Comments Add Comment

विधेयकमाथि छलफल हुनासाथ सभासद ‘गेट आउट’

२२ असोज, काठमाडौं । चालीस दिन अवरुद्ध भएर बुधबारदेखि सुचारु भएको व्यवस्थापिका संसदमा केही रोचक एवं हाँसोलाग्दा दृश्यहरु देखिए । सभासदहरु आफ्नो दायित्वप्रति कतिसम्म गैरजिम्मेवार छन् भन्ने उदाहरण पनि बुधबारको बैठकमा प्रष्टै देखियो ।

वामदेवलाई कार्यवाहक प्रधानमन्त्री !

बैठक सुचारु भएपछि सभामुख सुवासचन्द्र नेम्वाङले राष्ट्रपति कार्यालयबाट संसदलाई आएको पत्र पढेर सुनाउँदा संसदमा हाँसो छायो ।

सभामुख नेम्वाङले प्रधानमन्त्री सुशील कोइराला न्युयोर्क गएकाले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी वामदेव गौतमलाई दिइएको पत्र पढेर सुनाएका थिए । अमेरिकाबाट फर्किसकेका प्रधानमन्त्री सुशील कोइरालासमेत ‘डेट एक्स्पायर’ पत्र सुनेर फिस्स हाँसेका थिए ।

बल्ल चिन्यो संसदले दुई मन्त्री

लामो समय संसद नचल्दा दुईजना मन्त्रीलाई बुधबारमात्रै संसदले चिनेको छ । व्यवस्थापिका संसदको बैठकमा सभामुखले उद्योग मन्त्री महेश बस्नेत र पर्यटन तथा नागरिक उड्डयन मन्त्री दीपक अमात्यको नाम पढेर सुनाए ।
यस क्रममा सभामुखले मन्त्रिपरिषदको पूरै नामावली वाचन गरेका थिए ।

व्यवस्थापिका संसदमा विभिन्न संसदीय समितिका ३१ जना सदस्यहरुको जिम्मेवारी हेरफेर गरिएको छ । त्यसरी समिति हेरफेर गरिएको प्रस्ताव सभामुखले बैठकमा पेश गरेका थिए ।

विधेयकमाथि छलफल हुनासाथ सभासद ‘गेट आउट’ !

व्यवस्थापिका संसद सुचारु भएकै दिन विनियोजन विधेयकमाथिको छलफल सुरु भएको छ । बुधबारको बैठकमा श्रम तथा रोजगार मन्त्रालय र वाणिज्य मन्त्रालयसँग सम्बन्धित खर्च कटौतीसम्बन्धी विधेयकमा छलफल भयो ।

तर, विनियोजन विधेयकमाथि छलफल सुरु भएको सभामुखले घोषणा गर्नासाथ अधिकांश सभासदहरु खोरबाट भेडाबाख्रा बाहिरिएजस्तै गरी ह्वारह्वारी निस्केर घरतर्फ लागे ।

यद्यपि सभामुखले झिनो उपस्थितिमै भए पनि बैठक अघि बढाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment