करेत प्रजाति ब्यान्डेड करेत (बुङगारस फस्यीटस) हो । तराईमा उक्त करेतलाई गनग्वारी भनेर चिनिन्छ । त्यो पनि रातमा सक्रिय हुन्छ । त्यसले अक्सर सर्प नै खान्छ । मानिसले त्यसलाई किल्चे मात्र टोक्छ । अन्यथा टोक्दैन । वयस्क गनग्वारीको शरीर कालो र त्यसमा पहेंलो बेल्टहरु हन्छन् । कलिलो उमेरमा भने यो सेतो वा नौनी रंगको हुन्छ । त्यसको बिष कमन करेतजस्तै हुन्छ ।

करेतजस्तै अर्को सर्प : गाउँघरमा अक्सर झुक्किर अर्को एक सर्पलाई करेत भन्ने गरिन्छ । त्यो सर्प झलक्क हेर्दा कमन करेत जस्तै हुन्छ । त्यो सर्प पनि रातमा सक्रिय हुन्छ । त्यो सर्पलाई कमन उल्फ स्नेक भनिन्छ । त्यो सर्पमा विष हुँदैन ।

स्वास्थ्यकर्मी र भेन्टिलेटरः अस्पताल र सर्पदंश उपचार केन्द्रहरुमा तालिमप्राप्त चिकित्सक अभाव छ । चिकित्सकहरु कुन सर्पले टोकेको हो छुट्यान सक्ने बिरलै छन् । अस्पताल बाहेक सर्पदंश उपचार केन्द्रमा पनि उपचार हुन्छ । तर, संख्या न्युन छ । सर्पदंश उपचार केन्द्र संख्या बढाउनुआवश्यक छ । सर्पदंश केन्द्रमा दक्ष जनशक्तिको कमी छ ।

७. गनग्वारी सर्प  ८. कमन उल्फ स्नेक (तस्वीरः डब्लु. वुष्टर)
७. गनग्वारी सर्प                                                                                  ८. कमन उल्फ स्नेक (तस्वीरः डब्लु. वुष्टर)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment