Comments Add Comment

झलनाथ र बामदेवका छोरा युवासंघमा मनोनित

Nirvik-and-harish

  • बामदेव छोरा हरिश र झलनाथका छोरा निर्भिक

३० भदौ, काठमाडौं । नेकपा एमालेका पूर्वअध्यक्ष झलनाथ खनाल र उपाध्यक्ष बामदेव गौतमका छोरा संगठन युवा संघ नेपालको केन्द्रीय सदस्यमा मनोनित भएका छन् ।

केन्द्रीय कमिटीमा मनोनित भएका खनाल र गौतम दुबै इन्जिनियर हुन् । निर्भिकले अमेरिका पढेका हुन् भने गौतमले चीनमा पढेका हुन् ।

नेताका छोरा भएकै भरमा पार्टीका कुनै कमिटीमा कामै नगरी एकैचोटि युवा संघ केन्द्रीय कमिटीमा मनोनित गरिएको भन्दै संघका निर्वाचित केन्द्रीय सदस्यहरुले असन्तुष्टि जनाएका छन् ।

युवा संघको सोमबार सम्पन्न केन्द्रीय कमिटी बैठकले पूर्वअध्यक्ष एवम् हालका बरिष्ठ नेता खनालका छोरा निर्भिक खनाललाई केन्द्रीय सदस्य मनोनित गरेको जानकारी प्रचार बिभाग प्रमुख प्रभातविक्रम कटुवालले अनलाइनखबरलाई दिए ।

कटवालले भने- ‘युवा संघ केन्द्रीय कमिटीमा सात जना नयाँ सदस्य मनोनित गर्दा बरिष्ठ नेताका छोराको नाम पनि अनुमोदन भएको छ ।’

कटवालले यसअघि नै उपाध्यक्ष तथा उपप्रधानमन्त्री बामदेव गौतमका छोरा हरिश गौतमलाई केन्द्रीय सदस्यमा मनोनित गरिसकेको जानकारीसमेत दिए ।

विद्या भण्डारीकी छोरी परिनन्

बैठकमा उपाध्यक्ष विद्या भण्डारीकी छोरीलाई पनि केन्द्रीय सदस्यमा मनोनित गर्नुपर्ने आवाज उठेको थियो । तर, उनको भने निर्णय नभएको केन्द्रीय सदस्य परशुराम बस्नेतले बताए ।

एमालेका स्वर्गीय महासचिव मदन भण्डारीकी छोरी उषाकिरण भण्डारी हाल एमालेकै मजदूर संगठन जिफन्ट अन्तर्गत काम गरिरहेकी छन् । नेताका छोराछोरीलाई टिपेर भातृ संगठनको केन्द्रीय नेतृत्वमा ल्याउने प्रवृत्ति गलत भएको युवा संघका सगरमाथा इन्चार्ज दिलचक्र राईले बताए ।

‘हामीले दुःख गरेर संगठन बनाउने, नेताका छोराछोरीलाई टिपेर नेता बनाउने प्रवत्ति गलत हो’ राईले अनलाइनखबरसँग भने ।

जम्बो बन्यो केन्द्रीय कमिटी

युवा संघ बैठकले निर्भिक खनालसहित अन्य ६ जनालाई पनि केन्द्रीय सदस्य मनोनित गरेको छ । कार्यवाहक अध्यक्ष निरु पालको प्रस्तावमा उनीहरु मनोनित भएका हुन् ।

मनोनित हुनेहरुमा सीपी मैनालीको मालेबाट आएका सञ्जिव झा र एमाओवादी नेता बाबुराम भट्टराईको स्वकीय सचिवालयबाट निकालिएपछि युवा संघमा प्रवेश गरेका बासु नेपालसमेत छन् ।

त्यस्तै युवा संघको बुटवल महाधिवेशनमा पराजित विप्लब राई, हर्क राईसहित नेत्र भण्डारी र खड्ग साउद पनि केन्द्रीय सदस्यमा मनोनित भएका छन् । १३५ निर्वाचित केन्द्रीय सदस्य रहेको युवा संघ १७५ भन्दा ठूलो बनेको छ ।

महिला हिंसाविरुद्ध देशव्यापी अभियान चलाउने

अध्यक्ष महेश बस्नेत मन्त्री भएपछि कार्यवाहक अध्यक्षको जिम्मा पाएकी निरु पालको अध्यक्षतमा बसेको बैठकले महिला हिंसा विरुद्ध देशव्यापी अभियान चलाउने निर्णय गरेको कटवालले बताए । कटवालका अनुसार युवा संघले अब रवि र सवि अभियान चलाउने भएको छ । प्रचार बिभाग प्रमुख कटवालले भने -‘रविको अर्थ रचनात्मक तथा व्यवसायिक अभियान हो भने सविको अर्थ संगठन विस्तार अभियान हो ।

युवा उद्यमी भेला गर्ने

युवा संघले आफ्ना अध्यक्ष बस्नेत उद्योग मन्त्री भएकोमा खुसी व्यक्त गर्दै चाँडै नै युवा उद्यमीहरुको भेला आयोजना गर्ने भएको छ ।

उद्योग व्यवसायमा युवाहरुलाई प्रोत्साहन गर्ने नीति बनाउनका लागि आवश्यक सुझाव लिन भेला आयोजना गर्न लागिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment