Comments Add Comment

सीके राउत प्रकरण : के मातृभूमिलाई बलात्कार गर्छु भन्न पाइन्छ ?

अनलाइनखबर टिप्पणी

२९ भदौ काठमाडौं । मधेसलाई नेपालबाट अलग गर्नुपर्ने अभियान सञ्चालन गर्दै आएका विखण्डनवादका प्रवक्ता डा. सीके राउतलाई प्रहरीले शनिबार मोरङबाट पक्राउ गरेपछि उनको पक्ष र विपक्षमा विभिन्न किसिमका अभिव्यक्तिहरु बाहिर आएका छन् ।

सीके राउत । तस्वीरः राउतको फेसबुक पेजबाट
सीके राउत । तस्वीरः राउतको फेसबुक पेजबाट

राउतको गिरफ्तारीसँगै प्रश्न उठेको छ, अभिव्यक्ति स्वतन्त्रताका नाममा जे पनि बोल्न पाइन्छ ?

राउतले तराईमा कस्तो अभियान चलाइरहेका छन् र यसले नेपालको सार्वभौमिकता र अखण्डतामा कस्तो नकारात्मक प्रभाव पार्दैछ भन्ने आाकलन नगरी पद्मरत्न तुलाधर, दमननाथ ढंगाना, खगेन्द्र संग्रौला, श्याम श्रेष्ठ लगायतका २५ जना बुद्धिजीवीले वक्तव्य निकालेका छन् ।

वुद्धिजीवीले जारी गरेको वक्तव्यमा राउतको विखण्डनवादी अभिव्यिक्तको कुनै आलोचना गरिएको छैन । यो विज्ञप्तिले नेपाल टुक्राउन पाउनुपर्छ भन्ने विखण्डनवादका अभियन्ताको खुलेआम सेवा गरेको छ ।

विखण्डनको वकालत गर्न संविधानले छुट दिँदैन

नेपालको अन्तरिम संविधानले नागरिकलाई अभिव्यक्तिको स्वतन्त्रता दिएको छ । अन्तरिम संविधानको भाग ३ धारा १२ मा मौलिक हक अन्तरगत स्वतन्त्रताको हकबारे व्याख्या गरिएको छ । सो धारामा राष्ट्रिय अखण्डताको विरोधमा बोल्न नपाइने स्पष्ट उल्लेख गरिएको छ ।

फेसबुकमा नेपालको राष्ट्रिय झण्डा बिगारेको आरोपमा हालै प्रहरीले काठमाडौंमा मुकुन्द घिमिरेलाई यसैगरी पक्राउ गरेको थियो । राज्यबाट पक्राउ परेका घिमिरे मधेसी समुदायका होइनन्

संविधानको धारा १२ को उपधारा १, २ र ३ अनुसार नागरिकलाई विचारको स्वतन्त्रता, विना हात हतियार शान्तिपूर्ण रुपमा भेला हुने स्वतन्त्रता, दल खोल्ने स्वतन्त्रता, संघ संस्था गर्ने स्वतन्त्रता, आवत जावत गर्ने र पेशा व्यवसाय गर्ने स्वतन्त्रताबारे उल्लेख गरिएको छ ।

तर, यी स्वतन्त्रताहरुमा सीमासमेत संविधानमा स्पष्टसित उल्लेख गरिएका छन् । संविधानको धारा १२ को उपधारा (च) मा बोल्न नपाइने विषयमा स्पष्ट उल्लेख गरिएको छ । अन्तरिम संविधानमा भनिएको छ,- ‘तर, कुनै कुराले नेपालको सार्वभौम सत्ता, अखण्डता वा विभिन्न जात, जाति, धर्म वा सम्प्रदायहरुका वीचको सुसम्बन्धमा खलल पर्ने…… कार्यमा मनासिब प्रतिबन्ध लगाउने गरी कानून बनाउन रोक लगाएको मानिने छैन ।’

Moulik-Hak

के-के भन्दै हिँडेका थिए राउत ?

प्रहरीद्वारा पक्राउ गरिएका डा. राउत मधेसमा खुलेआम नेपाललाई टुक्राउने र अलग्गै देश बनाउने अभियान लिएर हिँडेका थिए । राउतले बाँड्दै हिाडेको मधेस स्वराज पुस्तकको ६० औं पृष्ठमा उनले जब हामी सांगठनिकरुपमा सक्षम हुन्छौं, तब असहयोग आन्दोलनका साथै सैनिक विद्रोह समेत गरेर स्वतन्त्र मधेस बनाउने उल्लेख गरेका छन् ।

राउतले मधेसबाट नेपाली सेना हटाउने र मधेसी सेना बनाउने लिखित सामाग्री बाँड्दै हिँडेका छन् ।

देश टुक्राउने पहिलो तयारीअन्तरगत मधेसमा प्रचारारत्मक अभियान चलाउने र त्यसपछि संगठन बनाएर नाकावन्दी, कर नतिर्ने अनि आवश्यक परे सैनिक विद्रोहमार्फत मधेसलाई नेपालबाट अलग्गै देश बनाउने राउतले अघि सारेका छन् । हिन्दी भाषामा प्रश्नउत्तर शैलीमा लेखिएको कितावमा राउतले भनेका छन्- ‘८-१२ वर्षसम्म तयार हुनुपर्छ । संरचना बनाउने हो । जनशक्ति निर्माण गर्नुछ । यानी समाजिक-आर्थिक विकासको काम गर्नुपर्छ । देश चलाउन पूरा तयार भएपछि हामी स्वतन्त्र मधेसको माग लिएर आन्दोनल सुरु गछौं ।’

यो लगतै महाआन्दोलन सुरु हुने भन्दै राउतले आफ्नो पुस्तकमा भनेका छन्-‘त्यसपछि हामी महाआन्दोलनमा जान सक्छौं । त्यो महाआन्दोलनको लक्ष्य मधेसमा नेपाली सामाज्य समाप्ति र मधेसबाट नेपाली सेना फिर्ताका साथै आफ्नै सेना र पुलिससहित मधेसमा स्वराज स्थापना गर्नु हुनेछ ।’

ck-raut-book-1

महाआन्दोलनपछि मधेसमा सरकार गठन गर्ने र राष्टसंघमा दर्ता गर्ने उनको योजना छ । तत्काल नै मधेसलाई स्वतन्त्र घोषणा गरे हानी हुने र मधेस राज्यलाई धेरै समय कायम राख्न नसक्ने भन्दै राउतले पुस्तकमा विप्लवको तयारी गर्ने समेत लेखेका छन् ।

के मातृभूमिमाथि बलात्कार गर्छु भन्न पाइन्छ ?

नेपालको सार्वभौमिकता माथि नै धावा बोलेर हिाड्ने यस्तो स्वतन्त्रता नेपालको संविधानले दिएको देखिँदैन । संसारको कुनै पनि देशमा त्यहाँको संविधानले देश टुक्राउन हतियार उठाउने तयारी गर्दै हिँड्ने स्वतन्त्रता नदिएको अवस्थामा नेपालका केही स्वनामधन्य बुद्धिजीवीहरुले समेत देश टुक्राउँछु भन्ने राउतको अभिव्यक्तिलाई वाक स्वतन्त्रताको संज्ञा दिएर वक्तव्य निकालेका छन् ।

एमाओवादीका केही नेता र मधेसवादी नेता एवं कुरा नबुझी वक्तव्य निकाल्ने केही वुद्धिजीवीहरु कारण नयाँ प्रश्न उत्पन्न भएको छ, अभिव्यक्ति स्वतन्त्रताका नाममा जे पनि बोल्न पाइन्छ ? के मातृभूमिमाथि बलात्कार गर्छु भन्ने छुट नेपालको संविधानले प्रदान गरेको छ ?

देश टुक्रयाउने अभिव्यक्तिलाई दिनेमाथि कानूनी कारवाही गर्दा देश कमजोर हुँदैन, झन बलियो हुन्छ । नेपाल एक ढिक्का हुनुपर्छ भन्ने आम नेपालीको साझा सोचाइ हो । त्यसैले मधेसबाट नेपाली सेना हटाउने र राज्य विप्लव गर्ने बताउँदै हिँडेका व्यक्तिलाई प्रहरीले पक्राउ गरेर देशमा कानून र संविधान जीवितै छ भन्ने प्रष्ट सन्देश दिएको छ ।

जेपी गुप्ता लगायतका कतिपय व्यक्तिले राउतको गिरफ्तारीलाई मधेसीमाथिको दमनका रुपमा अपव्याख्या गरेर साम्प्रदायिक रंग भर्ने प्रयास गरेका छन् । मोरङमा केही मधेसवादी दलले जुलुससमेत निकालेर मुलुकलाई सम्प्रदायिक स्वरुप दिने प्रयत्न गरेका छन् ।

तर, स्मरण रहोस् फेसबुकमा नेपालको राष्ट्रिय झण्डा बिगारेको आरोपमा हालै प्रहरीले काठमाडौंमा मुकुन्द घिमिरेलाई यसैगरी पक्राउ गरेको थियो । राज्यबाट पक्राउ परेका घिमिरे मधेसी समुदायका होइनन् । उनी पहाडे समुदायका, भोजपुरका नागरिक हुन् ।

राष्ट्रिय झण्डाको अपमान गरेकामा घिमिरेमाथि पनि राज्यले कानून कारवाही गरेको दृष्टान्त सबैका सामु छर्लङ्ग छ । लोकतन्त्रमा कानून सबैका लागि समान रुपमा लागू हुन्छ । अपराधलाई जातीय वा साम्प्रदायिक रंग दिनु सही कार्य होइन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment