Comments Add Comment

नेपालका तस्करले बेचे, मलेसियाका भगवानले बचाए

bilas-rai2

रामचन्द्र नेपाल

२९ भदौ, मलेसिया । भनिन्छ अपराधको कुनै देश वा सीमाना हुँदैन । तर, प्रेम र मानवताको पनि कुनै सीमाना हुँदैन रहेछ भन्ने कुरा उदयपुरको बसाहा गाविस वडा नं २ का विलास राईले मलेसिया पसेको २० महिनापछि अनुभूति गरेका छन् ।

मेनपावर खोलेर बसेका आफ्नै नेपाली मानव तस्कर एवं दलालबाट ठगिएर मलेसियामा अलपत्र परेका राईले यतिबेला भगवानको जस्तो प्रेम र माया भएको मलेसियन नभेटेको भए उनी यतिबेला यो धर्ती छाडेर स्वर्गमा पुगिसकेका हुने थिए । तर, उनले यतिबेला पुनर्जीवन पाएजस्तै भएको छ ।

मलेसिया आउँदा विलास राईको एउटा सपना थियो, आफु विदेश आए पनि सन्ततीहरुलाई विदेशमा कामका लागि नपठाउने । तर, श्रीमतीलाई मलेसिया बोलाएलगत्तै उनले झण्डै संसारै छाड्नुपर्‍यो ।

bilas-rai-3जेठो छोरो भएकाले नेपालमा परिवार सम्हाल्ने जिम्मेवारी पनि उनैको छ । भाइहरु सानै छन् । उनीहरुलाई हेर्नु छ । बुबाआमा र हुर्कंदै गरेको पाँच वर्षको छोरो र तीन वर्षकी छोरीको पनि जिम्मेवारी उनैको काँधमा छ ।

यताउति ऋण गरेर विलासले नेपालमा रहेको मेनपावरलाई १ लाख ४० हजार बुझाए । मीठो सपना बुनेर उनी मलेसिया त आइपुगे, तर मेन पावरले भनेको कम्पनी नै रहेन छ यहाँ । झुटो कागजपत्र बनाएर उनलाई फसाइएको रहेछ ।

एजेण्टका भरमा उनी मलेसियाको मलक्का भन्ने ठाउँमा पुगे । १५ दिन कोठामा राखे पनि एजेण्टले काम दिलाउन सकेन । त्यहाँबाट सारेर उनलाई सुवाङको फर्निचर कम्पनीमा पुर्‍याइयो ।

त्यहाँ एक महिना काम गरेपछि एजेण्टले पोटकेलाङको वेष्टपोट भन्ने ठाउँमा पुर्‍यायो । काम यति गाह्रो थियो कि ठूला ठूला टायरहरुलाई कण्टेनरमा लोड अनलोड गर्नुपर्ने ।

काम कठिन भए पनि पैसा राम्रो भए त चित्त वुझाउन हुन्थ्यो । तर, खान पनि नपुग्ने भए पनि काम नै छाडेर अवैधानिक भएर काम गर्नुपर्ने भयो ।
अवैधानिक भएरै विलासले बातुकेभको श्रीतना मार्केटमा काम गर्न थाले । त्यहाँ केही महिना काम गरेपछि गाउँकै साथीभाइहरुसँग सम्पर्क भयो । त्यहाँबाट उनलाई गाउँलेहरुले केलाङको दाना कम्पनीमा पुर्‍याए ।

साथीभाइसँग काम गर्दा उनलाई केही रमाइलो भयो । कमाइ पनि रामै्र थियो । यही कम्पनीवाट काम गरेर उनले दुई लाख रुपैयाँ घरमा पठाए । त्यसपछि उनले श्रीमतीलाई पनि नेपालबाट पाँच महिना अघि मलेसिया झिकाए । उनकी पत्नी तीन वर्षको बच्चा छाडेर मलेसिया पसिन् ।

bilas-raiविलासले दाना कम्पनीमा काम गर्थे भने श्रीमती निलाईको वन्दरबारुमा रहेको टप ग्लोव कम्पनीमा काम गर्थिन् । दुबैले कमाई गर्न थालेपछि घरपरिवार पनि केही राम्रो बन्न थालेको थियो । तर, दैव लागेपछि कसैको पनि केही नलाग्दो रहेछ । जुन ४ तारिखका दिन विलासलाई दैव लाग्यो ।

विलास कम्पनीमा काम गरिरहेका थिए । काम पनि सजिलै थियो । बाहिर बजारमा बिक्री नभएका पाउरोटी दाना कम्पनीमा आउँथ्योे । त्यसलाई दाना बनाउनुपर्ने काम थियो । मेसिनको छेवैमा बसेर घान लगाउनुपथ्र्याे । कोदालो या भनौं हाते दाँतीजस्तोले घान लगाउनु पथ्र्याे, जुन काम उनले एक वर्षदेखि गर्दै आइरहेका थिए ।

त्यो दिन पनि उनी सोही काम गरिरहेका थिए । समय त्यस्तै साझँको ६ साढे ६ बजेको हुँदो अचानक उनको देब्रे खुट्टा चिप्लीएर घान लगाउने ठाउँमा पुग्यो । मेशिनले उनको दाहिने खुट्टा छियाछिया बनायो । उनी चिच्याए । त्यतिबेलासम्म दाहिने खुट्टा मेसिनभित्र पुगिसकेको थियो ।
बल्लतल्ल साथीभाइले थाहा पाएर मेशिन रोकिदिए ।उनलाई सवै मिलेर वाहिर निकाले । दुर्घटना भएको ठाउँमा रगतको आहल भएको थियो । करीब करीब एकघण्टाको अवधिमा उनलाई केलाङ अस्पताल पुर्‍याइयो । शरीरको रगत लगभग सकिइसकेको थियो ।

उपचार शुरु भयो । करीव २६ पोका रगत दिइयो । अझ पनि उनको होस भने जस्ताको त्यस्तै थियो । अस्पतालमा उपचार पश्चात उनको देब्रे खुट्टो तिघ्रा भन्दा माथिबाट काटियो । दाहिने खुट्टा लाई स्टिल हालेर काम चलाउ गर्न मिल्ने बनाउने प्रयास गरियो ।

अस्पतालमा उनलाई एकजना नर्सले घाइते अवस्थाको फोटो देखाउँदा उनी निकैबेर रोएका थिए ।

विलासलाई त्यतिबेला बाँच्छुजस्तो लागेको थिएन । तर, अब भने उनले हिम्मत जुटाएका छन् । अस्पतालमा वस्दा आफुभन्दा अझै पीडा बोकेका नेपालीहरुसँग भेट भएपछि उनलाई केही हौसला मिलेको छ । मलेसियामा बसेर टुटेका सपनालाई साकार बनाउने प्रण गर्दैछन् उनी । उनी भन्छन्- ‘साथ दिनुहोस्, म केही गर्न चाहान्छु ।

पतिको यस्तो खबर सुनेपछि मलेसियामै रहेकी श्रीमती मुर्छित भइन् । साथीहरुले अस्पताल पुर्‍याउँदा उनलाई सम्हाल्न निकै गाह्रो भो ।
यतिबेला उनी आफु आएको कम्पनीको काम छाडेर श्रीमानको हेरचाह गरेर बसिरहेकी छिन् ।

विलास राई तीन महिनाको अस्पतालको उपचार पछाडि सेक्टेम्वर ७ तारिखका दिन कम्पनीको होस्टलमा फर्किएका छन ।


भगवान जस्तै मालिक

यतिबेला उनलाई आफुले काम गरेको कम्पनीका मालिक भगवानजस्तै भएका छन् । अस्पतालमा लागेको सबै खर्च कम्पनी मालिकले व्यहोरेका छन् । पहिलो दिनमा मात्रै अस्पतालमा भर्ना हुँदा २० हजार रिंगेट डिपोजिट गरेको उनी बताउछन् । करीब-करीब ७० लाख रुपैयाँ जति कम्पनी मालिकले अस्पतालमा तिरिसकेको विलास बताउँछन् ।

मीठो सपना बुनेर उनी मलेसिया त आइपुगे, तर मेन पावरले भनेको कम्पनी नै रहेन छ यहाँ । झुटो कागजपत्र बनाएर फसाइएको रहेछ ।

‘तिमीले हाम्रो कम्पनीमा निकै मेहनत र इमानदारपूर्वक काम गरेका थियौ । तिमीहरुले काम गरेर नै हामी यो स्थानमा आएका हौं । म पनि मानव हुँ, तिमीलाई जति खर्च लाग्छ, म गर्न तयार छु ।’ कम्पनी मालिकले यस्तै भन्ने गरेको विलास बताउँछन् ।

सहयोगको खाँचो

अस्पतालबाट फर्केर आइतबारदेखि विलास आफ्नो होस्टलमा बसिरहेका छन् । यतिबेला भने उनलाई सहयोगको खाँचो परिरहेको छ । ‘मलाई सहयोगको खाँचो छ’ उनले अनलाइनखबरसँग भने- ‘म त अवैधानिक भएँ भएँ श्रीमतीलाई अवैधानिक कामदार बनाउन चाहदिँन । उनी मलाई स्याहार-सुसार गर्दा वैधानिक भएरै गरुन् उनको पासपोर्ट टप ग्लोबबाट झिकाउन मिल्दैन र ?’

प्रधानमन्त्री सुशील कोइराला क्यान्सरको उपचारका लागि न्युयोर्क धाउँदैछन् । राष्ट्रपति रामवरण यादवले १० जनाको जापानमा गएर पेटको सामान्य परीक्षण गर्दा ६० लाख सकियो । केपी ओलीदेखि भ्रष्टाचारमा मुछिएका गोविन्दराज जोशीले राष्ट्रको ढुकुटीबाट लाखौं रुपैयाँ उपचार खर्च लिए ।

तर, नेपाली जनताको नियति विलास राईको जस्तै छ । कति नेपालीहरु मलेसियाको अस्स्पतालमा र होस्टेलमा छटपटाइरहेका छन् । कैंयौं कफनहरु त्रिभुवन विमानस्थल उत्रिइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment