Comments Add Comment

इजरायल गएका नेपाली भन्छन्- यसरी काम गरे नेपालमै सुन फलाउन सकिन्छ

cow२३ असोज, काठमाडौ । प्रशिक्षार्थी कामदारका रुपमा इजरायल गएका नेपाली युवाहरुले इजरायलबाट कृषि कामका लागि ऊर्जा बटुलेका छन् । साना किसान विकास बैंकको पहलमा प्रशिक्षार्थी कामदारका रुपमा इजरायल पुगेका युवायुवतीहरुले कृषिसम्बन्धी काममा ऊर्जा बटुलेका हुन् ।

कृषि तालिम भनिए पनि दैनिक १२ घण्टा काम गर्नुपरेको प्रशिक्षार्थी कामदारको रुपमा इजरायल पुगेका बाँकेका शिव लम्सालले बताए । ‘दैनिक १२ घण्टासम्म काम गर्नुपर्ने रहेछ,’ टेलिफोनमा उनले भने, यसरी काम गर्ने हो भने त स्वदेशमै सुन फलाउन सकिन्छ ।’

साना किसान विकास वैंकको पहलमा पछिल्लोपटक देशका विभिन्न ठाउँका गरी ३ सय ८६ जना युवा प्रशिक्षार्थी कामदारका रुपमा इजरायल पुगेका छन् ।
प्रशिक्षार्थी कामदारका रुपमा छनोटमा परेका ५ सय १५ युवामध्ये अझै १ सय २९ जना युवा इजरायल जाने तयारीमा छन् ।

दोस्रोपटकको प्रशिक्षार्थी कामदारको रुपमा इलाम, झापा, मोरङ, सुनसरी, उदयपुर, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, सिन्धुली, मकवानपुर, चितवन, धादिङ, गोरखा, तनहुँ, नवलपरासी, रुपन्देही, दाङ, बाँके र बर्दिया गरी २१ जिल्लाबाट ५ सय १५ जना छनोट भएका छन् ।

isreal

यसअघि साना किसान कृषि सहकारी संस्थामा आवद्ध २ सय ५ जना युवायुवती इजरायलका विभिन्न कलेज, कृषि तालिम तथा अनुसन्धान केन्द्रहरुमा १० देखि ११ महिनाको उन्नत कृषि तालिम लिएर नेपाल फर्किएका थिए ।

इजरायलमा रहेका युवामात्रै होइन, ११ महिना प्रशिक्षार्थी कामदारका रुपमा रहेर दुई महिनाअघि स्वदेश फर्किएका युवाहरुको अनुभव पनि उस्तै छ । ‘झण्डै १० महिनाको अवधिमा धेरै नै पसिना बगायौं,’ नवलपरासीकी सीता शर्माले भनिन्, नेपालमा आफै कृषि फार्म सञ्चालन गर्न सकिने विश्वास पलाएको छ ।’

विदेश नगई स्वदेशमै पसिना बगाउने हो भने विदेशमा भन्दा बढी आम्दानी गर्न सकिने शर्माको भनाइ छ ।

नेपालमै व्यवसायिक कृषि व्यवसाय गरेर मनग्गे आम्दानी गर्न सकिने विश्वास प्रशिक्षार्थी कामदारकै रुपमा इजरायल गएकी हेटौंडाकी आशा थापाको पनि छ । प्रशिक्षार्थीका रुपमा गएका उनीहरुले मासिक झण्डै एक लाख रुपैयाँ पारिश्रमिक समेत पाउने गरेका छन् । तर, कमाएको आधा पैसा होस्टलमा बसेर खाँदा सकिने उनीहरुले बताए ।

उन्नत कृषिप्रणालीका आधारभूत सीप र ज्ञान प्रदान गरी स्वदेश फर्किएपछि त्यस्ता युवाहरुले नेपालमै स्वरोजगार बन्न सक्ने साना किसान बैंकको विश्वास छ । प्रशिक्षार्थीहरुलाई सीएफ ग्यालिली, एस केलन, आरावालगायत इजरायलका विभिन्न ५ वटा तालिम केन्द्र र कलेजहरुमा कृषि सम्बन्धी तालिम दिइने साना किसान विकास बैंकका प्रमुख कार्यकारी अधिकृत जलनकुमार शर्माले बताए ।

इजरायलको विभिन्न कलेजहरुमार्फत पोल्टी फार्म, गाई फार्म तथा अन्य कृषि फार्महरुमा तालिम लिएर आएका युवाहरुले स्वदेश फर्किसकेपछि कृषि सम्बन्धी काम गर्न चाहेमा बैंकबाट ऋण उपलब्ध गराउन पहल गर्ने सक्ने शर्माले अनलाइनखबरलाई बताए ।

इजरायलबाट फर्किसकेपछि बैंकले अन्य रोजगारीका लागि उनीहरुलाई बैंकले ग्यारेन्टी गर्न नसक्ने पनि शर्माले स्पष्ट पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment