Comments Add Comment

पोखरामा सांग्रिलाको ‘द लस्ट होराइजन रिसोर्ट’

The-Lost-Horizen-Resort
१८ असोज, काठमाडौं । सुन्दर नगरी पोखरामा सांग्रिला होटल एन्ड रिसोर्टले प्रिमियम रिसोर्ट सञ्चालन गर्ने भएको छ । बेगनासदेखि माथिको पचभैया डाँडामा सांग्रिलाले रिसेर्ट सञ्चालनको तयारी गरेको हो ।

सांग्रिलाले ४० रोपनी जग्गामा ५० करोड रुपैयाँ लगानीमा ‘द लस्ट होराइजन रिसोर्ट’ सञ्चालन गर्न लागेको कम्पनीका प्रबन्ध निर्देशक प्रसिद्ध बहादुर पाण्डेले जानकारी दिए ।

रिसोर्टको निर्माण कार्य पुसबाट सुरु गर्ने तयारी गरिएको छ । ४० वटा कटेज हुने उक्त रिसोर्ट अन्तर्राष्ट्रिय स्टरको हुने कम्पनीको दाबी छ । सांग्रिलाले हाल राजधानीमा पाँचतारे होटल सांग्रिला र पोखरामा चारतोर सांगि्रला भिलेज रिसोर्ट सञ्चालन गरिरहेको छ ।

रिसोर्ट प्रिमियम पर्यटकलाई लक्षित गर्दै निर्माण गर्न लागेको पाण्डेले बताए । कम खर्चालु पर्यटक नेपाल भित्रिरहेका बेलामा खर्चालु पर्यटक भित्राउले लक्ष्यसहित रिसोर्ट सञ्चालनको तयारी गरिएको हो ।

रिसोर्टमा रात विताउन पर्यटकहरुले करबाहेक प्रतिरुम ३० हजारदेखि ५० हजार रुपैयाँसम्म तिर्नुपर्ने हुन्छ । जसले गर्दा यो रिसोर्टमा खर्च गर्ने पर्यटकको मात्र आकर्षण हुने छ ।

रिसोर्टबाट बेगनास ताल, आँखै अगाडी लतमन्न सुतेका हिमाल, लेखनाथको सुन्दर दृश्य, जंगल, चराचुरुङ्गी हेर्न पाइन्छ । रिसोर्टमा निर्माण गर्न लागिएका सबै कटेजबाट यी दृश्यहरु देखिनेछन् ।

रिसोर्टले पर्यटकलाई आफुले तिरेको रकमबाट भरपुर मनोरञ्जन दिलाउन अन्तर्राष्ट्रिय स्तरका सेवा-सुविधाहरु उपलब्ध गराउने भएको छ । होटल व्यवस्थापनका अनुसार रिसोर्टमा स्पा, हृयांगिङ बार्दली, स्विमिङ पुल, लाउन्ज बार, सम्मलेन कक्ष लगायत हुनेछन् ।
रिसोर्टलाई पूर्णरुपमा वातावरणमैत्री बनाइने छ । प्रकृतीप्रेमी धनाढ्य पर्यटकलाई आकषिर्त गर्न रिसोर्टलाई जंगलजस्तो बनाउने बताइएको छ । रिसोर्टमा आउने पर्यटकलाई फरक खालको अनुभुति दिलाउने लक्ष्य व्यवस्थापनले राखेको छ ।

तत्कालका लागि रिसोर्टमा ४० कटेज निर्माण गरिएपनि दीर्घकालसम्म ७० कटेज पुर्‍याउने लक्ष्य राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment