Comments Add Comment

अब विदेशी लगानीकर्ता ताँती लागेर आउँछन् ; अर्थमन्त्री

Ram Sharan Mahat
१२ असोज काठमाडौं । अर्थमन्त्री डा. रामशरण महतले नेपालमा लगानी गर्न विदेशी लगानीकर्ताको ताँती लाग्ने बताएका छन् । झापाको पृथ्वीनगरमा साना किसानहरुद्वारा प्रवर्द्धित साना किसान चिया उद्योगको उद्घाटनका क्रममा महतले यस्तो बताएका हुन् ।

‘विकासका कुरा त हामीले धेरै नै गरिसक्यौं तर नयाँ अभियान अव शुरु हुँदैछ, विदेशी लगानीकर्ता ताँतीलागेर आउनेछन्’ उनले भने -कृषि, पर्यटन र जलस्रोतको उपयोगबाटै आर्थिक क्रान्ति सम्भव हुनेछ ।

आफू पहिलोचोटि अर्थमन्त्री हुँदा चिया उद्योगलाई अनुदानको ऋण सहुलियत उपलब्ध गराउन थालेको स्मरण गराउँदै उनले कृषि क्षेत्रमा पनि विशेषगरी चियाको विकासका लागि सरकार सहयोग गर्न तयार रहेको बताए ।

साना किसान सहकारी संस्थाले प्रवर्द्धन गरेको उक्त कारखानामा करिब २ सय २५ किसानहरु संलग्न रहेका छन । २ सय ५० बिगाहा क्षेत्रफलमा फैलिएको यस चिया बगानमा सरकारले पनि ३ करोड १० लाख रुपैयाँ सहयोग गरेको छ । सरकारले चालु आर्थिक बर्षको बजेटमार्फत भ्याट छुट गरी चिया उद्योगलाई प्रबर्द्धन गर्न थालेको छ ।

नेपालको समृद्धिका लागि कृषि क्षेत्रमा अपार तागत भएको महतको भनाई छ । सरकारले चालु आर्थिक बर्षको बजेटमार्फत सस्तो ब्याजदरमा ऋणको व्यवस्था गरेको र त्यसको कार्यबिधि स्वीकृत भैसकेकोले अव चाँडै कार्यान्वयनमा आउने उनले बताए ।

हिंसात्मक द्वन्द्व र राजनीतिक संक्रमणकालका वावजूद शिक्षा, स्वास्थ्य लगायत सामाजिक परिसूचकहरुमा ठूलो प्रगति भएको उल्लेख गर्दै महतले भने -एकचौथाई शताब्दीमा नेपालीको औषत आयु १५ बर्षले बढेको छ । यो उनीहरुको जीवनस्तरमा आएको सुधारले भएको हो ।

अब नेपाली जनताको आम्दानीमा उल्लेख्य बढोत्तरी ल्याउन जरुरी भएको उनले बताए । ‘आगामी ८ बर्षमा सबै नेपालीलाई गरिवीबाट मुक्तिका लागि सरकारले ठूलो लगानी गर्ने, रोजगारी सिर्जना गर्ने र आर्थिक गतिबिधिहरु बढाउने नीति लिएको छ’ उनले भने -आगामी सन २०२२ सम्ममा नेपाललाई कम विकसित मुलुकबाट स्तरोन्नति गरी विकासशील मुलुकको दाँजोमा पुर्‍याउने संकल्प गरिसकेको छ ।

महतले ९०० मेगावाटको माथिल्लो कणर्ालीको पीडीए गरिएको र उत्पादित बिजुलीको बजार सुरक्षित गर्न भारतसँग बिद्युत व्यापार सम्झौता गरिएको स्पष्ट पारे । पीटीए र पीडीए भएपछि अव छिटै नै थप दुई हजार मेगावाटका बिद्युत आयोजनाहरु सञ्चालनमा आउने उनले जानकारी दिए ।

अहिलेसम्म बिजुली उत्पादनको गफ मात्र गरिएको उल्लेख गर्दै उनले काम अहिलेबाट हुन थालेको जीकीर गरे । अहिलेसम्म संभावनाको १ प्रतिशत बिजुली उत्पादन भएको छैन । सरकारले पीटीए र पीडीएका साहसिक निर्णय गरेपछि अन्य आयोजनाहरुमा पनि लगानी आउने भएकोले जलबिद्युतमा क्रान्ति नै हुने उनको भनाई थियो ।

लगानी र विकासलाई सहयोग पुग्नेगरी ऐन कानूनहरुमा सुधार गरिरहेको र कतिपय कानूनहरु संसदमा पेश भईसकेको भन्दै संसद अवरोध गरेर प्रतिपक्षीहरुले काम गर्न नदिएको गुनासोसमेत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment