Comments Add Comment

विमानस्थलको छेऊमा प्रदेशको राजधानी बनाउने एमालेको प्रस्ताव

२७ असोज, काठमाडौं । नेकपा एमालेले नेपाली कांग्रेसको फोटोकपी जस्तै देखिने गरी ७ वटा संघीय प्रदेशहरुको खाका तयार पारेको छ । विमानस्थलबाट ओर्लिएर आधा घण्टाभित्रै पुग्ने ठाउँमा प्रदेशहरुको सदरमुकाम राखिनुपर्ने एमालेको प्रस्ताव छ ।

CPN_UML_officeयसअघि बहुपहिचानका आधारमा प्रदेश बनाउने बताएको एमालेले असोज २५ गते बसेको पदाधिकारी बैठकबाट भूगोलका आधारमा नेपाली कांग्रेससँग मिल्ने गरी ७ प्रदेशको नयाँ खाका अघि सारेको हो ।

१. कोशी वा सगरमाथा प्रदेश : (सदरमुकाम इटहरी)

एमालेले मेची र कोशी अञ्चलका सबै जिल्ला र सगरमाथा अञ्चलका पहाडी जिल्लालाई समेटेर कोशी प्रदेश वा सगरमाथा प्रदेश नामाकरण गर्ने प्रस्ताव गरेको छ । कांग्रेसले पनि यही भूगोललाई सगरमाथा प्रदेश नामाकरण गरेको छ ।

कांग्रेसले धनकुटालाई सदरमुकाम बनाउने घोषणा गरेको छ भने एमालेले चाँहि इटहरीलाई सदरमुकाम बनाउने प्रस्ताव गरेको छ ।

२. जनकपुर प्रदेश : (सदरमुकाम जनकपुर)
त्यसैगरी सप्तरीदेखि पर्सासम्मको तराईका जिल्लालाई समेटेर जनकपुर प्रदेश बनाउने एमालेको प्रस्ताव छ । यो प्रदेशको सदरमुकाम जनकपुरलाई बनाइने एमालेले जनाएको छ । कांग्रेसले यी जिल्लाहरुलाई पूर्व तराई प्रदेश नामाकरण गरेको छ ।

३. वागमती प्रदेश : (सदरमुकाम काठमाडौं या बनेपा)
नेपाली कांग्रेसले जस्तै एमालेले पनि वागमती अञ्चलका सबै र नारायणीका चितवन एवं मकवानपुरलाई समेटेर वागमती प्रदेशको प्रस्ताव गरेको छ । जनकपुर अञ्चलका पहाडी तीन जिल्लालाई पनि कांग्रेस र एमाले दुबैले राजधानी प्रदेशमा गाभ्ने प्रस्ताव गरेका छन् ।

४. गण्डकी प्रदेश : (सदरमुकाम-पोखरा)
कांग्रेस र एमाले दुबै दलले गण्डकी अञ्चल र लुम्बनीका पहाडी जिल्लालाई मिलाएर बनाइने गण्डकी प्रदेशमा एउटै भूगोललाई समेटेका छन् । गण्डकी प्रदेशको सदरमुकाम पोखरालाई बनाउने प्रस्ताव दुबै दलको छ ।

५. लुम्बिनी प्रदेश : (सदरमुकाम- दाङ)
पर्सादेखि पश्चिम र बर्दियादेखि पूर्वको तराईलाई एमालेले लुम्बिनी प्रदेशमा समेटेको छ । यसको राजधानी दाङलाई बनाउन कांग्रेस र एमाले दुबै दलहरु सहमत देखिएका छन् ।

६. कर्णाली प्रदेश : ( सदरमुकाम सुर्खेत)

कर्णली अञ्चलका सबै जिल्ला र भेरी अञ्चलका पहाडी जिल्लालाई मिलाएर एमालेले कणर्ाली प्रदेशको प्रस्ताव गरेको छ । यसको सदरमुकाम विकानस्थलको सुविधालाई हेरेर सुर्खेतलाई बनाउने एमाले प्रस्ताव छ ।

७. सेती-महाकाली प्रदेश : (सदरमुकाम धनगढी या अत्तरिया)
नेकपा एमालेको पदाधिकारी बैठकले सेती र महाकाली अञ्चलका जिल्लाहरुलाई मिलाएर सेती-महाकाली प्रदेश बनाउने प्रस्ताव गरेको छ । यसको सदरमुकाम डोटीलाई बनाउने छलफल चले पनि सुविधाका लागि धनगढी या अत्तरियालाई बनाउने बताइएको छ ।

थारु बाहुल्य क्षेत्रलाई सम्बोधन गरिने 

एमालेले कैलाली कञ्चनपुर लगायतका थारु बाहुल्य क्षेत्रलाई थारुका लागि विशेष संरक्षणको नीति लिन सकिने प्रस्ताव गरेको छ । मधेसीको हकमा जनकपुर प्रदेशले सम्बोधन गर्ने एमाले सचिव योगेश भट्टराईले अनलाइनखबरलाई बताए ।

तर, थारुलाई जस्तै अन्य जनजाति बाहुल्य क्षत्रेका बारेमा भने एमालेले भौगोलिक प्रदेशबाट समेट्ने नीति लिएको बताइएको छ ।

यस्तो थियो एमालेको पुरानो प्रस्ताव

दोस्रो संविधानको चुनावताका एमालेले बहुपहिचानसहितको यस्तो प्रस्ताव अघि सारेको थियो-
१ किरात-लिम्बुवान-कोशी प्रदेश
२ मिथिला-भोजपुरा-जनकपुर प्रदेश
३ ताम्सालिङ-नेवा-वागमती प्रदेश
४ मगरात-तमुवान-गण्डकी प्रदेश
५ थरुहट-अवध-लुम्बिनी प्रदेश
६ भेरी-कर्णाली प्रदेश
७. सेती-महाकाली प्रदेश

एमालेले त्यसबेला प्रदेशको सीमांकन प्राविधिक विशेषज्ञहरुको सहयोगमा आयोगमार्फत् गर्ने र त्यही आयोगको सिफारिसका आधारमा प्रदेशहरुको सीमाङकन अन्तिम रुपमा निर्धारण गर्नुपर्ने बताएको थियो ।

सबै प्रदेशहरु वहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक हुने एमालेले बताएको थियो । बहुजातीय प्रदेशको नामाकरण बहुजातीय आधारमा र वहुभाषिक प्रदेशको नामाकरण बहुभाषिक आधारमा गरिनु उपयुक्त हुने एमालेको मत थियो ।

नेपाली कांगेसले गरेको ६ वा ७ प्रदेशको प्रस्ताव यस्तो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment