Comments Add Comment

पदक विजेता विमलालाई इन्चोन पठाउन गुरुको मोटरसाइकल धरौटीमा

२२ असोज, काठमाडौं । इन्चोन एसियाडमा नेपाललाई एक मात्र पदक दिलाउने करातेकी विमला तामाङलाई दक्षिण कोरिया पठाउन पैसा नभएपछि उनका गुरुले मोटरसाइकल धेरौटी राख्नु परेको खुलेको छ ।

गुरु ध्रुवविक्रम मल्लले आफूले चढ्दै आएको मोटरसाइकल धरौटी राखेर विमला र अनुपमा मगरलाई कोरिया पठाएको पाइएको छ । ‘अन्तिम समयमा पैसा पुगेन र मोटरसाइकल वर्कसपमा राखेर पैसा लिए’ मल्लले अनलाइनखबरसँग भनेका छन् ।

इन्चोनमा नेपाललार्इ पदक दिलाउने विमला गुरू मल्लका साथमा ।
इन्चोनमा नेपाललार्इ पदक दिलाउने विमला गुरू मल्लका साथमा । तस्वीरः रिपोटर्स क्लब

उनका अनुसार दुई खेलाडी र एक प्रशिक्षकलाई कोरिया पठाउने क्रममा तीन लाख खर्च भएको छ । तर, एक लाख पैसा अपुग भएपछि मोटरसाइकल नै धरौटी राख्नु परेको उनले बताएका छन् ।

उनका अनुसार विश्व कराते महासंघले स्वीकृत गरेको खेलाडीको ड्रेस, प्याड, चेस्टगार्ड लगायतका लागि एक खेलाडीलाई ६० हजार लाग्छ । दुई खेलाडीको ड्रेसमा गरी १ लाख २० हजार खर्च भएको छ भने हवाइ टिकट लगायतको खर्च पनि उनले नै व्यहोरेका छन् । ‘राखेप भनेको राज्य हो । तर, हाम्रा खेलाडीहरुलाई कुनै सहयोग गरेको छैन’ प्रशिक्षक मल्लले भने ।

आफू अन्तराष्ट्रिय मान्यता प्राप्त कराते संघमा आवद्ध भएकै कारण राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले सहयोग नगरेको उनको आरोप थियो ।
राज्यको ढुकुटीबाट खेल्न गएका खेलाडीले भन्दा दुःखका साथ खेल्न गएकी खेलाडीले देशको लागि पदक जित्न सफल भएको उनले बताए । मल्लले भने-‘विमलाको सफलताले खुशी नै दिलाएको छ । एउटा गुरुको लागि यो भन्दा ठूलो खुशी नै अरु के नै हुन्छ र ?’

सफलताको श्रेय गुरुलाई

इन्चोनमा नेपाललाई पदक दिलाए विमलाले पनि आफ्नो सफलताको श्रेय आफ्नो गुरुलाई दिएकी छन् ।

बुधबार दामन पाख्रिन स्मृति प्रतिष्ठानले बिमलालाई नगद ३५ हजारसहित सम्मान गरेको छ । सम्मानपछि विमलाले भनिन्-‘म आज जुन ठाउँमा छु, यो सबै गुरुको कारण हो । उहाँले मलाई सँधै हौसला दिनुभयो । उहाँको सहयोग, प्रेरणा र हौसलाले मलाई आत्मविश्वासी बनायो ।’

सरकार र राष्ट्रिय खेलकुद परिषद्ले सहयोग गरेको भए आफू फाइनलसम्म पुग्ने उनको विश्वास थियो । उनले भनिन्-‘यो पटक म कांस्य पदक लिएर घर फर्केको छु, अर्को पटक स्वर्णपदक लिएर आउनेछु । त्यसको लागि म अहिले दैनिक अभ्यास गरिरहेको छु ।’

धादिङ सेम्जुङ-४ की १८ वर्षीया विमलाले करातेको एकल कातामा कांस्य जितेकी थिइन्, जुन इन्चोनमा नेपालले जितेको यो एक मात्र पदक हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment