Comments Add Comment

कांग्रेसका भातृ संगठन देउवा पक्षको कब्जामा

Sushil-and-Sherbahadur२५ भदौ, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैधानिकता सकित एक सातामात्रै बाँकी रहँदा शेरबहादुर देउवा पक्षले आगामी १३ औं महाधिवेशनका लागि आफ्नो अवस्था मजबुत बनाएको छ । पार्टीका अधिकांश भातृ संगठनहरु देउवा पक्षले आफ्नो पकडमा ल्याइसकेको छ ।

क्रियाशील सदस्यतासम्बन्धी विवरण बुझाउन जिल्ला कार्य समितिहरुलाई दिएको म्यादभित्रै आफ्नो शक्ति बलियो बनाउने गरी जिल्लाबाट विवरण मगाउन देउवा पक्षले नेताहरु परिचालन गरेको छ ।

कांग्रेसका ७५ जिल्ला सभापतिमध्ये देउवा पक्षका बढी छन् । क्रियाशील सदस्यता नवीकरण र नयाँ सदस्यको फारम जिल्लाले केन्द्रमा पठाउने म्याद भदौ मसान्तसम्म दिइएको छ ।

तर, केन्द्रीय कार्य समितिको अवधि एक वर्ष थपिने सम्भावना रहेकाले क्रियाशील सदस्यता फारमको म्याद पनि थपिने सम्भावना रहेको एक नेताले बताए ।

पार्टीमा ५५ प्रतिशत र ४५ प्रतिशतको शक्ति सन्तुलनमा रहेको देउवा पक्षले आगामी महाधिवेशनलाई लक्षित गरेर आफ्ना गतिविधि अघि बढाएको हो ।

भातृ संगठनहरु धमाधम कब्जा

पार्टीको शक्ति सन्तुलनमा असर पार्ने भातृ संगठनहरुमा धमाधम देउवा पक्षले कब्जा जमाउन थालेपछि संस्थापन पक्ष रक्षात्मक बनेको ती नेताले बताए ।

अहिलेसम्म अधिवेशन भएका सबै भातृ संगठनहरुमा देउवा पक्षधरले पकड जमाएको सभासद तथा युवा नेता रामहरी खतिवडाले बताए ।

MIN-BK-DIKA-SHARMA-KHILANATH-BADRI

सबैभन्दा पछिल्लोपटक भएको प्रेस युनियनको महाधिवेशनबाट देउवा पक्षधर बद्री सिग्देलले कोइराला पक्षधर शिव लम्साललाई भारी मतले हराएपछि देउवा पक्ष थप उत्साहित भएको छ ।

देउवा पक्षका एक नेताले भने- ‘भातृ संगठनहरुमा हाम्रो सबैभन्दा कमजोर अवस्था भनेकै प्रेस युनियन, शिक्षक संघ र वकिलहरुमा हो, ती संगठनमा पनि हाम्रो बर्चश्व भइसकेको छ ।

कांग्रेस पार्टी विभाजनका बेला सबै भातृ संगठनहरु बिभाजित भए पनि प्रेस युनियन र नेपाल शिक्षक संघ बिभाजन भएका थिएनन् । त्यहाँ देउवा पक्ष कमजोर थियो ।

अधिवेशन भएका भातृ संगठनहरुमध्ये नेपाल ट्रेड युनियन कांग्रेसमा कोइराला पक्षको दुई दशक लामो पकड भत्काउँदै देउवा पक्षले बिजय हासिल गरेको छ । त्यसको अध्यक्षमा देउवा पक्षका खिलानाथ दाहाल निर्वाचित भएका छन् ।

त्यस्तै शिक्षक संघमा देउवा पक्षका केशव निरौला निर्वाचित भएका छन् । दलित संघमा पनि देउवा पक्षधर नेता मीन विश्वकर्माले जितेका छन् ।

पेशागत छाता संगठनमा समेत देउवा पक्षले संस्थापन पक्षका उम्मेदवारको बागी बनेर आफ्ना उम्मेदवारलाई जिताएको छ । नेपाल चिकित्सक संघका अञ्जनकुमार झा र इन्जिनियर एशोसियनका अध्यक्ष धु्रव थापा देउवा पक्षधर हुन् ।

डेमोक्रेटिक लयर्स एशोसियशनमा कोइराला पक्षले एकलौटी गरेको भन्दै देउवा पक्षले अलग्गै विशेष महाधिवेशन गरेर आफ्नो अलग कार्य समिति गठन गरेको छ । त्यसलाई देउवाले उद्घाटन गरेको भन्दै कोइरालाले आपत्ति जनाइसकेका छन् ।

अब हुन लागेको नेपाल विद्यार्थी संघको महाधिवेशनमा आफ्ना उम्मेदवारलाई जिताउन देउवा पक्षले अध्यक्षका आकांक्षीहरुलाई राखेर छलफल चलाइसकेको छ । देउवा पक्षले नेवि संघको अध्यक्षमा शुभराम बस्नेतलाई अगाडि सार्न लागेको छ ।

तरुण दलको महाधिवेशन तोकिसकेको अवस्थामा अहिलेको बर्चश्व गुम्न नदिने अध्यक्ष उदयशमसेर राणाले बताए । राणा देउवा पक्षका हुन् ।

महिला संघको नेतृत्व पनि देउवा पक्षकै डा. डिला संग्रौलाले गरिरहेकी छन् । संघमा आफ्नो पकड राख्न देउवा पक्षले चाहेको छ ।

‘अब हुने भातृ संगठनका महाधिवेशनमा आफ्नो पक्षको बर्चश्व कायम गर्न सबै शक्ति लगाउने निर्णय भएको छ’ देउवानिकट एक केन्द्रीय सदस्यले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment