Comments Add Comment

राप्तीमा चार किलोमिटर बगेर बाँचेकी लक्ष्मीलाई ‘साहसी बालिका’ सम्मान

Laxmi-samman

आरपी सुवेदी

२९ भदौ, नेपालगञ्ज । राप्ती नदीमा आएको बाढीमा चार किलोमिटरमा बगेर पनि मृत्युलाई जितेर आएकी १४ वर्षीया बालिका लक्ष्मी राढलाई बाँकेकी साहसी बालिकाको रुपमा सम्मान गरिएको छ ।

राष्ट्रिय बाल दिवसको अवसरमा जिल्ला बाल कल्याण समिति बाँकेले बाँके फत्तेपुर-९ ढलैया लक्ष्मीलाई साहसी बालिकाको रुपमा सम्मान गरेको हो । उनी साउनको अन्तिम साता आएको बाढीमा झण्डै ४ किलोमिटरसम्म राप्ती नदीमा बगेकी थिइन् ।

मैले आफू र बहिनीसंगै बग्दा हामीसंगै उत्रिन्छौं भन्ने लागेको थियो तर, दैवको मन्जुरी अर्कै रहेछ आधा बाटोबाटै हाम्रो विछोड गराई दियो- लक्ष्मी

राप्ती नदीको किनारमा बालुवा र गिट्टी चालेर जीवन यापन गर्दै आएका लक्ष्मीको परिवार साउनको अन्तिम शनिबार बिहान आएको बाढीले बगाएको थियो । बाढीमा परेर उनका ५० वर्षीय पिता सिताराम, १० वर्षकी बहिनी कल्पना र ८ वर्षकी संगिता बगेर बेपत्ता भए । उनीसँगै आमा कान्छीदेवी, ३ वर्षको कान्छो भाइ राजकुमार, १२ वर्षको ठूलो भाइ पवन बाँच्न सफल भएका थिए ।

बाँकेका प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद वलीले लक्ष्मी र उनकी आमालाई सेभ द चिल्ड्रेनले उपलव्ध गराएको लत्ताकपडा र १ हजार २ सय ५० हस्तान्तरण गरे ।

सम्मानपछि लक्ष्मीले घटनाको तीन दिनपछि आमा र भाइसंग भेट भएको बताइन् । भनिन्-‘म त्यो काहाली लाग्दो दिन सम्झन चाहन्न । तर, के गर्नु नसम्झु भने पनि हामीलाई कमाई खुवाउने बुवा र ठूली बहिनी कल्पना र सानी बहिनी संगितालाई गुमाएका छौं । झन संगिता त मसँगै आधाबाटोसम्म बगेकी थिई ।’

उनले भावुक हुँदै भनिन्-‘मैले आफू र बहिनीसंगै बग्दा हामीसंगै उत्रिन्छौं भन्ने लागेको थियो तर, दैवको मन्जुरी अर्कै रहेछ आधा बाटोबाटै हाम्रो विछोड गराई दियो ।’ उनलाई बगेको ठाँउबाट झण्डै ४ किलोमिटर तल हेलियाको चौफेरीमा स्थानीयले उद्दार गरेका थिए ।

उनकी आमा कान्छीदेवीले आफुहरुलाई साथमा रहेका दुई छोरा र लक्ष्मीको आगामी दिनको बारेमा चिन्ताले सताएको बताइन् ।

उनीहरु हाल फत्तेपुर-१ पिप्रहवामा रहेको जेठी छोरीको घरमा अश्रय लिएर बसेका छन् । उनले राहतका नाममा ५ हजार नगद, भाँडाकुँडा र खानको लागि चामल दाल र त्रिपाल पाएको भए पनि आफ्नो राख्ने ठाँउ नभएका बताइन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment