Comments Add Comment

दशैंमा घर जान राति २ बजेदेखि बसपार्कमा लाइन (फोटो फिचरसहित)

new buspark (1)नविन अर्याल

२५ भदौ, काठमाडौं । दशैं मनाउन गाऊँ र्फकनेहरुका लागि बुधबारदेखि बसको टिकट बुकिङ खुलेको छ ।  टिकट खुलेकै दिन राजधानीका बसपार्क र अन्य टिकट काउन्टरहरुमा हजारौंं सर्वसाधारणको लाइन देखियो ।

बुधबार बिहानबाट टिकट बुकिङ खुलेकोमा टिकट नपाउने डरले उनीहरु उज्यालो हुनुअघि राति २ बजेदेखि नै बसपार्कको टिकट काउन्टर अगाडि पुगेर लाइनमा बसिसकेका थिए ।

अनलाइनखबरकर्मी बिहान ४ बजे गोंगबुस्थित बसपार्कमा पुग्दा टिकट बुक गर्नेहरुको भीड लागिसकेको थियो । बुकिङ सवा ६ बजेदेखि सुरु भए पनि टिकट नपाइने डरले रातिदेखि नै लाइन लाग्न बाध्य भएको उनीहरुको गुनासो थियो । ‘रातिदेखि नै लाइन लागेर टिकट नलिए भनेको सीट पाइँदैन, त्यही भएर साढे ४ बजेदेखि लाइनमा छु’ झापा बाहुनडाँगीकी हेममाया खत्रीले अनलाइनखबरसँग भनिन- ‘सबेरै आएर लाइन लागे पनि धेरै पछाडि परेँ ।’

बसपार्कमा अधिकांश कम्पनीहरुले आजदेखि टिकट बुकिङ सुरु गरेका छन् । एकाध गन्तव्यमा बाहेक सबै गन्तव्यको टिकटका लागि लामो लाइन छ ।  अन्य समयमा भन्दा दशैंका बेला घर फर्किनेहरु अत्यधीक धेरै हुने गर्छन् । प्रत्येक दशैंकमा कम्तिमा १२ देखि बढीमा २० लाख मान्छेले काठमाडौं छाड्छन् ।

new buspark (2)

१६ लाख यात्रु बाहिरिँदै

अध्ययन तथा जागिरका सिलसिलामा राजधानीमा रहेको ठूलो जमात एकैपटक घर फर्किंदा यातायात व्यवस्थापनमा समस्या पर्ने गर्छ । सरकार तथा व्यवसायीहरुले यसपटकको दशैंमा करिव १६ लाखले राजधानी छाड्ने आंकलन गरेका छन् ।

टिकट बुकिङ गर्न ४ बजे नै बसपार्क पुगेका गुल्मी सिमलटारीका अशोक अर्यालले विगतदेखि नै यसैगरी टिकट लिएको बताए । टिकट नपाएर दशैंमा घर जान नपाइएला कि भन्ने डरले समयमा टिकट बुकिङ गर्ने गरेको उनको भनाइ थियो ।

सरकार र व्यवसायीले पर्याप्त बसहरुको व्यवस्था गर्न नसक्दा हरेक वर्ष टिकटका लागि संघर्ष गर्नुपरेको सर्वसाधारणको गुनासो छ । व्यवसायीहरुले दशैंमा हुने भीडलाई मध्यनजर गरेर बसहरु थप्ने गर्छ । तर, पनि ती बस पर्याप्त छैनन् । ‘यात्रुहरुको भीड दशैंमा मात्र हुने गर्छ, अन्य बेलामा यात्रु पाउनसमेत गाह्रो हुन्छ’ टिकट काउन्टरका रामबहादुर कार्कीले भने- ‘दशैं तिहारको भीडलाई हेरेर मात्र गाडीहरु धेरै हाल्न सकिँदैन ।’

कतै रमाइलो, कतै झण्झट

यातायात व्यवसायीले जनताको सुविधा भन्दा पनि यही मौकामा कमाउने ध्याउन्न पालेको आरोप लाग्ने गरेको छ । टिकट बुकिङ गर्न आउनेहरु १२/१५ वर्षका युवादेखि ७०/७५ वर्षका वृद्धवृद्धासम्म भेटिएका छन् ।

new buspark (3)

सर्लाहीका लागि टिकट बुकिङ गर्न बसपार्क पुगेका रामेश्वर यादव राति २ बजे ललितपुरस्थित डेराबाट निस्किएका थिए । विगतका वर्षदेखि नै यसैगरी टिकट बुकिङ गर्दै आएको उनले सम्झिए । कतिपय युवाहरुले वर्षको एकपटक यसरी टिकट काट्दा रमाइलो हुने गरेको बताए भने कतिपयले झन्झट लागेको बताए ।

प्रहरीको छड्के

सरकार तथा व्यवसायीहरुले टिकट बुकिङ सहज गराउन प्रयासरत देखिन्थे । टिकट बुकिङ चलिरहेकै बेलामा विहान छड्के अनुगमनमा पुगेका ट्राफिक प्रहरी महाशाखाका प्रमुख केशव अधिकारीले यात्रुहरुलाई सहज रुपमा घर पठाउन आफुहरु प्रतिवद्ध रहेको बताए ।

‘पहिलो दिन भएर टिकट बुकिङ गर्न यात्रुहरुको ठूलो भिड लागेको हो, दुई/तीन दिनमा भिड घटिहाल्छ’ अधिकारीले भने- ‘पर्याप्त बसहरु थपेर यात्रालाई सहज बनाउन सरकार र व्यवसायी लागिपरेका छन् ।’

new buspark (26)

कडा अनुगमन

दशैंको बेलामा टिकट बुकिङमा अनियमितता गरेको पनि गुनासो सुनिन्छ । यसलाई मध्यनजर गर्दै यातायात व्यवस्था विभागले ३ तहको अनुगमन प्रणाली लागु गरेको छ ।  पहिलो टिकट बुकिङ हुने स्थानहरुमा १० वटा नागरिक सहायता कक्ष राखिएको छ भने दोस्रोमा सुपर भाइजरका रुपमा अनुगमन टोलीले निरिक्षण गरिरहेका छन् ।

तेस्रोमा यातायात व्यवसायी, उपभोक्ता मञ्चका प्रतिनिधि र वाणिज्य विभागका प्रतिनिधि सम्मिलित संयुक्त अनुगमन टोली काउन्टरमा टाइएको छ ।

अनलाइन बुकिङ चाहियो

new buspark (4)

टकट बुकिङ गर्न पुगेका कतिपय यात्रुहरुले अहिलेको डिजिटल जमानामा अनलाइन बुकिङ सिष्टम हुनुपर्ने बताएका छन् । ‘विश्व कहाँबाट कहाँ पुगिसक्यो, यहाँ घर जानका लागि पनि रातभर लाइन लागेर टिकट काट्नुपर्छ’ यात्रु भिष्म पन्थीले भने-‘अब यातायात व्यवसायीहरु इन्टरनेट प्रणालीमा गएर यात्रुलाई घरबाटै टिकट काट्न पाउने व्यवस्था गर्नुपर्छ ।’

new buspark (13)

new buspark (27)

new buspark (10)

new buspark (14)

new buspark (18)

new buspark (22)

new buspark (30)तस्वीरः श्रीधर पाैडेल/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment