Comments Add Comment

बाराको आन्दोलन स्थगित

२७ असोज, बारा । बाराको सिम्रौनगढबासीले आन्दोलन स्थगित गरेका छन् । जिल्ला प्रशासन कार्यालय बारामा गएराति भएको वार्तामा ११ बुँदे सहमति भएपछि आन्दोलन स्थगित गरिएको वार्तामा सहभागी एकीकृत नेकपा माओवादीका नेता राकेश यादवले जानकारी दिए ।

वार्तामा प्रहरीको गोली लागेर ज्यान गुमाएका बारा हरिहरपुर-७ नौका टोलका जयनारायण पटेललाई राष्ट्रिय सहिद घोषणा गर्नका लागि सरकार समक्ष सिफरिस गर्ने, मृतकका परिवारलाई राहत तथा क्षतिपूर्तिको व्यवस्था गर्ने, घाईतेहरुको उपचार खर्च सरकारले व्यहोर्ने , घटनाबारे छानविन गर्न उच्चस्तरीय न्यायिक आयोग बनाउन सिफारिस गर्ने, दोषी प्रहरी माथि कारबाही गर्ने, सिम्रौनगढ-कलैया सडकखण्ड मर्मत र कालोपत्रे गर्ने तथा मृतक पटेलकै नाममा उक्त सडकखण्डको नामाकारण गर्ने, पटेलको शालिक निर्माण गर्ने लगायतका ११ बुँदे सहमति भएको वार्तामा सहभागी तमलोपाका सह-महामन्त्री जितेन्द्र सोनलले जानकारी दिए ।

त्यस्तै सोमबारदेखि नै उपलब्ध भएसम्मका स्रोत साधन जुटाएर कलैया सिम्रौनगढ सडकखण्ड ग्राभेल गर्ने र तीन महिना भित्र कालोपत्रे गर्ने पनि सहमति भएको छ ।

वार्तामा बाराका प्रमुख जिल्ला अधिकारी प्रर्शुराम अर्याल, प्रहरी वरिष्ठ उपरीक्षक मनोज न्यौपाने, मृतकका आफन्त, आन्दोलनरत सिम्रौनगढवासी, विभिन्न राजनीतिक दलका नेताहरु लगायतको सहभागीता रहेको थियो । सहमति पछि गएराति नै मृतक पटेलको शवको पोष्टमार्टम गरि अन्त्येष्टि गरिएको छ ।

यसअघि सिम्रौनगढवासीले प्रहरीको गोली लागेर ज्यान गुमाएका जयनारायण पटेलको शव सहित शनिबार दिउँसोदेखि कलैयामा प्रदर्शन गरेका थिए । त्यस्तै जिल्ला प्रशासन कार्यालयले सिम्रौनगढमा आइतबार दिउँसो १२ बजेदेखि दिउँसो २ बजे सम्म करफ्यु पनि लगाएको थियो । सडक मर्मतको माग गर्दै सिम्रौनगढमा स्थानीयवासीले गत शुक्रबार प्रदर्शन गरेका बेला सशस्त्र प्रहरीले चलाएको गोली लागेर पटेलको घटनास्थलमै मृत्यु भएको थियो भने दुइ जना गम्भिर घाइते भएका छिन् ।

क्रान्ति शाहबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment