Comments Add Comment

‘हृयाण्डिक्राफ्टलाई पर्यटकमैत्री बनाउनुपर्‍यो’

२८ भदौ, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडडयन मन्त्रालयका सचिव सुरेशमान श्रेष्ठले हृयाण्डिक्राफ्ट क्षेत्रलाई पर्यटक मैत्री बनाउनुपर्ने आवश्यकता औल्याएका छन् ।

टुरिष्ट गाइड एसोसिएशन अफ नेपाल -टुर्गान) र टिबेटियन रिˆयुजी क्यापद्वारा आयोजित दशै तथा तिहार शुभकामना आदान प्रदान समारोहलाई सम्बोधन गर्दै सचिव श्रेष्ठले सो आवश्यकता औल्याएका हुन् ।

‘नेपालमा उत्पादन हुने सोभिनियरहरुलाई डाइभर्सिटी बनाउनुपर्ने देखिन्छ’ उनले भने- ‘सामानहरु उत्पादन गर्दा पर्यटकको चाहानालाई हेरेर अघि बढ्नुस्, त्यसो गरियो भने नेपालमा यो व्यवसायको एकदमै सम्भावना छ ।’

प्रडक्टहरुलाई नेपाल पर्यटकीय हिसावले प्रचुर सम्भावनाले युक्त रहेपनि त्यसको सदुपयोग गर्न नसकिएको हुनाले ८ लाख भन्दा बढि पर्यटन भित्र्याउन नसकिएको पनि बताए ।

जावलाखेल हृयाण्डिक्राफ्ट सेन्टरले पर्यटक प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याएकोमा खुलेर प्रशंसा गर्दै सचिव श्रेष्ठले यहाँको सम्भावना बेच्नको लागि निजी क्षेत्रको महत्वपूर्ण योगदान रहेको बताए ।

जावलाखेल हृयाण्डिक्राफ्ट सेन्टरका जेनेरल म्यानेजर कर्म दावा (लामा)ले नेपालको पर्यटन प्रवर्द्धनको लागि आफुहरुले गरेको प्रयासमा टुर्गाइडहरुको सहकार्यले थप मद्दत मिलेको बताए ।

टुर गाइडहरुको माध्यामबाट घुम्न आउने पर्यटकले सामान खरिद गरेको रकम असहाय, बृद्ध, बालबच्चाहरु र टिवेटेन कामदारहरुको हितमा खर्च भइरहेको जानकारी गराउँदै यो कुरा विदेशी पर्यटकहरुसम्म पुर्‍याइदिन अनुरोध गरे ।

नेपाल पर्वतारोहण संघका अध्यक्ष आङछिरिङ शेर्पाले नेपाल आउने पर्यटक आफ्नो देश फर्किदा लैजाने कोशेलीको रुपमा हृयाण्डिक्राफ्ट सबैको रोजाइमा पर्ने भन्दै यसको उचित प्रवर्द्धन र व्यवस्थापनको लागि राज्यस्तरबाटै कदम चाल्नुपर्ने बताए ।

टुर्गानका अध्यक्ष हरेराम बरालले यो सम्मानले टुर्गाइडहरुलाई हौसला मिलेको बताउँदै पर्यटन प्रवर्द्धनमा यसले थप टेवा पुग्ने बताउनुभयो । जावलाखेल हृयाण्डिक्राफ्ट नेपालको एक उदाहरणीय उद्योग भएको उनको भनाइ थियो ।

नेपालमा हस्त निर्मित उनी गलैंचा बुन्ने प्रथम उद्योगको रुपमा रहेको जावलाखेल हृयाण्डिक्राफ्ट सेन्टर प्रा.लि.ले दश जना टुरिष्ट गाइडहरुलाई सम्मान गरेको छ । नेपालको पर्यटन प्रवर्द्धन र विकासमा महत्वपूर्ण योगदान पुर्‍याएवापत पर्यटन सचिव सुरेशमान श्रेष्ठले टुर्गाइडहरुलाई खादा र सम्मानपत्र हस्तान्तरण गरेका थिए ।

सम्मानित हुनेहरुमा विष्णु ज्ञावाली, सुरेन्द्र लोहनी, बाबुराम रेग्मी, इन्दिरा जोशी, मिलन केसी, भाइकृष्ण खड्का, कपिलदेव तिमिल्सिना, नारायण श्रेष्ठ, सरिता मानन्धर र दावाछिरि शेर्पा रहेका छन् । सोही अवसरमा सेन्टरले टुरिष्ट गाइड एसोसिएशन अफ नेपाल -टुर्गान)लाई २५ हजार रुपैयाँ धनराशीसहितको संस्थागत सम्मान गरेको थियो भने नेपाल पर्यटन पत्रकार मञ्चका अध्यक्ष शिव अधिकारीलाई विशेष अभिनन्दन गरेको थियो ।

कार्यक्रममा नाथमका कार्यकारी निर्देशक चुडामनी कट्टेल, टानका महासचिव सागर पाण्डे, नाराका महासचिव गंगा नेपाल, नाट्टाका अध्यक्ष डिबी लिम्बु, एचआरएका उपाध्यक्ष नरेन्द्र भट्ट, भिटोफका उपाध्यक्ष धु्रव सिंखडालगायतका अतिथिहरु तथा करिब ३ सय जना टुरगाइडहरुको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment