Comments Add Comment

नेविसंघको अध्यक्ष बन्न बुढा नेता मैदानमा

nebisang

२६ भदौ, काठमाडौं । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको सातौ पटक स्थगित भएको ११ औं महाधिवेशन भदौ २९ देखि शुरु हुने भएपछि नेतृत्वमा पुग्न विद्यार्थी नेताहरुले लबिङ तीब्र बनाएका छन् ।

काठमाडौंमा हुने नेविसंघको महाधिवेशन ८ वर्षपछि पहिलो पटक आयोजना भएकाले अध्यक्षका आकांक्षीहरु करिब एक दर्जन देखिएका छन् ।

नेपाली कांग्रेस र नेपाली कांग्रेस प्रजातान्त्रिकबीच पार्टी एकीकरण भएपछि नेविसंघको महाधवेशन हुन सकेको छैन ।
अध्यक्षका दावेदारहरु अधिकांश उमेरले ४० काटिसकेका छन् । विद्यार्थी नेता हुनलाई उमेर हद नतोकिएका कारण बुढा नेताहरु पनि विद्यार्थीको अध्यक्ष बन्न कस्सिएका हुन् ।

अध्यक्षमा को को ?

पार्टीमा सुशील कोइराला र शेरवहादुर देउवा पक्षबीच प्रतिस्पर्धा भए जस्तै नेविसंघमा पनि आ-आफ्नो बर्चश्व कायम गर्न दुवै गुटबीच प्रतिस्पर्धा छ ।

अध्यक्षमा कोइराला पक्ष र देउवा पक्षका विद्यार्थी नेताहरुबीच आफ्नै गुटमा समेत प्रतिस्पर्धा देखिएको छ ।
कोइराला पक्षबाट अध्यक्षको बलियो दावेवार पूर्व महामन्त्री मनोजमणी आचार्य देखिएका छन् । त्यस्तै क्षितिज भण्डारी, भीम श्रीष, कुन्दन काफ्ले, पदमराज पन्त र दिपक भट्टराईले कोइराला पक्षबाटै अध्यक्षमा दावी गरेका छन् ।

देउवा पक्षबाट पूर्व उपाध्यक्ष रत्न कार्कीलाई अध्यक्षको उम्मेदवार बनाउन नेताहरुले सहमतिको प्रयास थालेका छन् । देउवा पक्षकै नैनसिंह महर, जितजङ बस्नेतले पनि अध्यक्षमा दावी गरेका छन् ।

शिकारी पनि उम्मेदवार

केही महिनाअघिमात्र धादिङको एक सामुदायिक वनभित्र पसेर मृग मारेको अभियोगमा पक्राउ परी तारेखमा छुटेका शुभराम बस्नेतले पनि नेविसंघको अध्यक्षमा उम्मदेवारी दिने घोषणा गरेका छन् ।Shuvaram Basnet

शंकरदेव क्याम्पसका स्ववियु सभापति समेत रहेका बस्नेतले पुतलीसडकमा सवारी आवागमन नै रोकेर आफ्नो उम्मेदवारी घोषणा गरेको विद्यार्थीहरुले बताएका छन् ।

उनी केही महिनाअघि कलंकीबाट अवैध हतियारसहित पक्राउ परेर राजनीतिक दबाबमा छुटेका थिए । उनी पनि देउवा पक्षबाटै अध्यक्षको उम्मेदवारका दावेदार हुन् । बस्नेतले अध्यक्षमा अाफूले जित्ने दाबीसमेत गरेका छन् ।

देउवा पक्षभित्रै खुमवहादुर खड्काले अलग्गै उम्मेदवार बोकेका छन् । खड्का पक्षधर गणेश बिष्टले पनि अध्यक्षमा दावी गरेका छन् ।

महामन्त्रीमा महिला पनि

महामन्त्रीमा कोइराला पक्षबाट उर्मिला थपलियाले धेरै अघिनै उम्मेदवारी घोषणा गरेर देशव्यापी अभियान चलाइसकेकी छन् ।

महामन्त्रीमा संस्थापन पक्षबाट मनोजन कोइराला, रामप्रसाद अधिकारी, मोतिलाल भण्डारी, युवराज पाण्डे, नीलकण्ठ रिजाल लगायतले उम्मेदवारी घोषणा गरेका छन् ।

देउवा पक्षबाट महामन्त्रीमा सरोज थापा, राजिव ढुंगाना, दीपक सोनी लगायतको नाम चर्चामा छ । अध्यक्षको उम्मेदवारमध्येबाटै महामन्त्रीमा व्यवस्थापन गर्दा यी उम्मेदवारले अरु जिम्मा पाउने सम्भावना छ ।

पार्टी नेता खटिए
संस्थापन पक्षले उम्मेदवारहरुलाई मिलाउने जिम्मा महामन्त्री कृष्णप्रसाद सिटौला, दिलेन्द्र बडुसहित नेविसंघका पूर्वअध्यक्ष तथा महामन्त्रीहरुलाई दिएको छ ।

देउवा पक्षले प्रकाशशरण महत सहित पूर्व अध्यक्षहरुलाई उम्मेदवारहरुबीच सहमति गराउन जिम्मेवारी दिएको अध्यक्षका दावेदार रत्न कार्कीले बताए ।

भदौ २९ गते महाधिवेशन हुने भनिए पनि अहिलेसम्म चितवन, स्याङ्जा, रौतहट, बारा, मकवानपूर, धनुषा लगायतका जिल्लामा विवादका कारण अधिवेशन हुन सकेको छैन ।

त्यस्तै केन्द्रीय क्याम्पस किर्तिपुर, त्रिचन्द्र, बाल्मिकी, अमृत साइन्स, पद्मकन्या, नेपाल कमर्स क्याम्पस मिनभवन लगायतका क्याम्पसको पनि अधिवेशन भएको छैन ।

अधिवेशन कुनै पनि हालतमा स्थगित नहुने र स्थगित भएमा मान्य नहुने अध्यक्षका अर्का उम्मेदवार मनोजनमणि आचार्यले बताए ।

नेविसंघ महाधिवेशनले अध्यक्ष, पाँच उपाध्यक्ष, दुई महामन्त्री, पाँच सहमहामन्त्री, एक कोषाध्यक्ष सहित १ सय १ सदस्यीय केन्द्रीय कार्य समिति चयन गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment