Comments Add Comment

गणेश थापालाई तीन दिनभित्र निलम्बन गर्न लेखा समितिको निर्देशन

२७ असोज, काठमाडौं । व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिले अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष गणेश थापालाई तीन दिनभित्र निलम्बन गर्न खेलकुद मन्त्रालयलाई निर्देशन दिएको छ ।

ganesh-thapaलेखा समितिको सोमबारको बैठकले आर्थिक अनियमितता गरेको भन्दै थापालाई निलम्बन गरेर उनको ठाउँमा अर्को व्यक्तिलाई ल्याउन खेलकुद मन्त्री पुरुषोत्तम पौडेललाई निर्देशन दिएको हो ।

एन्फाको आर्थिक अनियमिततासम्बन्धी उजुरीको छानबिन भइरहेकाले छानविन अवधिभर थापासहित अनियमिततामा संलग्न भनिएका अन्य चार पदाधिकारीलाई निलम्वन गर्न समितिले निर्देशन दिएको समितिका सदस्य रामहरी खतिवडाले जानकारी दिए ।

यसअघि नै समितिले गणेश थापाको अध्यक्ष पद स्थगनमा राख्न निर्देशन दिए पनि थापाले पद छाड्न अस्वीकार गरेका थिए । आफूलाई निलम्बन गरिए नेपाली फुटवल अन्तर्राष्ट्रिय प्रतिबन्धमा पर्ने थापाले चेतावनी दिएका छन् ।

राप्रपा नेपालका सभासदसमेत रहेका थापाले अनलाइनखबरसँग कुरा गर्दै आफूमाथि गलत नियतका साथ आरोप लगाइएको भन्दै कसैले उजुरी गरेका भरमा समितिले कारवाहीको सिफारिस गर्न नपाउने बताए ।

थापाले लेखा समितिमा धेरै निकायको छानविन भइरहे पनि कसैलाई निलम्बन सिफारिस नगरिएको भन्दै आफूमाथि समितिकै केही सभासदले पुर्वाग्रही भएर गलत नियतले कारवाहीको सिफारिस गरेको बताए ।

सभासद थापाले भने-छानविनबाट दोषी देखिए कारवाही भोग्न तयार छु, तर एकैसाथ कतिवटा निकायले छानविन गर्न पाउने हो ? मलाई निलम्बन गरिए फिफाले नेपाली फुटवलमाथि प्रतिबन्ध लगाउने भनिसकेको छ ।

थापाले एन्फा आफ्नो विधान र फिफाको अन्तर्राष्ट्रिय विधान अनुसार चल्ने भन्दै फिफाको विधान विपरीत कारवाही भए नेपाली फुटबल प्रतिबन्धमा पर्ने उनले चेतावनी दिए ।

तर, लेखा समितिका सभापति जनार्दन शर्माले भ्रष्टाचारको विषयमा अनुसन्धान गर्न थापालाई निलम्बन गर्दा अन्तर्राष्ट्रिय प्रतिबन्ध नहुने दाबी गरे ।
समितिको निर्णय सुनाउँदै शर्माले भने-अनियमितामा संलग्न देखिएका अध्यक्ष, कोषाध्यक्ष, महासचिव र निर्माणसम्बन्धी जिम्मा लिएका व्यक्तिलाई मात्रै निलम्बन गर्न भनिएको हो, एन्फालाई होइन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment