Comments Add Comment

१० प्रदेशको अडान छाड्न एमाओवादी तयार

three-patry

  • सिंहदरवारमा बसेको तीन दलको बैठक । तस्वीरः डा. बाबुराम भट्टरार्इको फेसबुक पेजबाट

२६ असोज, काठमाडौं । पहिचानमा आधारित १० प्रदेश बनाउनुपर्ने अडानमा लचिलो हुन एकीकृत नेकपा माओवादी तयार भएको छ । साथै प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको सट्टा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री स्वीकार गरेर सहमति गर्न समेत सकिने एमाओवादीले बताएको छ ।

तर, एमाओवादी लचिलो भए पनि कांग्रेसले संसदीय व्यवस्था र ६ प्रदेशको अडान नछाडेपछि आइतबार बसेको तीन दलका शीर्षनेताको बैठक सहमतिमा पुग्न सकेन ।

नयाँ संविधानका विवादित विषयमा सहमति जुटाउन कांग्रेस, एमाले र एमाओवादीका शीर्षनेताहरु आइतबार बिहानैदेखि सिंहदरबारमा छलफलमा जुटेका थिए ।

बैठकमा कांग्रेसले ६ प्रदेश बनाउने र प्रकृतिका आधारमा नामाकरण गर्नुपर्ने अडान दोहोर्‍याएको थियो । एमाले आफूले भन्दै आएको बहुपहिचान र प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको अडानबाट पछि हटेर कांग्रेसको लाइनमा उभिएको थियो ।

एमाओवादीको नयाँ प्रस्ताव

एमाओवादी नेताले आफूहरु जातीय राज्यको पक्षमा नरहेको भन्दै १४ प्रदेशको साटो १० प्रदेश बनाउने आइतबारको बैठकमा प्रस्ताव गरेको छ । ‘१० प्रदेशभन्दा तल पनि छलफल गर्न सकिन्छ । तर, यसका लागि सरोकारबालासँग छलफल गर्नुपर्छ’ एमाओवादीका एक नेताले भने-”बहुपहिचानमा आधारित नाम राखौं वा त्यसो नगर्ने भए प्रदेश सभालाई निर्णय गर्न दिऔं ।’

बैठकपछि कांग्रेस उपसभापति रामचन्द्र पौडेलले आफूहरुले साझा नाम राख्नु पर्ने बताएको बताए । एमाओवादी नेताहरुले भने छलफलमा एमाले नेताहरु बहुपहिचानको आफ्नै अडानबाट पछि हटेकाले सहमतिका लागि अफ्यारो भएको बताएका छन् ।

सहमति नभए सम्झौता गरौं : एमाओवादी

बैठकमा एकीकृत नेकपा माओवादीले सहमतिको संविधान बन्न नसक्ने भए सम्झौताको संविधान बनाउन प्रस्ताव गरेको छ । यसबारे जानकारी दिँदै एमाओवादीका एक शीर्ष नेताले अनलाइनखबरसँग भने- ‘सहमति नै हुन सक्दैन भने सम्झौता गरौं भन्ने हामीले प्रस्ताव राखेका छौं ।’

‘कार्यकारी प्रधानमन्त्री’ अब एमाओवादीको प्रस्ताव

प्रमुख तीन दलका शीर्षनेताहरुको बैठकमा एमाओवादीले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको सट्टा प्रधानमन्त्री मान्न सकिने बताएको छ ।

तर, कांग्रेसले सुधारिएको संसदीय व्यवस्थाको अडान छाडेन, जसलाई माओवादीले अस्वीकार गरेको छ । ‘माओवादी साथीहरुले वेष्ट मिनिष्टर प्रणाली कुनै हालतमा मान्य हुँदैन भनेका छन्’ पौडेलले भने ।

पूर्ण समानुपातिक पनि छाडियो

बैठकपछि एमाओवादीका एक नेताले दिएको जानकारी अनुसार सहमतिमा आउनका लागि भन्दै पूर्ण समानुपातिक निर्वाचन प्रणालीको अडानबाट एमाओवादी पछाडि हटेको छ ।

‘बैठकमा हामीले बहुमतीय प्रत्यक्ष समानुपातिक निर्वाचन प्रणालीको प्रस्ताव गरेका छौं,’ एमाओवादी नेताले अनलाइनखबरसँग भने, एमालेका केही साथीहरु यसमा सकारात्मक देखिनुभएको छ, तर कांग्रेस प्रत्यक्ष निर्वाचन प्रणालीबाट टसको मस गरेको छैन ।’

आइतबारको बैठक सहमतिमा नपुगेपछि सोमबार दिउँसो २ बजे सिंहदरबारमा बस्ने अर्को बैठकमा सहमतिको प्रयास गरिने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment