Comments Add Comment

बाबुरामले संविधानसभामा भने- हिम्मत हार्ने बेला भएको छैन

Baburam-in-samsad

२२ असोज, काठमाडौं । संवैधानिक सम्वाद तथा राजनीतिक समितिका सभापति डा. बाबुराम भट्टराईले संविधानका मुख्य विषयमा सहमति भएन भन्दैमा हिम्मत हार्ने बेला नभएको बताएका छन् ।

संविधानसभाको बुधबारको बैठकमा सम्वाद समितिको प्रतिवेदन पेश गर्दै भट्टराईले राज्यको पुनःसंरचना, शासकीय स्वरुप, निर्वाचन प्रणाली र न्याय प्रणालीबारे सहमति हुन नसकेको बताए । उनले भने-‘हामीले आश मार्ने, हिम्मत हार्ने बेला भइसकेको छैन ।’

संविधानसभाबाट संविधान निर्माणको समय विशिष्ट कालखण्ड भएको भन्दै उनले यस्तोबेला राजनीतिको सामान्य नियमले काम नगर्ने बताए । उनले भने-‘राजनीति भनेको अंक गणित नभएर विजगणित जस्तो हो, सरल रेखामा सरल बगेन, तुरुन्तै सहमति भएन भनेर हतासिइहाल्नु हुँदैन ।’

एमाओवादी नेतासमेत रहेका सभापति भट्टराईले राज्य पुनःसंरचना र शासकीय स्वरुपबारे सहमतिको प्रयास गर्नुपर्ने बताए । अन्य विषयमा प्रक्रियामा गएर टुङ्गो लगाउन सकिने भन्दै उनले भने-‘माघ ८ भनेको हामीले निर्माण गरेको नैतिक र राजनीतिक समयसीमा हो । यो लक्ष्मण रेखा ननाघ्ने गरी समय थपेर जानुपर्छ ।’

सहमति भनेको सर्वसम्मति नभएर यथेष्ट सहमति भएको भन्दै उनले १२ बुँदेका सहयात्रीबीच संविधानका मूलभूत विषयमा सहमतिको प्रयास गर्नुपर्ने बताए ।

सहमतिको झिल्कोसँगै द्वन्द्व र ध्रवीकरणको आशंका बादल समेत मडारिएको भन्दै उनले भने-‘१२ बुँदे यताका हामी सहयात्री छौं, हामी एउटै ढुंगाका सहयात्री हौं कि त सँगै डुब्छौं कि सँगै पार लाग्छौं । संविधान बनेन भने पनि र गलत संविधान बन्यो भने पनि हामी डुब्ने खतरा हुन्छ । त्यसैले हामीले यथेष्ट सहमति गरेर समयमै संविधान निर्माण गर्नुपर्छ ।’

बुद्धिमान मान्छेले सबै कुरा गुमाउनुभन्दा आधा त्यागेर भए पनि आधा जोगाउँछ भन्दै भट्टराईले संविधानसभामा श्लोकसमेत सुनाए ।

सभापति भट्टराईले प्रमुख दलहरुले अलि बढी गम्भीरता देखाएको खण्डमा सहमति बन्ने बताए । यद्यपि नेतृत्वले केही गरेन भन्ने आरोप सही नभएको उनले बताए ।

भट्टराईले संविधानसभामा पेश गरेको प्रतिवेदनमाथि शुक्रबारबाट छलफल सुरु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment