Comments Add Comment

खोटाङमा वैदेशिक रोजगारसम्बन्धी परामर्श केन्द्र स्थापना

२७ असोज, खोटाङ । इलाका प्रशासन कार्यालय खोटाङबजारमा सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्र स्थापना गरिएको छ ।

वैदेशिक रोजगारलाई सुरक्षित र उपलब्धिमूलक बनाउन सहयोग पुर्‍याउने उद्देश्यले केन्द्र स्थापना गरिएको हो ।

विगत तीन वर्षदेखि जिल्लामा काम गर्दै आएको सुरक्षित आप्रवासन परियोजना (सामी)ले दक्षिणी क्षेत्रका सर्वसाधारणलाई लक्षित गरेर खोटाङबजारमा केन्द्र स्थापना गरेको सामीका कार्यक्रम संयोजक नवीन्द्र राईले जानकारी दिए ।

राईका अनुसार केन्द्रले वैदेशिक रोजगारमा जाने निर्णय गरिसकेका सम्भावित आप्रवासीलाई सुरक्षित वैदेशिक रोजगारसम्बन्धी निःशुल्क परामर्श सेवा, ठगीका घटनामा कानुनी सहयोग साथै निःशुल्क सीप तालिम प्रदान गर्नेछ ।

इलाका प्रशासनमा एमआरपीसम्बन्धी काम गर्न थालिएको र वैदेशिक रोजगारमा जाने सेवाग्राही आउन थालेकाले सूचना केन्द्र स्थापना गरिएको सामीले जनाएको छ । उक्त इलाका प्रशासन कार्यालयबाट दैनिक सरदर १० देखि १५ जनाले एमआरपीका लागि सिफारिस लिने गरेको इलाका प्रशासन कार्यालयको प्रमुख दिगम्बर यादवले जानकारी दिए ।

जिल्लाबाट वैदेशिक रोजगारमा जानेको सङ्ख्या वृद्धि हुँदै गएको छ । गत दुई वर्षअगाडि वैधानिक रुपमा श्रम स्वीकृति लिई कामका लागि विदेश जानेकोे सङ्ख्या चार हजार ७५६ जना थिए भने गत आर्थिक वर्षमा सात हजार ३०४ जनाले वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारमा गएको तथ्याङ्क छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment