Comments Add Comment

लुम्विनीको प्रचार-प्रसारमा थाइ पर्यटन प्राधिकरणले सहयोग गर्ने

HAN-&-THA-at-Mou

९ असोज, काठमाडौं । होटल संघ नेपाल (हान) र थाइ होटल एशोसियसन (टीएचए)ले आपसी सम्बन्ध बिस्तार तथा सहकार्यका लागि समझदारी गरेका छन् । समझदारीपत्रमा हानका प्रथम उपाध्यक्ष अमरमान शाक्य र टीएचएका उपाध्यक्ष सुपवान तानोम्कयाटीपुमेले हस्ताक्षर गरे ।

हानको यसै हप्ता बैंककमा सम्पन्न अर्धवाषिर्क साधारणसभाको अवसरमा दुई संस्थाबीच सहकार्य गर्ने सम्झौता भएको हो । समझदारीअनुसार दुबै मुलुकका होटल संघहरुले आफ्ना सदस्य होटलहरुलाई एक अर्काको देशमा रहेका होटलहरुबीच सम्बन्ध बिस्तारका लागि पुलको काम गर्नेछन् ।

त्यसैगरि, पर्यटन क्षेत्रमा एक अर्काको अनुभव साटासाट गर्नुका साथै विभिन्न कार्यक्रमहरुमा दुबै संघहरुले एक अर्कालाई आमन्त्रण गर्ने भएका छन् । दक्ष जनशक्ति उत्पादन तथा व्यवस्थापनका लागि प्रशिक्षणका क्षेत्रमा पनि सहकार्य गर्ने सम्झौता भएको छ ।

काठमाडौंस्थित थाई राजदुतावासको सक्रियतामा भएको समझदारीपत्रमा हस्ताक्षर कार्यक्रममा होटल संघ नेपालका अध्यक्ष बीके श्रेष्ठ, नेपालका लागि थाइ राजदूत कान्थोङ उनाकुललगायत दुवै देशका होटल संघका पदाधिकारी तथा होटल व्यवसायीहरुको सहभागिता रहेको थियो ।

रात्री भोजको आयोजना

हानले बैंककमा नेपाल थाइ ज्वाइन्ट टुरिजम प्रमोशन इनिसियटिभ्स कार्यक्रम अन्तर्गत रात्रीभोजको आयोजना गर्‍यो । सो अवसरमा नेपालबाट गएका करिब ५ दर्जन व्यवसायी र थाइल्यान्डका प्रतिष्ठित ७० ट्राभल एजेन्टबीच प्रत्यक्ष भेटघाट तथा अन्तरक्रिया भएको थियो ।

बीटूबी मिटिङका रुपमा अघि बढेको उक्त कार्यक्रममा काठमाडौंस्थित थाइ राजदूत कान्थोङ उनाकुल, बैंककस्थित नेपाली दूतावासका चार्ज डे अफेयर्स, गैरआवासीय नेपाली संघका अध्यक्ष खगेन्द्र ढकाल लगायतका प्रतिनिधिहरु सहभागि थिए ।

कार्यक्रममा सहभागिहरुका लागि काठमाडौं, पोखरा, चितवन र लुम्बिनीका बिभिन्न होटलको १० वटा निशुल्क कुपन वितरण गरिएको थियो ।

HAN-&-THA-at-Mou-3

थाइ पर्यटन प्राधिकरणसँग भेटवार्ता 

नेपाली प्रतिनिधिमन्डलले थाइ पर्यटन प्राधिकरण (टीएटी)का पदाधिकारीहरुसँग पनि शिष्टाचार भेटघाट तथा छलफल गरेको थियो । वाषिर्क १५ सय करोड भाट बजेट रहेको तथा संसारका २७ देशमा थाइ पर्यटन प्रवर्द्धन गरिरहेको टीएटीका अधिकारीहरुसँग थाइ नागरिकलाई बुद्ध जन्मस्थल भ्रमणका लागि  गरिने प्रवर्द्धनात्मक कार्यक्रममा सहभागि हुन नेपाली पक्षले आग्रह गरेको छ ।

टीएटी अधिकारीहरुले नेपाली प्रतिनिधिमन्डलको प्रस्तावमा सकारात्मक हुँदै आफ्नो देशमा बुद्ध जन्मस्थल लुम्बिनीको प्रचारका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

थाइल्यान्ड भ्रमणका क्रममा हानका पदाधिकारी तथा सदस्यहरुले टुरिजम काउन्सिल अफ थाइल्यान्डका अधिकारीहरुसँग पनि भेटघाट गरे । थाइ सरकार, स्थानीय निकाय, निजी क्षेत्र र स्थानीयहरुको समेत स्वामित्वमा सञ्चालित टुरिजम काउन्सिल अफ थाइल्यान्डमा बिभिन्न १३ विधाका पर्यटनसँग सम्बन्धित संस्थाहरु सदस्य रहेका छन् ।

पुरानो पाँच तारे होटल अवलोकन

नेपाली व्यवसायीहरुले थाइल्यान्डको सबैभन्दा पुरानो पाँच तारे होटल दुषित थानी तथा थाइल्यान्डको पर्यटन प्रतिष्ठित पर्यटन कलेल माइडोल यूनिभर्सिटी भ्रमण गरेका थिए । हानका अध्यक्ष बीके श्रेष्ठले थाइल्यान्ड भ्रमण अत्यन्तै सफल भएको दाबी गरे ।

‘नेपाल पर्यटन बोर्ड प्रभावकारी नहुँदा व्यवसायीले आफ्नै खर्चमा थाइल्यान्ड भ्रमण गरेर जुनखाले पर्यटन प्रवर्द्धनका लागि काम गरेका छन्, यो साह्रै सह्रानीय भएको र यसले बिशेषतः लुम्बिनी र बुद्धका विषयमा थाइहरुलाई यथार्थ जानकारी गराउन सफल भएको छ’ अध्यक्ष श्रेष्ठले भने ।

संघले आफ्नै खर्चमा बुद्ध र लुम्बिनीका विषयमा बिशेष सामाग्री तयार गरि थाइल्यान्डमा वितरण गरेको थियो । व्यवसायीको भ्रमणले होटल व्यवसायलाई मात्र नभै मुलुकको समग्र पर्यटन क्षेत्रलाई र राष्ट्रिय अर्थतन्त्रलाई नै टेवा पुर्‍याउने महासचिव विनायक शाहले विश्वास व्यक्त गरे ।

छोटो अवधीमै पर्यटन क्षेत्रको विकासमा आश्चार्यजनक सफलता प्राप्त गरेको थाइ पर्यटनकै महत्वपूर्ण आधार होटल क्षेत्र हो । एसियामा सिंगापुरपछि सबैभन्दा बढी पर्यटक भित्र्याउने देश थाइल्यान्डमा राजनीतिक प्रतिकुलताका बाबजुत सन् २०१४ मा २ करोड ५७ लाख पर्यटकले भ्रमण गर्ने पूर्वानुमान छ । थाइ पर्यटनले कुल ग्राहस्र्थ उत्पादनमा २२.७ प्रतिशत योगदान पुर्‍याएको छ भने यस क्षेत्रमा ५७ लाख ३ हजार ५ सयले प्रत्यक्ष रोजगारी पाएका छन् ।

HAN-&-THA-at-Mou-2

अर्धवाषिर्क साधारणसभा सम्पन्न

हानको अर्धवाषिर्क साधारणसभा थाइल्यान्डको बैंककस्थित होटल नोभोटेलमा सम्पन्न भयो । प्रत्येक अर्धवाषिर्क साधारणसभा मुलुकबाहिर गर्ने नीतिअनुसार यस वर्ष बैंककमा आयोजना गरिएको हो । साधारणभामा ५ दर्जनभन्दा बढी होटल व्यवसायी सहभागि थिए ।

साधारणसभाले सन् २०२० सम्म नेपालमा २० लाख पर्यटक भित्र्याउने लक्ष्य पूरा गर्न होटल संघ नेपालले सबै सरोकारवाला निकायसँग सहकार्य गर्दै नीति निर्माण तहमा उपयुक्त सुझाव दिने निर्णय गरेको छ ।

साधारणसभामा अध्यक्ष बीके श्रेष्ठले पर्यटन व्यवसायमा भिन्न स्वार्थहरु रहे पनि ति सबैलाई मिलाएर नेतृत्व गर्ने जिम्मेवारी होटल संघ नेपालमा आएका कारण संघले नेतृत्व लिने जानकारी गराए ।

संघका महासचिव विनायक शाहले नयाँ गन्तव्यको खोजी र लगानी बिस्तारका क्षेत्रमा सरकार र निजी क्षेत्र मिलेर अघि बढ्नुपर्ने धारणा राखेका थिए । कोषाध्यक्ष घनेन्द्र श्रेष्ठले हानका आम्दानी स्रोत तथा खर्चका क्षेत्रहरुका विषयमा प्रकाश पारेका थिए ।

पोखरा, चितवन, रुपन्देहीलगायतका क्षेत्रीय होटल संघका पदाधिकारी तथा सदस्यहरुले संघको बिधान संशोधन, सचिवालय बिस्तार तथा सुदृढिकरण, अन्तर्राष्ट्रिय प्रवर्द्धन लगायतका विषयमा साधारणसभामा धारणा राखे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment