Comments Add Comment

माधव नेपाल पक्षबाट एमाले पदाधिकारी बैठक अवरुद्ध

३० भदौ, काठमाडौ. । संबैधानिक नियुक्तिका लागि पार्टीले सिफारिस गर्ने व्यक्ति र पार्टीको नीतिका बारेमा छललफ गर्न बसेको एमाले पदाधिकारी बैठकमा माधव नेपाल पक्ष आक्रामक रुपमा प्रस्तुत भएपछि बिनानिष्कर्ष स्थगित भएको छ ।

Madhav-Nepal-बिहान ८ बजे संसदीय दलको कार्यालय सिंहदरबारमा बोलाइएको पदाधिकारी बैठक विषयमा प्रवेश नै नगरी स्थगित भएको उपाध्यक्ष भीम रावलले अनलाइनखबरलाई बताए ।

रावलले भने-पार्टी संस्थागत रुपमा चलेन, व्यक्तिको मनपरीमा चल्ने प्रक्रिया नरोकिए बैठक बस्नुको अर्थ छैन भनेर हामी निस्क्यौं ।’
बैठकमा नेपाल पक्षधर उपाध्यक्ष युवराज ज्ञवाली, उपमहासचिव घनश्याम भुसाल र सचिव गोकर्ण विष्ट उपस्थित थिएनन् । त्यस्तै भर्खरै मन्त्रीबाट हटाइएका अर्का सचिव भीम आचार्य पनि बैठकमा उपस्थित भएनन् ।

मनलाग्दा पदाधिकारी बैठक बोलाएर राय लिएको जस्तो गर्ने तर निर्णय मनपरी गर्ने गरेकाले आफूहरु बैठकमा नगएको भुसालले बताएका छन् ।
बैठकमा माधव नेपाल, भीम रावल र योगेश भट्टराई आक्रामक रुपमा प्रस्तुत भएपछि दिउँसो २ बजे बस्ने भन्दै पदाधिकारी बैठक स्थगित भएको स्रोतले जनाएको छ ।

बैठकको शुरुमा माधव नेपालले नवौं महाधिवेशनपछि पार्टी कसले र कुन संयन्त्रले चलाइरहेको छ भन्ने प्रश्न गर्दै अध्यक्ष ओलीले पार्टीलाई प्राइभेट लिमिटेडका रुपमा चलाउन खोजेको आरोप लगाएका थिए ।

‘हाम्रो पार्टी व्यक्तिगत लहडमा चल्छ कि सामुहिक निर्णय प्रणालीका आधारमा चल्छ ? यो पार्टी कसैको पेवा होइन, लाखौंलाख कार्यकर्ता र जनताको रगत र पसीनाबाट बनेको पार्टी हो’ नेपालको भनाइ उधृत गर्दै एक नेताले भने ।

नेता नेपालले सुकुुम्बासी आयोग गठन, ८ जना सभासदको सिफारिश, समितिका सभापतिको चयन र मन्त्रीहरु फिर्ता बोलाएको र नयाँपठाएको बारे गम्भीर छलफल र समीक्षा गरेर मात्र बैठक अगाडि बढाउनुपर्ने बताएका थिए ।

त्यस्तै सचिव योगेश भट्टराईले अहिलेसम्मका सबै निर्णयहरुको बारेमा गम्भीर समीक्षाबिना बैठक अघि बढ्न नसक्ने चेतावनी दिएका थिए ।
योगेशको प्रश्न थियो -हामी निर्णय सुन्ने तहमा छौँ की निर्णय गर्ने तहमा छौँ ? पदाधिकारी बैठक नै नबोलाउने र पदाधिकारी कुनै संरचना होइन भन्दै भाँड गर्ने अनि निर्णयमा मनपरी गर्ने ?

उनले एउटै प्रक्रियाबाट निर्वाचित पदाधिकारीहरुलाई निर्णयमा सहभागि नबनाएको कारण माइन्यूटमा हस्ताक्षर नगर्ने भन्दै गुटगत आधारमा चल्ने हो भने आफूहरु त्यही अनुसार कार्यकर्ताको बीचमा जाने बताएका थिए ।

बैठकमा संस्थापन पक्ष रक्षात्मक बनेको थियो । सचिव पृथ्वीसुब्बा गुरुङले भने निर्णय प्रक्रियाका बारेमा केही पदाधिकारीले असन्तुष्टि जनाए पनि बैठकनै अवरुद्ध नभएको दावी गरे । उनले अपरान्ह पुनः बैठक बस्ने जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment