Comments Add Comment

गोलमेचमा वैद्य माओवादीको मोर्चाबाट ४४ दलको दाबी

३० भदौ काठमाडौं । मोहन वैद्य नेतृत्वको नेकपा-माओवादीले माग गरेको सर्वपक्षीय राजनीतिक सभा (गोलमेच सम्मेलन) मंगलबार संविधानसभा भवनको ल्होत्से हलमा हुँदैछ ।

Golmech Sammelanगोलमेच सम्मेलनमा वैद्य माओवादीले नेतृत्व गरेको ३३ दलीय मोर्चाबाट ४४ दलले सहभागिताका लागि दाबी गरेका छन् । संविधानसभामा रहेका ३१ दलमध्ये कलम थापा नेतृत्वको राप्रपा नेपालबाहेक ३० दल सहभागी हुने छन् ।
‘हाम्रो मोर्चालाई ३३ दलीय भने पनि हामी ४४ दल छौं’ मोर्चाका एक नेताले अनलाइनखबरसँग भने, ‘गोलमेचमा ४३ दलबाट एक/एक जना र नेकपा माओवादीबाट ५ जना गरी ४८ जनाको सहभागिता रहनेछ ।’

वैद्य मोर्चाका नेताले भनेजस्तै संविधानसभा बाहिरबाट ४८ जनाको सहभागिता भयो भने गोलमेचमा संविधानसभामा सहभागी दलबाट ४४ जनाको सहभागिता हुने छ । संविधानसभाभित्रका ३० दलमध्ये प्रमुख ३ दलबाट ५/५ जना र अन्य दलबाट एक/एक जनाको सहभागिता हुनेछ ।

यो गणना अनुसार गोलमेचमा उपस्थित हुने नेताहरुको संख्या ९२ रहने छ । गोलमेचमा उठेका विषयहरुको टिपोट गर्नका लागि खटाइने सरकारी कर्मचारीलाईसमेत जोड्दा एक सयको हाराहारीमा सहभागिता रहनेछ ।

तर, साना भुरेटाकुरे दलहरुले सोमबार साँझसम्म पनि गोलमेच सम्मेलनका लागि चिठी हात पारेका छैनन् । पत्र पाएको राप्रपा नेपालले सम्मेलनमा सहभागी नहुने घोषणा गरेको छ ।

बैठकमा सहभागीको व्यवस्थापन, चिया एवं खाना खर्च सरकारले व्यहोर्ने यसअघि नै सहमति भइसकेको छ ।

माओवादी कार्यालयमा ३३ दलको बैठक

यसैवीच गोलमेच सम्मेलनबारे छलफल गर्न सोमबार बुद्धनगरस्थित माओवादी कार्यालयमा ३३ दलीय मोर्चाको बैठक बसेको छ ।

दिउँसो २ घण्टाभन्दा बढी समय लगाएर बसेको बैठकले मंगलबार बिहान साढे ७ बजे माओवादी कार्यालयमै भेला भएर गोलमेच सम्मेलनमा सहभागी हुन जाने निर्णय गरेको मोर्चाका एक नेताले अनलाइनखबरलाई बताए ।

मोडालिटीमा विवाद कायमै

गोलमेच सम्मेलन नजिकिँदै गर्दा सोमबार बेलुकासम्म मोडालिटी र बैठकको एजेन्डाबारे टुंगो लाग्न सकेको छैन ।
कांग्रेस र एमालेले सबै नेतालाई पाँच पाँच मिनेट बोल्न लगाएर सरकारी कर्मचारीमार्फत टिपोट गरी संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिमा पठाउने प्रस्ताव गरेका छन् ।

बाबुराम भट्टराई नेतृत्वको सोही समितिमार्फत् ३३ दलका एजेन्डालाई संविधानसभामा प्रवेश गर्ने प्रस्ताव सत्तापक्षको छ ।

गोलमेच गर्न गठित कार्यदलमा रहेका माओवादी नेताले भने संविधानका अन्तरवस्तुमाथि सर्वपक्षीय सभाभित्रै सहमति गरिनुपर्नेमा जोड दिएका छन् ।

यसैवीच गोलमेचको तयारीका लागि सोमबार अपरान्ह चारदलीय कार्यदलको बैठक बसेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment