Comments Add Comment

केपी ओली भन्छन्-फेसबुके हिरो हुनुको कुनै अर्थ छैन

kp-oli-and-mahesh basnet

२९ भदौ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘फेसबुक- हिरो’ हुनुको अर्थ नभएको बताएका छन् । उनले आफ्ना दुई मन्त्रीहरुलाई राजीनामा गर्न नदिई फिर्ता बोलाइएकोमा गल्ती भएको प्रतिक्रिया दिएका छन् ।

पछिल्लोपटक युवा संघका अध्यक्ष महेश बस्नेतलाई उद्योगमन्त्री बनाएकोमा समाजिक सञ्जालमा भइरहेको टिप्पणीप्रति लक्षित गर्दै ओलीले भने-‘कुनै चिज भएन भन्नेबित्तिकै फेसबुक हिरो हुनुको कुनै अर्थ छैन । फेसबुक हिरो, साँच्चै सिनेमाको हिरो पनि हुँदैन, नाटकको हिरो पनि हुँदैन । केही हुँदैन ।’

युवा संघ नेपालको विस्तारित बैठकलाई सोमबार अपरान्ह सम्बोधन गर्दै नेता ओलीले सानो असन्तुष्टि भयो भने फेसबुकमा स्टाटस लेखेर बुरुक्क उफि्रहाल्ने तरिका ठीक नभएको बताए ।

असन्तुष्टि भए पार्टी वा मन्त्रीसँग आएर राख्न आग्रह गर्दैर् ओलीले भने-‘सार्वजनिक ढंगले बिस्कुन बेस्सरी छरिदियो, यो छरिने खालको बिस्कुन सुकाएर बर्बाद भो ।’

युवालाई डन नदेख्न आग्रह

एमाले अध्यक्ष ओलीले धेरै मान्छेले युवा देख्नेवित्तिकै डन र गुण्डा ठान्ने गरेको बताए । उनले भने-‘युवा संघको नाम सुन्नेवित्तिकै झस्किने पनि गर्छन् । युवाहरुले जिम्मेवारी पाउँदा कसरी काम गर्छन् भन्ने महेश बस्नेतजीले काम गरेर देखाउनु हुनेछ भन्ने मैले विश्वास लिएको छु ।’

पाको उमेरका मान्छेलाई काम गर्ने पनि थोरै र बाँच्ने पनि थोरै समय हुने भन्दै उनले युवाहरुलाई लामो समय बाँच्नुपर्ने भएकाले उनीहरुले समाजलाई बिगार्न नचाहने दाबी गरे ।

मन्त्रीलाई राजीनामा गर्न नदिनु गल्ती भयो

एमाले अध्यक्ष ओलीले मन्त्रीबाट हटाइएका भीम आचार्य र कर्णबहादुर थापालाई राजीनामा दिने मौका नदिनु गल्ती भएको बताए ।

दुबै संविधानसभामा निर्वाचित भएर आएकाले आफ्नो संसदीय क्षेत्र र संविधानसभासँगै पार्टीमा समेत भूमिका खेल्न नपाएको भन्दै राजीनामा दिन चाहेको ओलीले खुलासा गरे । उनले भने-‘मैले राजीनामा गरिरहनु किन जरुरी छ, पुनर्गठन गर्न म भन्छु उहाँले गर्नुहुन्छ सिद्धियो ।’

तर, यसलाई फुकेर प्लास्टिकलाई बेलुन बनाइएको भन्दै ओलीले भने-‘अहिले देशभरि ड्रम बनाउने काम भएको छ, किन हटाइयो भनेर । त्यसैले मलाई के लाग्छ भने राजीनामा गर्न दिएको भए हुने रहेछ ।’

अनुचित काम गरेकाले मन्त्रीहरुलाई हटाएको नभई इच्छाअनुसार फिर्ता बोलाएको अध्यक्ष ओलीले बताए ।

पार्टीमा भागवण्डा नहुने दाबी

आफूले पार्टीलाई सामुहित नेतृत्व र संस्थागत प्रणालीमा सञ्चालन गर्ने गर्न खोजेको उनले दाबी गरे । ओलीले भने-‘पार्टीलाई नयाँ ढंगले अगाडि बढाउने कुरामा कुनै कमी रहन दिँन्न ।’

उनले जिम्मेवारी दिने क्रममा कुनै पक्ष/विपक्ष पनि नहुने दाबी गरे । हिजोको जस्तो पक्षधरता र प्यानल पार्टीमा नहुने दावी गर्दै ओलीले पार्टी कुनै संयुक्त मोर्चा नभएको बताए ।

माधव नेपाललाई जवाफ

नेता माधवकुमार नेपालप्रति लक्षित गर्दै अध्यक्ष ओलीले भने-‘यस पक्षलाई यति, यस पक्षलाई यति भनेर भागबण्डा हुँदैन । सजिलोको लागि मलाई सजिलो होला, ६०/६२ प्रतिशत भए पुगिहाल्छ । तर, पार्टी त्यसरी चलाउन हुँदैन ।’

भिडियो 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment