Comments Add Comment

घर फर्किएका चार डीआइजी फेरि सर्वोच्चमा

२३ असोज, काठमाडौं । सर्वोच्च अदालतको परमादेशबमोजिम आफूहरुलाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)मा बढुवा नगरेपछि बुधवारबाट घर फर्किएका चार डीआइजी सरकारविरुद्ध पुनः अदालत गएका छन् ।

सरकारले अदालतको अवहेलना गरेको भन्दै स्वतः अवकाशको भोलिपल्टै उनीहरु एआइजीको पदवहाली गराई पाउँ भन्दै सर्वोच्च अदालतमा गएका हुन् ।

साउन २९ गते ९ डीआइजीलाई मन्त्रिपरिषदले एआइजीमा बढुवा गरेपछि आफूहरुमाथि अन्याय भएको भन्दै तत्कालीन डीआइजीहरु यादव अधिकारी, परशुराम खत्री, सुशीलबरसिंह थापा र विश्वराजसिंह शाही अदालत गएका थिए ।  सर्वोच्चले असोज ८ गते सरकारको नाममा परमादेश जारी गर्दै चारैजना डीआइजीलाई एआइजीमा बढुवा गर्नु भनेको थियो ।

सरकारले आदेश कार्यान्वयन नगर्दा असोज २१ गतेबाट उनीहरु ३० वर्षे सेवा अवधि पूरा गरेर स्वतः अवकाशमा गएका थिए । अवकाशको भोलिपल्टै चारैजनाले सरकारले अदालतको अवहेलना गरेको भन्दै मानहानीको रिट दायर गरेका छन् ।

साथै उनीहरुले एआइजीमा पदवहाली गराई पाउँ भन्ने निवेदन पनि दिएको चार डीआइजीका वकिल लीलामणि पौडेलले जानकारी दिए ।

रिटमा प्रधानमन्त्री, गृहमन्त्री, गृह सचिव र आइजीपीलाई विपक्षी बनाइएको पौडेलले बताए । ‘अदालतको मानहानी गर्नेहरुलाई एक वर्ष कैद, दश हजार जरिवानासहितको सजायँ माग दाबी गरिएको छ’ पौडेलले भने ।

रिट निवेदकहरुले आफूहरुलाई साउन २९ कै मितिबाट लागु हुने गरी एआइजीमा पदवहाली गराउन पनि माग गरेका छन् ।

अधिवक्ता पौडेलका अनुसार अदालतको परमादेश कार्यान्वयन नगरेकाले निवेदकहरुलाई बढुवा गरी ३ दिनभित्र विपक्षलाई आफैं उपस्थित गराउन माग गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment