Comments Add Comment

आफ्नै पार्टीका सभासदसँग बामदेवको मुखामुख

bamdev-yograj
२९ भदौ, काठमाडौं । व्यवस्थापिका संसदको एउटा समितिको बैठकमा एमाले उपाध्यक्षसमेत रहेका गृहमन्त्री बामदेव गौतमले आइतवार आफ्नै पार्टीका सभासदसँग भनाभन गरेका छन् ।

प्राकृतिक प्रकोपबाट पीडितहरुको अवस्था र दशैंका बेला घर जाने यात्रुको सुरक्षा लगायतका विषयमा छलफल गर्न संसदको राज्य व्यवस्था समितिमा पुगेका गृहमन्त्री गौतमले आफ्नै पार्टीका सभासदको बिरोध सहनुपर्‍यो ।

राज्य व्यवस्था समितिले आफूलाई जानकारी नै नदिई बैठकमा बोलाएको र सोही समयमा क्याबिनेट कमिटीको बैठक रहेको भन्दै गौतम हिँड्न खोजेपछि एमाले सभासद यज्ञराज सुनुवारले बिरोध गरे ।

सुनुवारको प्रश्न थियो-‘गृमहमन्त्रीका लागि संसदीय समिति ठूलो हो कि क्याबिनेट समिति ? यहाँ जनताको जीवनको सवाल छ, उहाँको अनुकुलमा समितिले बैठक बोलाउने हो ?’

गृहमन्त्री गौतमले भने आफूलाई अकस्मात बोलाइएको भन्दै अबदेखि तयारीका साथ आउने गरी बैठकमा बोलाउन समितिका सभापति दिलबहादुर घर्तीलाई आग्रह गरेको समितिका सदस्य एवं एमाले सभासद विशाल भट्टराईले अनलाइनखबरलाई बताए ।

गृहमन्त्री उठेर हिँडेपछि दुई दिनपछि फेरि बोलाउने गरी बैठक टुंगिएको भट्टराईले जानकारी दिए ।

गृहमन्त्री हिँडेपछि पनि केही सभासदले प्राकृतिक विपत्तिमा परेका पीडितले राहत नपाएको भन्दै सरकारको आलोचना गरेका थिए ।

एमाले सभासद सुनुवारले भने उचित समयमा संसदीय समितिले सरकारलाई निर्देशन नदिने हो भने विपत्ति परेपछि गृहमन्त्रीलाई बोलाएर स्पष्टीकरण लिनुको औचित्य नहुने भन्दै आफूले ध्यानकर्षण गराएको प्रष्ट पारे ।

सुनुवारले अनलाइनखबरसँग भने-वर्षामा बाढी पहिरो आउँछ, हिउँदमा शीतलहर हुन्छ र दशैंमा यातायात तथा सडक दुर्घटनाको समस्या हुन्छ भन्ने कुरा सबैलाई थाहा छ । त्यही भएर दशैं सुरक्षाको योजनाबारे सरकारसँग छलफल गर्नमैले ध्यानाकर्षण गराएको हुँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment