Comments Add Comment

बुटवलमा ‘दसैँ खसी बजार’ सुरु

Dasailai-Khasi
फाइल फाेटाे/अनलाइनखबर

१० असोज, बुटवल । मासु व्यवसायी संघ रुपन्देहीले नेपालीहरुको महान् पर्व विजयादशमीको अवसर पारेर यस क्षेत्रमै पहिलोपटक बुटवलमा बिहीबारदेखि ‘दसैँ खसी बजार’ सञ्चालन गरेको छ । यो मेला बडादसैँको महाअष्टमीसम्म लाग्ने छ ।

मासु तथा मासुजन्य पशुपक्षी परेवादेखि अष्ट्रिच र खसीबोकादेखि भेँडा च्याङ्ग्रासम्मको मासु तथा मासुजन्य पशुपक्षी एकैथलोबाट किनमेल गर्न सक्ने गरी मासु व्यवसायी सङ्घले बुटवलमा पहिलोपटक यस्तो बजार सञ्चालन गरेको हो । मेलामा बेचबिखन गरिने मासुजन्य पक्षी तथा पशुको स्वास्थ्य जाँच गर्नेसम्मको व्यवस्था गरिएको मासु व्यवसायी सङ्घका अध्यक्ष कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

मेलामा १२ हजारभन्दा बढी खसीबोका, करिब एक हजार मुस्ताङलगायत पहाडी भेगका च्याङ्ग्रा, करिब १२ टन अष्ट्रिचको मासु र १० टन माछा राखिने व्यवसायीले बताएका छन् ।

मेलामा मुस्ताङलगायत मुलुकका विभिन्न पहाडी जिल्ला र भारतसम्मका मासुजन्य पक्षी र पशुहरु राखिनेछन् । यसको अनुगमनको समेत व्यवस्था गर्ने गरी जिल्ला पशुसेवा कार्यालयले अलग्गै हेल्थ डेक्स स्थापना गरेको छ ।

मासुका व्यापारीभन्दा पनि मासुजन्य पशु र पक्षीका उत्पादक किसानलाई बेचबिखनको अवसर र माध्यमका रुपमा मेलाको आयोजना गरिएको अध्यक्ष पौडेलले जानकारी गराए ।

मेलामा उपभोक्ताको हितलाई ध्यानमा राखेर पशु तथा पक्षीको मूल्य तोकिने सङ्घका महासचिव वीरेन्द्र रानाले बताए ।

मेलामा रुपन्देहीका विभिन्न क्षेत्रका तथा मुस्ताङदेखि गुल्मी, पाल्पा, सुर्खेत र नेपालगन्जसम्मका किसान र थोक व्यापारीहरुका कक्ष राखिएका छन् । भारतबाट आएका किसान र केही थोक व्यापारीले समेत त्यस्ता कक्ष राखेका छन् ।

रुपन्देहीमा दैनिक करिब ७० टन मासु खपत हुने गर्छ । जसमध्ये कुखुराको मासु मात्र २५ टन आवश्यक पर्छ । मासुका लागि जिल्लाको उत्पादनले ३० प्रतिशत धान्ने गरे पनि  बाँकी ७० प्रतिशत भारतबाट आयात हुने  जिल्ला पशुसेवा कार्यालय रुपन्देहीका प्रमुख डा. लक्ष्मणबहादुर ढकालले जानकारी दिए । उनले दसैँको बेला जिल्लामा खसीबोकाको माग करिब ५० टनसम्म खपत हुने जानकारी गराए ।

कार्यालय प्रमुख ढकालले मासु व्यवसायी सङ्घले सञ्चालन गरेको दसैँ बजारमा किसानको सहज पहुँच हुनुपर्ने भन्दै त्यसका लागि कार्यालयले अनुगमनको व्यवस्था गरेको जानकारी दिए ।

रुपन्देहीका विभिन्न नाका हुँदै दैनिक ९० टन मासुजन्य पशुपक्षी जिल्ला भित्रिने गर्छ । ३५ देखि ४० टन जिल्लाका लागि आवश्यक पर्छ भने बाँकी, पोखरा, नारायणगढ, काठमाडौँसम्म पुग्ने गरेको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment